close

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई शुभकामना दिएको ‘एआई भिडिओ’ फैलाउने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

फागुन १९, २०८२ १३:९

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई शुभकामना दिएको ‘एआई भिडिओ’ फैलाउने व्यक्ति पक्राउ

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन् । 

साइबर ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित ठाकुरलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार ठाकुरले आफ्नो व्यक्तिगत फेसबुक आईडी प्रयोग गरी फेसबुकमा झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समर्थन जनाएको दाबी गर्दै भिडिओ राखेका थिए । पोस्टमा लेखिएको थियो ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहलाई जितको शुभकामना दिए’ । 

‘टेकपाना’को फ्याक्टचेक डेस्कले उक्त भिडिओलाई परीक्षण गर्दै त्यो एआई प्रविधिको प्रयोग गरी बनाइएको भ्रामक सामग्री भएको पुष्टि गरिसकेको छ ।

पक्राउ परेका ठाकुरमाथि साइबर अपराधको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय एआईको दुरुपयोग गरी चर्चित व्यक्तिका भ्रामक भिडिओ (डिपफेक) बनाउने र समाजमा अफवाह फैलाउने क्रम बढेसँगै प्रहरीले यसमा निगरानी बढाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १३:१५