close

ल्यान्ड क्रुजर पाउने लोभमा लबिम मलको नक्कली फेसबुक पेजमा कमेन्ट गर्दै नेपाली, डिभाइसमा भाइरस पस्ने खतरा !

टेकपाना टेकपाना

पुस ८, २०८२ १९:३१

ल्यान्ड क्रुजर पाउने लोभमा लबिम मलको नक्कली फेसबुक पेजमा कमेन्ट गर्दै नेपाली, डिभाइसमा भाइरस पस्ने खतरा !

काठमाडौँ । क्रिसमसको अवसर पारेर ललितपुरस्थित लबिम मलको नाममा फेसबुकमा नक्कली सूचना फैलाउँदै सर्वसाधारणलाई ठग्ने प्रयास भइरहेको पाइएको छ । ल्यान्ड क्रुजर गाडी उपहार पाइने लोभ देखाएर स्क्यामरले फेसबुकमा ‘फिसिङ’ र ‘मालवेयर’ युक्त लिङ्क फैलाइरहेका छन् ।

लबिम मलको नाममा खोलिएको नक्कली पेजबाट एउटा पोस्ट गर्दै सहभागी हुनेलाई महँगो ल्यान्ड क्रुजर गाडी दिने दाबी गरिएको थियो । टेकपाना फ्याक्टचेकले गरेको अनुसन्धानका क्रममा उक्त सूचना मिथ्या रहेको पुष्टि भएको छ । लबिम मल प्रशासनले क्रिसमस लक्षित यस्तो कुनै पनि उपहार योजना सार्वजनिक नगरेको स्पष्ट पारेको छ ।

उपहारको लोभमा परेर लाखौँ नेपाली प्रयोगकर्ताले उक्त नक्कली पोस्टमा कमेन्ट र शेयर गरेका छन् । विशेषगरी फेसबुकको ‘हाइलाइट्स’ (Highlights) मेन्सन फिचरको दुरुपयोग गरिएका कारण यो भ्रमपूर्ण पोस्ट छोटो समयमै व्यापक रूपमा फैलिएको पाइएको हो ।

कसरी हुन्छ ठगी ?

फ्याक्टचेकका क्रममा उक्त पेजको विश्वसनीयता जाँच्न मेसेज पठाउँदा स्क्यामरले ‘तपाईं कार्यक्रममा सहभागी हुनुभयो’ भन्दै एउटा लिङ्क पठाउने गरेको फेला परेको छ । उक्त लिङ्कको प्राविधिक विश्लेषण गर्दा त्यो ‘मालभर्टाइजिङ’ रहेको पाइएको छ ।

उक्त लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ता कहिले अनलाइन बेटिङ (जुवा) साइट, कहिले अश्लील सामग्री भएका साइट त कहिले मालवेयर र भाइरस वितरण गर्ने खतरनाक पोर्टलहरूमा पुग्ने गरेका छन् ।

साइबर सुरक्षा विश्लेषकले यस्ता शंकास्पद लिङ्कमा क्लिक नगर्न चेतावनी दिएका छन् । यस्ता लिङ्कबाट झुक्किएर कुनै फाइल डाउनलोड हुन पुगेमा प्रयोगकर्ताको मोबाइल वा कम्प्युटरमा मालवेयर छिर्न सक्ने र त्यसले बैंक खाता, पासवर्ड लगायतका व्यक्तिगत र संवेदनशील विवरणहरू चोरी गर्ने उच्च जोखिम रहन्छ ।

सामाजिक सञ्जालमा देखिने यस्ता भ्रामक विज्ञापन र उपहारको पछि नलाग्न र सम्बन्धित संस्थाको आधिकारिक पेजबाट मात्रै सूचनाको आधिकारिकता जाँच गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ २१:१८