समर्थनका नाममा इन्फ्ल्युएन्सरमाथि साइबर हमलामा उत्रिएका समर्थकलाई संयमित हुन सन्दीपको आग्रह
कात्तिक ७, २०८२ २०:५१
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक युट्युब कार्यक्रमको विषयलाई लिएर इन्फ्लुएन्सरमाथि आक्रामक रूपमा प्रस्तुत भएका आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेका छन् । उनले आफू यस विषयमा कानुनी उपचारको बाटोमा जाने बताउँदै कसैप्रति घृणा नफैलाउन अनुरोध गरेका हुन् ।
‘प्याराडाइम टिभी’ नामक युट्युब च्यानलको एक कार्यक्रममा आफ्नो नाम जोडेर गरिएको टिप्पणीपछि उत्पन्न विवादका कारण समर्थकहरू कार्यक्रमका अतिथि तथा च्यानलमाथि खनिएका थिए । यसै पृष्ठभूमिमा लामिछानेले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै समर्थकले देखाएको सद्भाव र समर्थनप्रति आभार प्रकट गरेका छन् ।
उनले लेखेका छन्, “तपाईंको माया र समर्थनको म साँच्चै कदर गर्छु । जे भयो, त्यो स्वीकार्य थिएन र तपाईंहरूको भावना म बुझ्छु । तर कृपया, कसैप्रति घृणा वा नकारात्मकता नफैलाऔं ।”
उनले अगाडि लेखेका छन्, “म शान्त र सम्मानजनक रूपमा परिस्थितिलाई समाधान गर्नमा विश्वास गर्छु र मेरा कानुन व्यवसायीले यसबारे हेरिरहनुभएको छ ।”
हाल क्रिकेट विश्वकप लिग-२ का लागि दुबईमा रहेका लामिछानेले आफ्नो पूर्ण ध्यान खेलमा केन्द्रित रहेको र नेपाल फर्केपछि यसबारे विस्तृतमा कुरा गर्ने बताएका छन् । उनले थपे, “अन्याय महसुस हुँदा पनि दया र सम्मानको बाटो रोजौं । वास्तविक परिवर्तन र शान्ति यसरी नै सम्भव छ ।”
यसअघि उक्त कार्यक्रममा आफ्नो नाम लिइएपछि लामिछानेले त्यसले आफ्नो प्रतिष्ठा र मानसिक स्वास्थ्यमा आघात पुर्याएको भन्दै आपत्ति जनाएका थिए । उनको उक्त पोस्टपछि समर्थक युट्युब च्यानल र कार्यक्रममा सहभागी इन्फ्लुएन्सरमाथि आक्रामक बनेका थिए । समर्थकबाट अतिथिमाथि अत्यधिक नकारात्मक टिप्पणी आउन थालेपछि प्याराडाइम टिभीले पनि एक सूचना जारी गर्दै व्यक्तिगत तवरमा गएर कसैको चरित्रहत्या नगर्न आग्रह गरेको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ २०:५१

