close

फ्याक्टचेक: केपी ओलीलाई झापाबाट लखेटेको दाबी मिथ्या, फोटो एआई निर्मित

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन ६, २०८२ ७:४८

फ्याक्टचेक: केपी ओलीलाई झापाबाट लखेटेको दाबी मिथ्या, फोटो एआई निर्मित

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाबाट लखेटेको र रामधुलाई गरेको दाबीसहितका फोटो तथा भिडिओ सामाजिक सञ्जालमा फैलिरहेका छन् । उक्त दाबीको तथ्यजाँच गर्न टेकपानाका पाठकहरूले समेत मेन्सन गरिरहेका छन् । 

पाठकहरूको आग्रहमा ओलीलाई लखेटेको दाबी र तस्बिरको तथ्यजाँच गर्दा केपी ओलीलाई झापाबाट लखेटिएको दाबी झुटो रहेको पाइएको छ । सो दाबीका लागि प्रयोग गरिएको तस्बिर समेत एआई निर्मित रहेको टेकपानाको फ्याक्टचेकबाट पुष्टि भएको छ । 

 

दाबी

फेसबुक पेज ‘Miss Pabi 41’ ले केपी शर्मा ओलीलाई झापाबाट लखेटेको दाबी सहित पोस्ट गरेको छ । १६ फेब्रुअरी दिउँसो ३:३१ मा गरिएको उक्त पोस्टमा ओलीको हात प्रहरीले समातिरहेका छन् भने उनको निधारमा चोट लागेर पट्टि बाँधिएको देख्न सकिन्छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “केपि ओलि लाई वास्तवमै झापा बाट ल'खेटे, सहि गरे या ग'लत कमेन्ट गर्नुहोला ❤️🙏😮😀” 

उक्त पोस्टमा १८ सयभन्दा धेरैले रियाक्सन आएका छन् भने १०८ पटक शेयर भएको छ । उक्त पोस्टमा फेसबुक प्रयोगकर्ता ‘Jibraj Adhikari’ ले टेकपानालाई तथ्यजाँचका लागि मेन्सन गरेका छन् ।  हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 


 

अनुसन्धान 

झापामा ओलीलाई लखेटेको दाबी सहितको पोस्ट भाइरल भएको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान सुरु गर्‍यो । यस क्रममा ‘LaliTa BiSt’ नामक फेसबुक अकाउन्टबाट ‘Bhojraj Thapa’ ग्रुपमा पनि समान दाबी सहितको फोटो पोस्ट गरेको पाइयो । १६ फेब्रुअरी साँझ ७:१९ मा शेयर गरिएको उक्त पोस्टमा लेखिएको छ, “केपि ओलि लाई वास्तवमै झापा बाट ल'खेटे, सहि गरे या ग'लत कमेन्ट गर्नुहोला ❤️🙏😮😀” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 



 

 

त्यस्तै फेसबुक प्रयोगकर्ता ‘Bikas Kumar Yogi’ ले पनि सोही दाबी सहितको फोटो शेयर गरेका छन् । १६ फेब्रुअरी साँझ ५:१३ मा सार्वजनिक गरेको उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “केपि ओलि लाई वास्तवमै झापा बाट ल'खेटे, सहि गरे या ग'लत कमेन्ट गर्नुहोला ❤️🙏😮😀” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

 

 

 

 

ओलीलाई झापाबाट लखेटेको दाबी र चोट समेत लागेको तस्बिर सामाजिक सञ्जालमा फैलिरहेको पाइएपछि वास्तवमै ओली लखेटिएका हुन् कि होइनन् बुझ्ने प्रयास गर्‍यौँ । हामीले फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा ‘केपी ओली झापाबाट लखेटिए’, ‘केपि ओलि लखेटिए’, ‘केपी ओलि लखेटिए’, ‘केपी ओली झापावासी आक्रोशित’, ‘केपी ओली चोट’, ‘केपि लखेटिए’, ‘केपी लखेटिए’ लगायतका किवर्ड राखेर सर्च गर्‍यौँ । 

तर केपी ओलीलाई लखेटिएको दाबीसहितका अन्य पोस्टहरू पनि फेला परे । ३१ जनवरीमा ‘Ktm Post’ ले ‘आफ्नै ईलाका बाट केपी ओलि ल'खे'टिए, सहि भयो कि गल'त कमेन्ट गर्नुहोला ❤️🙏😍👏’ क्याप्सन सहितको पोस्ट फेला पर्‍यो । उक्त पोस्टमा २६ सय बढी रियाक्सन र एक हजार २०० बढी कमेन्ट आएका छन् । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

यस्तै, ‘Mahesh Kunwar’ ले २९ जनवरीमा “Breaking news😀😀झापामा भोट माग्न जादा केपि शर्मा ओली लखेटिए” क्याप्सनसहित भिडिओ राखेको फेला पर्‍यो । हेर्नुहोस् स्क्रिनशट । 

उक्त भिडिओको बारेमा टेकपानाले यसअघि २६ माघमा फ्याक्टचेक गर्दै भ्रामक भएको पुष्टि गरिसकेको छ । ‘फ्याक्टचेकः झापामा केपी ओलीलाई मतदाताले लेखेटे भन्दै जेनजी विद्रोहको काठमाडौँको भिडिओ भाइरल’ शीर्षकको उक्त फ्याक्टचेक यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ । 

यस्तै, “झापा-५ मा केपि ओलि लखेटिए, जनताले धनिपुर्जा खोइ भन्दै आछुआछु पारे।😯😮🔔♥️” शीर्षकमा ‘भात खाने भाँडो’ नामक फेसबुक पेजले राखेको भिडिओ फेला पर्‍यो । 

 ११ फेब्रुअरीमा ‘Galaxykhabar’ ले पनि ओली झन्डै लखेटिएको दाबी सहितको पोस्ट गरेको छ । लालपुर्जा र नक्साको सवाल उठाउँदा झन्डै लखेटिएको दाबी सहित पोस्ट गरिएको छ । 

तर वास्तवमा उक्त घटनामा ओलीलाई स्थानीयले लखेटेका थिएनन् । बरु ओलीसँगै चुनावी प्रचारप्रसारमा हिँडेका गौरादह नगरपालिकाको वडा नम्बर ४ का सदस्यले लालपुर्जाको विषयमा ओलीलाई प्रश्न सोध्ने मतदाताहरूलाई “नक्सा लिन वडामा आइज’ भन्दै थर्काएका थिए । 

तर, माथी उल्लिखित किवर्डहरूलाई सामाजिक सञ्जाल प्लेटफर्म र गुगल एड्भान्स सर्च गर्दा पनि दाबी गरिएको जस्तो केपी ओली लखेटिएको दाबीलाई पुष्टि गर्न सकिने विश्वसनीय समाचार तथा सामग्रीहरू फेला परेनन् । 

पूर्व प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ‌ओलीले सार्वजनिक रूपमा बोलेका कुरा तथा उनीसँग सम्बन्धित गतिविधिहरूले मूलधारका नेपाली मिडियासहित सामाजिक सञ्जालमा स्थान पाउने गरेका छन् ।  २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हाल झापा-५ बाट उम्मेदवारी दिएका कारण पनि उनको चर्चा निकै चुलिएको छ । यस्तोमा आफ्ना मतदाताबाट नै ओली लखेटिएको वा चोट लागेको भए राष्ट्रिय स्तरको समाचार बन्नु पर्ने हो । तर, यस विषयमा कुनै पनि सञ्चारमाध्यमले समाचार नलेखेका कारणले उक्त दाबीमा सत्यता नरहेको देखियो । 

त्यसपछि हामी भाइरल पोस्टहरूमा प्रयोग भएको तस्बिरको वास्तविकता पत्ता लगाउन तर्फ लाग्यौँ । यो तस्बिरलाई एआई डिटेक्सन टुल हाइभ मोडेरेसनमा राखेर हेर्दा उक्त तस्बिर ९९.९ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निस्कियो । हाइभ मोडेरसनले उक्त तस्बिर बनाउन जेमनाई ३ एआई प्रयोग भएको देखाएको छ ।

 

त्यसपछि हामीले उक्त तस्बिरको गुगल सिन्थ आईडी डिटेक्सन टुलमा राख्दा पनि उक्त तस्बिर बनाउन गुगल एआईको प्रयोग भएको निष्कर्ष निस्कियो । 

हामीले ‘Dainik Post’ ले सार्वजनिक गरेको तस्बिरलाई पनि हाइभ मोडेरेसनमा राखेर हेर्‍यौँ । उक्त तस्बिर पनि ९९.९ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निस्कियो । 

 

 

दाबीः 

केपी शर्मा ओलीलाई झापाबाट लखेटियो, केपी ओलीलाई झापाका स्थानीयले ‘रामधुलाई’ गरे । 

 

दाबीकर्ता 

‘Miss Pabi 41’, ‘LaliTa BiSt’, ‘Bikas Kumar Yogi’, ‘Ktm post’,  ‘Mahesh Kunwar’, ‘भात खाने भाँडो’, ‘Galaxykhabar’ लगायतको सामाजिक सञ्जाल प्रयोगकर्ता । 

 

तथ्य

केपी शर्मा ओलीलाई झापाबाट लखेटिएको घटना सही होइन । उनलाई लखेटेको तथा चोट लागेको जस्तो तस्बिर गुगल एआईको प्रयोग गरेर तयार पारिएको हो । पहिला पनि समाजिक सञ्जालमा केपी ओलीलाई झापाबाट लखेटिएको दाबीसहित भिडिओ सामग्रीहरू शेयर भइरहेको पाइएको छ । तर, ती दाबीहरू पनि भ्रामक रहेको टेकपानाको यसअघिकै फ्याक्टचेकबाट पुष्टि भइसकेको छ ।  

 

निष्कर्ष

केपी शर्मा ओलीलाई झापाबाट लखेटेको तथा स्थानीयले ‘रामधुलाइ’ गरेको दाबी मिथ्या हो । एआईबाट तयार गरेको फोटो प्रयोग गरेर मिथ्या सूचना फैलाइएको पुष्टि भएको छ । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८२ ९:१३