close

घोषणा भएको ५ महिना बित्नै लाग्दा समेत बजारमा आइपुगेन अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याउने फोन

टेकपाना टेकपाना

कात्तिक १५, २०८२ १६:५७

घोषणा भएको ५ महिना बित्नै लाग्दा समेत बजारमा आइपुगेन अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याउने फोन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनले  १६ जुन २०२५ मा ‘टी वन’ मोडेलको फोन घोषणा गरेको थियो । ट्रम्पलाई पहिलो पटक राष्ट्रपति बनाउन अभियान चलाएको  १० वर्ष पुगेको उपलक्ष्यमा उक्त फोनको घोषणा गरिएको थियो । 

ट्रम्प अर्गनाइजेसनले सुरुमा प्रेस विज्ञप्ति जारी गर्दै टी वन फोनलाई अगस्ट महिनामा सार्वजनिक गर्ने बताएको थियो । तर, पछि वेबसाइटमा भने सेप्टेम्बरको मिति राखियो । 

यसपछि पनि फोन सार्वजनिक नभएपछि एक अज्ञात प्रवक्ताले ‘यूएसए टुडे’ लाई यो फोन अक्टोबरसम्म लन्च हुने जानकारी दिए । अहिले अक्टोबर महिनाको अन्त्य भइसक्दा पनि फोन बजारमा आएको छैन । 

सार्वजनिक मिति बारम्बार सर्दै जाँदा ‘ट्रम्प मोबाइल’ कम्पनी शङ्कास्पद रूपमा मौन बनेको छ । २८ अगस्ट यता कम्पनीले सामाजिक सञ्जालमा कुनै पनि नयाँ पोस्ट गरेको छैन । 

कम्पनीले आफ्नो नयाँ फोनको प्रोटोटाइप भन्दै सामसङको एडिटेड फोटो सार्वजनिक गरेको थियो । चर्को आलोचना भएपछि उक्त पोस्ट डिलिट भयो । त्यसयता ट्रम्प अर्गनाइजेसन टी-वन फोनका बारेमा मौन छ ।

पछिल्ला केही महिनादेखि ट्रम्प मोबाइलको स्टोर पेजमा फोन ‘यस वर्षको अन्त्यतिर’ आउने उल्लेख गरिएको छ । ‘ट्रम्प मोबाइल’ टी-वन फोन अमेरिकामै बन्ने दाबीबाट पछि हटेपछि कम्पनीको वेबसाइटमा यो जानकारी राखिएको द भर्जले उल्लेख गरेको छ । 

कम्पनीसँग अब यो वर्ष फोन सार्वजनिक गर्नका लागि थप दुई महिनाको समय बाँकी छ । ट्रम्प मोबाइलले फोन सार्वजनिक हुने मितिबारे सोधिएको कुनै पनि पत्रकारको प्रश्नको जवाफ दिएको छैन । गत महिना सोधिएको अपडेटको जवाफ पनि कम्पनीले दिएन भने पछिल्लो इमेलको जवाफ पनि नफर्काएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १६:५७