close

सोसल इन्जिनियरिङ मार्फत सेलिब्रेटीले चिनेका मान्छेलाई ह्वाट्सएपमा ठग्दै स्क्यामर

टेकपाना टेकपाना

पुस १२, २०८२ ९:२

सोसल इन्जिनियरिङ मार्फत सेलिब्रेटीले चिनेका मान्छेलाई ह्वाट्सएपमा ठग्दै स्क्यामर

काठमाडौँ । नायिका केकी अधिकारी गइरहने सैलुनकी सञ्चालिकालाई केही दिनअघि एक अपरिचित नम्बरबाट भाइबरमा मेसेज आयो । प्रोफाइल फोटो केकी अधिकारीको थियो । तर, नाम भने ‘Kei’ मात्र थियो । 

‘हेलो मीना (नाम परिवर्तन)’ केकीको फोटो भएको भाइबरबाट सैलुन सञ्चालिकालाई मेसेज आयो । सुरुमा त उनले उक्त अकाउन्टलाई बेवास्ता गरिन् । लगत्तै कल आयो । कलमा केही पनि बुझिएन । फेरि उताबाट केकीको नामबाट मेसेज आयो, “Are you bg ?”

मीनाले कल गर्न खोजिन् तर लागेन । र, नेटवर्क छैन भन्दै मेसेज पठाइन् । उताबाट ‘Ey’ मात्र रिप्लाई आएपछि मीनाले ‘कल मि, केकी जी’ भन्ने मेसेज पठाइन् । तर, कल गर्नुको सट्टा उताबाट तोडफोड रोमन र अङ्ग्रेजी मिश्रित भाषामा मेसेज आयो, “I am sending you a 30k mah Aile out of country xhu so Mero grandmother birmi hununxa tyea Dena Sakxhu raw, Possible ?” यस मेसेजलाई झट्ट हेर्दा सबै शब्द प्रष्ट बुझिंदैनन् । तर, आशय बुझिन्छ । 'केकी देश बाहिर भएको र नेपालमा उनकी हजुरआमा बिरामी भएकाले ३० हजार रुपैयाँ आवश्यक परेको' मेसेजमा उल्लेख छ ।

मीनाले ‘के भयो, केकी जी ? मलाई एक पटक कल गर्नुहोस्’ भन्दै चिन्ता व्यक्त गरिन् ।

मीना विश्वस्त थिइनन् । लेखेको शब्दबाटै केकीले यस्तो लेख्दिनन् । र, यसरी मेसेज गर्ने मान्छे होइनन् भन्ने मीनाले बुझेकी थिइन् । त्यसपछि मीनाले कल गर्न खोजिन् । तर, फोन उठे पनि आवाज नै सुनिएन ।

भाइबरमा सम्पर्क नभएपछि मीनाले फेसबुकमा कल गर्ने बताइन् । तर, लगत्तै उताबाट ‘कल किन गर्नु पर्‍यो, मलाई क्यूआर पठाऊ, मलाई सारै आवश्यक छ’ भन्ने मेसेज आयो ।

यता मीनालाई भने विश्वास नै लागेको थिएन । त्यसपछि केकीको नामबाट फेरि मेसेज आयो, “तिमीबाट यस्तो व्यवहारको अपेक्षा नै गरेको थिइनँ ।”

मीनाले ह्वाट्सएपमा कल गर्छु भनिन् । तर, उताबाट ‘ह्वाट्सएप छैन’ भन्ने जवाफ आयो । शंकास्पद व्यवहार देखिएपछि मीनाले तिमी को हो भन्दै मेसेज पठाइन् । उताबाट जवाफ आयो, ‘Mah kei adhikari ho. Esewa mAH hal dau na ।”

जतिसुकै अप्ठ्यारो अवस्थामा भए पनि केकीले आफ्नै नामको स्पेलिङ गलत लेख्ने कुरा पत्यारिलो थिएन । त्यसपछि मीना यो अकाउन्ट ठग्ने उद्देश्यले अरू कसैले सञ्चालन गरिरहेको हो भन्नेमा विश्वस्त भइन् । उनलाई विश्वास दिलाउन केकीका विभिन्न फोटो पनि पठाइयो । 

मीनाले सबै कुरा केकीको आधिकारिक नम्बरमा उपलब्ध गराएपछि भने यो ठगीको उद्देश्यले सञ्चालन गरेको भन्ने स्पष्ट भयो । यसरी नै केकीका अर्का एक साथीलाई पनि त्यही नम्बरबाट उही शैलीको मेसेज पठाइएको थियो । 

“नम्बर मेरो थिएन, मेरो फोटो र नाम दुरुपयोग गरिएको थियो,” टेकपानासँग कुरा गर्दै केकीले भनिन्, “एकदमै नजिकको साथीसँग पनि मागेको देखिंदैन । कहिलेकाहीं भेट र कुराकानी हुने साथीहरूलाई मेसेज पठाइएको रहेछ ।”

केकीका अनुसार उनले केहीदिन अघि एक सैलुनमा फोटो राख्दै त्यसकी सञ्चालिकालाई ट्याग गरेकी थिइन् । सम्भवतः त्यही ट्याग गरिएको पोस्टलाई आधार बनाएको व्यक्ति पहिचान गरी मेसेज पठाइएको हुनसक्ने उनको आशंका छ । उनी भन्छिन्, “मेकअप आर्टिस्टलाई पनि यसरी मेसेज पठाइएको देखिन्छ । सायद नजिकको मान्छेसँग माग्दा बोल्ने शैली, लवज र अन्य कारणले पहिचान हुनसक्ने भएर कम कुरा हुने तर रकम माग्दा दिइहाल्ने स्वभाव भएका मान्छेसँग मागेको होला ।”

कतिपय आफूले कहिल्यै नचिनेको, कुरा नगरेको व्यक्तिलाई पनि मेसेज पठाएर रकम माग्ने काम भइरहेको उनी सुनाउँछिन् । 

यही प्रवृत्ति अपनाई अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता आकाश श्रेष्ठ, गायिका तृष्णा गुरुङ लगायतको नामबाट पनि ठगीको प्रयास भइरहेको देखिन्छ । 

शुक्रबार बिहान फन्ट डेभलपर तथा ग्राफिक्स डिजाइनर आनन्द महर्जनलाई पनि कल आयो । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नजिकका मान्छे उनलाई बिहीबार राति १० बजे सुनिताको नामबाट मेसेज आयो । महर्जनले यो नक्कली ह्वाट्सएप अकाउन्ट हो भन्ने बुझिहाले । 

शुक्रबार बिहान फेरि ‘हेलो, सुन्नुस त’ भन्दै मेसेज आयो । मेसेज यसरी लेखिएको थियो मानौं त्यस आईडीबाट सुनिता डङ्गोलले नै पठाएको हो । महर्जनले ‘भन्नुस् न’ भन्दै रिप्लाई पठाए । “Moh ata out of valley aya Ko xhu Mero mom lai stroje axa paisa patauna parni va Ko xa. Mah hjur send gar denxhu hunxa !,” उताबाट मेसेज आयो ।

डङ्गोलको परिवार सबै राम्ररी चिन्ने महर्जनले स्क्यामरको जाँच लिन खोजे र ‘कति पठाउनु पर्ने’ भन्दै मेसेज पठाए । त्यसपछि ‘२० हजार’ भन्ने जवाफ आयो । त्यसपछि उताबाट इसेवाको क्यूआर कोड पठाएर त्यसैमा रकम पठाउन भनियो । 

त्यसपछि महर्जनले ‘म को हो चिन्नु भएको छ भन्दै मेसेज पठाए ।’ जवाफ आयो, “उम्, पिलिज छिटो ।” 

महर्जनले स्क्यामरको झाँको झार्न ‘साइबर अपराध भनेको थाहा छ कि छैन’ भने । जवाफ जे आयो त्यसले स्क्यामरको दादागिरी शैली देखियो । जवाफमा स्क्यामरले भन्यो, “बढी नबोल्नुस् तपाईँ है । फेरि गाह्रो पर्ला ।”

डङ्गोलले महर्जनलाई विभिन्न पोस्टमा ट्याग गरिरहेकी हुन्थिन् । त्यहीबाट महर्जनलाई स्क्यामरले उनलाई पहिचान गरी ह्वाट्सएप नम्बरबाट सम्पर्क गरेको हुनसक्ने महर्जन सुनाउँछन् ।

“मेरो नम्बर सार्वजनिक रूपमा उपलब्ध भएको जस्तो लाग्दैन,” महर्जन भन्छन्, “खै कताबाट सम्पर्क गर्‍यो । तर, व्यक्ति पहिचान गर्नका लागि भने फेसबुकमा ट्याग गरिएको पोस्टलाई आधार बनाएर कन्ट्याक्ट गरेको जस्तो लाग्छ ।”

अभिनेत्री स्वस्तिमा खड्काले हालै सार्वजनिक गरेको एक स्क्रिनशटमा स्क्यामरले इन्स्टाग्राममार्फत व्यक्तिको पहिचान गरी ठगी गर्ने प्रयास गरेको देखिएको छ । खड्काले फलो गरेका अकाउन्टबाट व्यक्ति निशानामा राख्ने र विभिन्न तरिकाले नम्बर पत्ता लगाई मेसेज पठाउने गरिएको पाइएको हो । काठमाडौँ महानगरकी उपमेयर सुनिता डङ्गोलको नामबाट मेसेज पठाएर धम्क्याउने जुन शैली अपनाइएको थियो, स्वस्तिमा खड्काको हकमा पनि त्यस्तै प्रवृत्ति दोहोरिएको छ ।

यस विषयमा अभिनेत्री केकी अधिकारीले धेरै कलाकार यस्ता स्क्यामरको निशानामा परेको बताइन् । उनले भनिन्, “धेरै कलाकारलाई लक्षित गरी यस्ता गतिविधि भइरहेकाले हामी एकमुष्ट रूपमा निवेदन दिने तयारीमा छौँ । सर्वसाधारण सचेत होउन् भनेर नै हामीले सामाजिक सञ्जालमा यसबारे जानकारी राखेका हौँ ।”

यता आनन्द महर्जन यस्ता घटनामा तत्कालै अनलाइनमार्फत उजुरी दिन सकिने र त्यसलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने संयन्त्र आवश्यक रहेको बताउँछन् । “चर्चित व्यक्तिको नाम जोडेर ठगी गर्ने कैयौँ घटना भइरहेका छन्,” महर्जन भन्छन्, “कतिपयले त रकम नै बुझाएर ठगिएका उदाहरण पनि छन् । यस्तो अवस्थामा तत्काल उजुरी लिने र सम्बन्धित वालेट वा बैंक अकाउन्ट रोक्का गरी अनुसन्धान अघि बढाउने व्यवस्था हुनुपर्छ ।”

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी अनलाइन ठगीबाट बच्न सचेतना नै सबैभन्दा ठुलो उपाय भएको बताउँछन् । ब्युरोले यस्ता स्क्यामका घटनालाई निरन्तर पछ्याइरहेको र निवेदन परेपछि अनुसन्धान प्रक्रिया अघि बढाउने गरेको उनले जानकारी दिए । “ब्युरोले आफ्नो काम गरिरहेकै हुन्छ, तर आम सर्वसाधारण समयमै सचेत हुनु अनिवार्य छ,” अवस्थीले थपे ।

कुनै पनि व्यक्तिले जुनसुकै बहानामा रकम मागे पनि विभिन्न माध्यमबाट सत्यतथ्य प्रमाणित गरेर मात्र सहयोग गर्न ब्युरोले सुझाव दिएको छ । ब्युरोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पटक-पटक सचेतना सामग्री जारी गर्दै भनेको छ, “यदि सामाजिक सञ्जालमा आफ्नै आफन्त वा साथीभाइले आकस्मिक रकम आवश्यक परेको भन्दै बैंकको क्यूआर कोड पठाएमा, उक्त अकाउन्ट ह्याक भएको हुन सक्छ । त्यसैले रकम पठाउनुअघि अनिवार्य रूपमा फोन गरेर यकिन गर्नुहोस् ।”

माथि चर्चा गरिएका घटनामा समान प्रवृत्ति देखिन्छ । कुरा गर्दा टाइप गर्ने शैली, गलत स्पेलिङ, अर्को नम्बरमा सम्पर्क गर्छु भन्दा आनाकानी गर्नु, कल गरेर विश्वस्त बनाउन खोज्ने तर कल उठाउनासाथ काट्ने र पछि नेटवर्क टिपेन भन्ने, आफन्त बिरामी भएको बहना बनाउने, व्यक्ति त्यही हो भनी प्रमाणित गर्न फोटो पठाउने गरेको देखिन्छ । तपाईंलाई कसैले सहयोगको याचना गर्दै रकम मागेको खण्डमा यस्ता सङ्केत देखिएमा शंका गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८२ १०:२