close

राजावादी प्रदर्शनको एसएमएस आतंकपछि नेपाल टेलिकमले भन्यो- ग्राहकको डेटा हामीले दिएका होइनौँ

टेकपाना टेकपाना

पुस २९, २०८२ १६:१७

राजावादी प्रदर्शनको एसएमएस आतंकपछि नेपाल टेलिकमले भन्यो- ग्राहकको डेटा हामीले दिएका होइनौँ

काठमाडौँ । लाखौँ मोबाइल प्रयोगकर्तालाई राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै एसएमएस पठाएको विषयमा नेपाल टेलिकम बोलेको छ । टेलिकमले आफ्नो प्रणाली प्रयोग गर्ने केही सेवा प्रदायकले सम्झौता विपरीत राजनीतिक सन्देश पठाएको भन्दै ग्राहकको व्यक्तिगत विवरण आफूले उपलब्ध नगराएको दाबी गरेको छ ।

केही दिनयता ३० पुसको राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एसएमएस गेटवे आकाश एसएमएस र एसआई अलर्टमार्फत ५० लाख बढी पटक एसएमएस पठाइएको छ । यो घटनालाई ‘एसएमएस आतंक’ र गोपनीयताको गम्भीर उल्लङ्घन भन्दै चौतर्फी आलोचना भएपछि टेलिकमले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।

टेलिकमले आफ्नो भ्यालु एडेड सर्भिस (भ्यास) प्रणालीमा आबद्ध केही सेवा प्रदायकले आफ्‌नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश प्रवाह गरेको र त्यस सम्बन्धमा सेवाग्राहीको व्यापक गुनासो प्राप्त भएको जनाएको छ ।

“नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरूलाई स्वीकृति दिने गरेको छ । तर नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन,” कम्पनीले भनेको छ ।

टेलिकमले सम्बन्धित सेवा प्रदायकलाई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराएको छ । 

राजावादी प्रदर्शनको निम्तो दिने निर्देश सेढाई सञ्चालक रहेको ‘वेदव्यास इन्टरप्राइजेज’ ले आकाश एसएमएसको प्लेटफर्म प्रयोग गरी ५० लाख बढी एसएमएस पठाएको खुलासा भएको थियो ।

 


 

 

पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १६:५६