आचारसंहिता विपरीत ‘तपाईंको मत के मा’ भन्दै टीकाराम यात्रीको ‘नमुना सर्वेक्षण’, के भन्छ आयोग ?
माघ २६, २०८२ १८:३१
काठमाडौँ । सञ्चारकर्मी एवम् कन्टेन्ट क्रिएटर टीकाराम यात्रीले सामाजिक सञ्जालमा राखेको पोस्ट निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आलोचना हुन थालेको छ । २१ फागुनमा हुने प्रतिनिधि सभालाई लक्षित गर्दै यात्रीले सोमबार फेसबुक र एक्समा राखेको पोस्टले मतदाताको गोपनीयता भङ्ग भएको टिप्पणी भइरहेको छ ।
बिहान ९:४२ मा उनले प्रतिनिधि सभा समानुपातिकतर्फको नमुना मतपत्रको फोटोसहित ‘तपाईंको मत के मा ? पुनश्च: मत गोप्य राखिन्छ, यो केवल नमुना सर्वेक्षण मात्र हो !’ भन्दै पोस्ट गरेका थिए । सो पोस्टमा हजारौँ प्रयोगकर्ताहरूले विभिन्न राजनीतिक दलका चुनाव चिन्हहरूमा कमेन्ट गर्दै आफ्नो अभिमत व्यक्त गरेका छन् ।
निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान नसकिँदासम्म कुनै पनि प्रकारको मत सर्वेक्षण गर्न पाइँदैन । आचारसंहिताको परिच्छेद-२, दफा ४ (त) मा भनिएको छ, “उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने ।”
त्यस्तै उक्त परिच्छेदकै दफा ४ (त) मा कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने उल्लेख छ । तर यात्रीले गरेको पोस्टमा हजाराैँ प्रयोगकर्ताको गोप्यता बाहिरिएको छ । उनको पोस्टमा फेसबुकमा मात्रै आठ हजार ७०० बढी कमेन्ट आएका छन् ।
यसअघि ‘रेट माई नेता’, ‘ईकान्तिपुर’ जस्ता डिजिटल प्लेटफर्महरूले आचारसंहिताकै कारण आफ्ना अनलाइन पोल र सर्वेक्षणहरू बन्द गरिसकेका छन् । यस्तो अवस्थामा एक जिम्मेवार सञ्चारकर्मीले नै आचारसंहिताको धज्जी उडाएको भन्दै सामाजिक सञ्जालमा टीका-टिप्पणी सुरु भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले यात्रीको कार्य आचारसंहिता अनुकूल नभएको बताए । “उहाँको यो काम स्पष्ट रूपमा आचारसंहिता विपरीत छ,” भट्टराईले टेकपानासँग भने, “नमुना सर्वेक्षण गर्नै पाइँदैन । मतदाताको मनोविज्ञानलाई प्रभावित पार्ने र निर्वाचनको निष्पक्षतामा खलल पुर्याउने हुँदा यो वर्जित छ ।” उनले कुनै पनि माध्यमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य नगर्न सचेत पनि गराए ।
यता, सञ्चारकर्मी यात्रीले भने आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका छन् । उनले यो केवल मतदाता शिक्षा र सचेतनाका लागि गरिएको नमुनामात्र भएको र यसले कुनै नतिजा घोषणा नगर्ने उनको भनाइ छ । बजारमा धेरै नक्कली मतपत्रहरू सामाजिक सञ्जालमा आइरहेकाले आधिकारिक मतपत्रको नमुना र चिन्हहरू कस्ता हुन्छन् भनेर देखाउन मात्रै आफूले फोटो राखेको उनको तर्क छ ।
“मैले देखाएको मतपत्रको नमुना पत्र मात्रै हो त्यो । त्यो कुनै प्रभावित गर्ने प्रयोजन पनि होइन, प्रायोजित गर्नुपनि हुन्न, पत्रकारले पनि गर्नहुन्न, उम्मेदवारले पनि गर्नहुन्न, कसैले, मतदाताले पनि गर्नहुन्न ।”
उनले अगाडि भने, “त्यो सचेतना हो, खाली मतपत्र यस्तो छ, यो अरू तिर फेक मतपत्रहरू पनि आइरहेका छन् भनेर सचेतनाका लागि मात्रै सार्वजनिक गरेको हो । त्यो त निर्वाचन आयोग आफैँले पनि गर्छ, अझ धेरैसम्म पुर्याउनलाई गर्या हो ।”
टेकपानासँग कुरा गरेपछि यात्रीले सोमबार दिउँसो ४:२८ मा आफ्नो पोस्टको क्याप्सन परिमार्जन गरेका छन् । उनले लेखेका छन्, ‘प्रतिनिधि सभा समानुपातिक मतपत्रको नमुना । पुनश्च: मत गोप्य राखिन्छ । यो केवल नमुना सर्वेक्षण मात्र हो !’
यता, जानकारहरूले भने सार्वजनिक रूपमा ‘मत के मा ?’ भनी सोध्नु नै मतदाताको गोपनीयताको अधिकारमाथिको हस्तक्षेप र सर्वेक्षणको प्रकृति हुने बताउँदै आएका छन् ।
यात्रीको पोस्टमा आएका कमेन्टहरूमा पनि प्रयोगकर्ताहरूले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् । बाबुराम तिमिल्सिना नामका प्रयोगकर्ताले लेखेका छन्, “टीका सर, तपाईं जत्तिको मान्छेले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहन मिल्ने हो ? कमेन्ट र लाइकबाट डलरको लोभ कि नैतिकताको विचलन ?" अर्का प्रयोगकर्ता सुविन्द्र श्रेष्ठले प्रश्न गरेका छन्, "यो त निर्वाचन आचारसंहिता विपरीत भएन र यात्री जी ? निर्वाचनको पूर्वसन्ध्यामा यस्तो सर्वेक्षण गर्न पाइन्छ र ?”
धेरैजसो प्रयोगकर्ताहरूले ‘मतदान गोप्य हुन्छ’ भन्दै यात्रीलाई आचारसंहिता पल्टाएर हेर्न सुझाव दिएका छन् । कतिपयले उनलाई पत्रकारिताको मूल्य-मान्यता भुलेर भाइरल हुने दौडमा लागेको आरोप समेत लगाएका छन् ।
पछिल्लो समय झापा-५ लगायतका क्षेत्रमा कन्टेन्ट क्रिएटर, युट्युबर र सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरू पुग्ने गरेका छन् । मतदातालाई क्यामेरा तेर्स्याएर मतदानबारे सोध्ने कार्यले मतदाताको गोपनीयताको हक मात्र नखोसी समाजमा भ्रम र मिथ्या सूचना फैलाउने जोखिम रहेको जानकारहरू बताउँछन् ।
निर्वाचन आयोगले यस्ता क्रियाकलापको अनुगमनका लागि साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिलसँग समन्वय गरिरहेको जनाएको छ । आचारसंहिता उल्लंघन गरेको ठहरिएमा सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याइने आयोगका प्रवक्ता भट्टराईले बताए ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ १९:८

