जनतालाई सहज हुने अनलाइन ब्लुबुक नवीकरण ३ वर्षदेखि बन्द, ठेक्काको इम्बोस्डमा सरकारी जबरजस्ती
भदौ ११, २०८२ ७:५३
काठमाडौँ । जनतालाई सहजता हुने गरी सञ्चालनमा रहेको अनलाइन ब्लुबुक नवीकरण सेवा ३ वर्षभन्दा लामो समयदेखि बन्द गरेको सरकारले त्यसलाई अहिलेसम्म पुनः सञ्चालनमा ल्याउन सकेको छैन । सङ्घीय मन्त्रालय, विभाग र प्रदेश मन्त्रालयको अकर्मण्यताका कारण बनिसकेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) लामो समयदेखि बन्द रहन पुगेको हो ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले यसका लागि छुट्टै सिस्टम बनाएको छ, जसलाई तत्कालीन समयमा नागरिक एपमा समेत आबद्ध गरिएको थियो । नागरिक एपमा समेत ‘सवारी कर’ शीर्षकमा उक्त फिचर उपलब्ध गराइएको थियो ।
तर साउन २०७८ मै सञ्चालनमा आएको उक्त अनलाइन सेवा सरकारले प्राथमिकता नदिएका कारण करिब डेढ वर्षमै बन्द हुन पुग्यो । मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले आफूले उक्त अनलाइन सिस्टमको बारेमा सुनेको भए पनि पछि आएकाले स्पष्ट रूपमा भन्न नसक्ने बताए । “त्यति बेलाको विषय मैले पनि भन्न सकिनँ । जुन सिस्टम डेभलप गर्यौँ, त्यसलाई राजस्वको सिस्टमले चिनेन । हाम्रो सिस्टममा पैसा आउने, तर कसको हो भनेर नाम नदेखाउने भनेर बन्द गरेको कुरा मैले सुनेको थिएँ,” उनले टेकपानालाई भने, “तर म पछि मात्र यो मन्त्रालयमा आएकाले त्यतिखेरको सबै कुरा यकिन साथ भन्न सकिनँ ।”
प्रदेश मन्त्रालयका लागि सर्भिस टुवार्ड्स टेक्नोलोजी नामक आईटी कम्पनीले उक्त टीआईएमएस सिस्टम विकास गरेको थियो । तर एक वर्षे करार सम्झौता अर्को वर्ष नवीकरण नभएपछि २०७८ को असार मसान्तसम्म स्वतः खारेज भयो र उक्त कम्पनीले काम गर्न छोड्यो ।
त्यसैबिच महालेखा नियन्त्रकको कार्यालयको सफ्टवेयर सिस्टम अपग्रेड भएपछि त्यससँग मेल खानेगरी टीआईएमएसमा पनि अपग्रेड गर्नुपर्ने थियो । तर डेभलपर कम्पनीले नै छोडेर हिँडेपछि मन्त्रालयले आफ्नो टीआईएमएस अपग्रेड गराउनुको साटो अनलाइन ब्लुबुक नवीकरण सेवा नै बन्द गर्नतिर लाग्यो ।
पुरानै करार नवीकरण गर्ने वा कुनै अर्को कम्पनीलाई ल्याएर अनलाइन सेवालाई निरन्तरता दिनेतर्फ चासो नदेखाएपछि मन्त्रालय अन्तर्गतको टीआईएमएस सिस्टमम ३ वर्षभन्दा लामो समयदेखि प्रयोग विहीन छ । जसले गर्दा सेवाग्राहीहरू लाइन लागेर पुरानै तवरले ब्लुबुक नवीकरण गराउन बाध्य छन् । बागमती प्रदेशमा सुरु भएको अनलाइन ब्लुबुक नवीकरण सेवा अन्य प्रदेशमा समेत विस्तार गर्ने भनिए पनि सेवा नै बन्द भएपछि परियोजना नै अलपत्र परेको छ ।
यातायातको सिस्टम अपग्रेड नभएकै कारण मलेनिकाको सिस्टमसँग आबद्ध हुन सकेन र भौचर क्रियट नै नहुने भएपछि सेवा बन्द भएको मन्त्रालयका तत्कालीन एक प्राविधिकले बताए । “सेवा नै बन्द भएपछि पुरानै तरिकाले कार्यालय गएरै ब्लुबुक नवीकरण गर्नुपर्ने भयो,” ती प्राविधिक भन्छन्, “अहिले बागमती प्रदेशका सबै यातायात कार्यालयमा बिल काट्न त्यही टीआईएमएस नै प्रयोगमा छ । भुक्तानी गरेर ब्लुबुक रिन्युको अपडेट गर्ने कार्य समेत यातायातका कर्मचारीहरूले त्यसैबाट गर्दै आइरहेका छन् । तर सिस्टम अपग्रेड नहुँदा ब्लुबुक रिन्युको एक्सेस सर्वसाधारणलाई दिन सकिएको छैन ।
जनतालाई सहजता ल्याएको अनलाइन ब्लुबुक सेवाले सामान्य खर्चमै निरन्तरता पाउने भए पनि अहिलेसम्म सरकारको प्राथमिकतामा पर्न सकेको छैन । तर ठेकेदार कम्पनीको सम्झौता अवधि समाप्त हुने बेला नजिकिएसँगै भुक्तानीको पैसा उठाउन इम्बोस्ड नम्बर प्लेटलाई भने सरकारले १ असोज २०८२ देखि अनिवार्य गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ ७:५३
