close

प्रधानमन्त्री कार्कीको आधिकारिक फेसबुक अकाउन्ट नै गायब

टेकपाना टेकपाना

असोज २१, २०८२ ९:०

प्रधानमन्त्री कार्कीको आधिकारिक फेसबुक अकाउन्ट नै गायब

काठमाडौँ । आइतबार मात्र सञ्चालनमा आएको प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक व्यक्तिगत फेसबुक प्रोफाइल गायब भएको छ । सोमबार बेलुकादेखि उक्त अकाउन्ट एकाएक हराएको हो ।

सामाजिक सञ्जालमा नक्कली अकाउन्टको बिगबिगी भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जालका अकाउन्टबारे जानकारी दिएको थियो । त्यसमा फेसबुक प्रोफाइल, इन्स्टाग्राम अकाउन्ट र एक्स ह्यान्डल समावेश थिए । एक्स र इन्स्टाग्राम अकाउन्ट यथावत् रहे पनि आधिकारिक फेसबुक प्रोफाइल गायब भएको हो ।

अधिकांश व्यावसायिक सञ्चारमाध्यमले उक्त आधिकारिक फेसबुक प्रोफाइलको लिङ्क समाचारमा उल्लेख गरेका थिए । 

अहिले उक्त लिङ्क खोल्दा ‘यो सामग्री अहिले उपलब्ध छैन’ (This content isn't available right now) भन्ने सूचना देखिन्छ । प्रोफाइलको यूआरएल परिवर्तन गरिएकाले अकाउन्ट नभेटिएको हुन सक्ने अनुमान गरी हामीले प्रधानमन्त्रीको एक्समा पोस्ट गरिएको स्टाटसलाई गुगलमा खोजी गर्‍यौँ । त्यस क्रममा गुगलमा इन्डेक्स भएकाले प्रधानमन्त्रीको फेसबुक प्रोफाइलबाट उक्त सामग्री पोस्ट भएको देखियो, तर लिङ्क खोल्दा स्टाटस उपलब्ध थिएन । 

अन्य पोस्ट पनि त्यसरी नै खोज्दा सोही सूचना देखा पर्‍यो । यसका आधारमा प्रधानमन्त्रीको आधिकारिक फेसबुक प्रोफाइल हाललाई निष्क्रिय वा गायब भएको पुष्टि हुन्छ ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । प्रधानमन्त्री कार्कीको नामबाट खोलिएका नक्कली अकाउन्टको बिगबिगी भइरहेको बेला आधिकारिक अकाउन्ट खोलिएको थियो । सामाजिक सञ्जालमा त्यही अकाउन्टकै प्रोफाइल पिक्चर र नाम दुरुपयोग गर्दै अन्य अकाउन्ट बने ।

अहिले ३१ हजार बढी फलोअर भएको प्रधानमन्त्री कार्कीको नामको एक फेसबुक पेजले आफूलाई आधिकारिक अकाउन्ट भएको दाबी गरिरहेको छ । तर, टेकपानाले यसअघि नै उक्त पेज नक्कली भएको पुष्टि गरिसकेको छ । आधिकारिक अकाउन्ट नै नभेटिंदा सामाजिक सञ्जाल प्रयोगकर्ताले शीर्ष स्थानमा देखिएको त्यही नक्कली अकाउन्टलाई नै फलो गरिरहेका छन् । र, त्यसमा आएका पोस्टलाई नै विश्वास गरिरहेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: असोज २१, २०८२ ९:०