close

पैसा भेटिएको भन्दै फेक भिडिओ बनाएर मेरो खिलाफ षड्यन्त्र भयो: काँग्रेस सभापति देउवा

टेकपाना टेकपाना

असोज २८, २०८२ १९:१५

पैसा भेटिएको भन्दै फेक भिडिओ बनाएर मेरो खिलाफ षड्यन्त्र भयो: काँग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो घरमा पैसा भेटिएको आरोप झुटो भएको दाबी गरेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा उपस्थित भएका उनले पुराना विदेशी भिडिओलाई एआईबाट बनाएर आफूलाई फसाउने षड्यन्त्र गरिएको जिकिर गरेका हुन् । 

मङ्गलबार सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा देउवाले करिब १८ मिनेट लामो सम्बोधन गरेका थिए । लिखित मन्तव्य पढेर सुनाएका उनले मन्तव्य सक्काएपछि अन्त्यमा भने, “यो फेक भिडिओ हो । बाहिरबाट ल्याइएको भिडिओ हो । मेरो घरमा २० लाख रे ५० लाख रे ! यो फेक भिडिओ हो । यो धेरै पहिलाको भिडिओ, फेक भिडिओ बनाएर मेरो खिलाफमा षड्यन्त्र गर्ने कुरा अहिले सामाजिक सञ्जाल र विदेशी सबै आइसक्या छ ।” 

उनले आफ्नो घरमा भेटिएको पैसा एआईको प्रयोगबाट बनाएर भ्रम फैलाइएको भन्दै छानबिनको समेत माग गरे । देउवाले थपे, “अरू देशको भिडिओबाट चोरेर र काटेर ल्याएर मेरोमा हाल्दिएछ । यो लगाएको के नाम रे त्यो… (पृष्ठभूमिमा अन्य कार्यकर्ताले ‘एआई’ भनेर भन्न उनलाई सघाउँछन्) हो, त्यो राखेर... अहिले स्पष्ट भइसकेको छ । यो चाहिँ नि फेक भिडिओ बनाएर मेरो खिलाफमा षड्यन्त्र गरिएको छ । यसको सम्बन्धमा चाहिँ छिट्टै छानबिन होस् । यसमा चाहिँ हाम्रो आग्रह छ ।”

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा एक हजार, पाँच सयका नेपाली रुपैयाँ, अमेरिकी डलरका कयौँ नोटहरू फेला परेका थिए । उक्त भिडिओहरू सामाजिक सञ्जालमा निकै भाइरल पनि भएका छन् । 

देउवाको सचिवालयले ती भिडि‌ओहरू भ्रामक भएको भन्दै खण्डनसहितको विज्ञप्ति प्रकाशन समेत गरेको थियो । सो पछि टेकपानाले सामाजिक सञ्जालमा भाइरल भएका देउवा निवासको दाबी गरिएको भिडिओहरू मध्ये केही भिडिओहरूलाई लिएर तथ्यजाँच गरेको थियो । तथ्यजाँचका क्रममा भिडि‌‌ओहरू एआईबाट तयार नभएको र वास्तविक नै रहेको पत्ता लागेको छ । 

देउवाको घरमा पैसा भेटिएको दाबी सहितका छ ओटा टिकटक भिडिओको तथ्यजाँच गर्दा देउवा निवासको आँगन र घरभित्र पैसा भेट्टिएको भन्ने चार ओटा दाबी साँचो रहेको पाइएको हो । टेकपानाले गरेको उक्त तथ्यजाँच हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १९:१८