‘भोट गर्नुस्’ भन्दै व्यक्तिगत विवरण सङ्कलन, आचारसंहिता मिचेर फेसबुकमा विज्ञापन गर्ने ‘माई भ्वाइस काउन्ट्स’ को शङ्कास्पद गतिविधि
फागुन १, २०८२ १८:४६
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागु गरिसकेको छ । निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद-२ को दफा (४) को उपदफा (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नहुने स्पष्ट व्यवस्था छ ।
तर, यो कानुनी प्रावधानको उल्लङ्घन गर्दै ‘माई भ्वाइस काउन्ट्स’ नामक फेसबुक पेजले सामाजिक सञ्जालमा ठुलो रकम खर्चेर उम्मेदवारको पक्ष र विपक्षमा अनलाइन मत सर्वेक्षण गरिरहेको पाइएको छ ।
मेटाको तथ्याङ्क अनुसार ‘माई भ्वाइस काउन्ट्स’ ले फेसबुक र इन्स्टाग्राममा विज्ञापन गर्नका लागि गत १२ जनवरी देखि १० फेब्रुअरी सम्मको अवधिमा मात्रै १६ सय ६५ डलर (करिब दुई लाख ४० हजार रुपैयाँ) खर्च गरेको छ ।
यस अवधिमा उक्त पेजले ५० ओटा फरक-फरक विज्ञापन स्पोन्सर्ड गरेको देखिन्छ । फेसबुकको एड लाइब्रेरीको विवरण अनुसार पछिल्लो ३० दिनमा नेपालबाट विज्ञापनमा सबैभन्दा बढी रकम खर्च गर्नेमा यो पेज शीर्ष स्थानमा छ ।

उक्त पेजले ललितपुर निर्वाचन क्षेत्र नम्बर-३, झापा-५, काठमाडौँ-१ र ३ तथा सर्लाही-४ लगायतका निर्वाचन क्षेत्रलाई लक्षित गरी विज्ञापन गरिरहेको छ । ती विज्ञापनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन), नेपाली काङ्ग्रेसका सभापति गगन थापा लगायतका चर्चित उम्मेदवारको फोटो प्रयोग गरिएको छ । ७ सेप्टेम्बर २०२२ देखि १० फेब्रुअरी २०२६ अर्थात् चार वर्षको अवधिमा सबैभन्दा बढी शुल्क तिरेर विज्ञापन गर्नेमा यो पेज शीर्ष २० औं स्थानमा पर्छ ।

यो फेसबुक पेजले प्रयोगकर्तालाई ‘भोट केमा’ भन्दै लोभ्याएर एउटा छुट्टै एप डाउनलोड गर्न आह्वान गरिएको छ जसमा हजारौँको संख्यामा रियाक्सन र इङ्गेजमेन्ट देखिएको छ । एन्ड्रोइड प्लेटफर्ममा ५० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको उक्त एप प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो नाम र लोकेसन लगायतका व्यक्तिगत विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ ।

पेजको ट्रान्सप्यारेन्सी हेर्दा यो पेज नेपाल र विदेश दुवै ठाउँबाट सञ्चालन भइरहेको देखिन्छ । यसलाई जर्जियाबाट तीन जना र नेपालबाट चार जना प्रयोगकर्ताले व्यवस्थापन गरिरहेका छन् ।

सुरुवातमा ‘द क्राउड माइन्ड’ नाम रहेको यस पेजले १२ फेब्रुअरी २०२५ मा मात्रै नाम परिवर्तन गरेर ‘माई भ्वाइस काउन्ट्स’ राखेको थियो । विभिन्न देशबाट भोटिङ क्रियट गर्न सकिने सुविधा रहेको यो प्लेटफर्म कसले र कहाँबाट सञ्चालन गरेको हो भन्नेबारे यकिन जानकारी सार्वजनिक गरिएको छैन ।
निर्वाचनका बेला मतदातालाई प्रभावित पार्ने गरी सञ्चालन हुने यस्ता मत सर्वेक्षणका प्लेटफर्मलाई नेपाल सरकारले यसअघि पनि प्रतिबन्ध लगाउँदै आएको छ । यसअघि ‘रेट माई नेता’लाई सरकारले बन्द गराएको थियो भने रेट कान्तिपुरलाई भोटिङ पोल हटाउन निर्देशन दिएको थियो । आचारसंहिता उल्लंघन गर्दै डलर खर्चेर यस प्लेटफर्मले निरन्तर विज्ञापन गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १८:५४
