मौन रहन सकेनन् हर्क साम्पाङ, भ्रामक भिडिओकै आधारमा लेखे- मोदीले शुभकामना दिँदा कसको नाम लियो ?
फागुन १९, २०८२ १८:५१
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ) ले निर्वाचन आयोगको निर्देशन र आचारसंहितालाई बेवास्ता गर्दै मौन अवधिको समयमा पनि सामाजिक सञ्जालमा निरन्तर प्रचार सामग्री र विपक्षी विरुद्धका पोस्ट राखिरहेका छन् । साम्पाङले १२ लाखभन्दा बढी फलोअर रहेको आफ्नो फेसबुक पेजबाट भ्रामक सामग्री र राजनीतिक टिप्पणीसहितका पोस्ट गर्ने कार्यलाई निरन्तरता दिएका हुन् ।
मङ्गलबारदेखि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गरेको भन्ने एउटा भिडिओ भाइरल भएको थियो । जसलाई ‘टेकपाना फ्याक्टचेक डेस्क’ले उक्त भिडिओ एआई सिर्जित सामग्री भनी पुष्टि गरिसकेको छ ।
तर, साम्पाङले सोही भ्रामक भिडिओलाई आधार बनाएर बुधबार बिहान १ः४३ बजे, “नरेन्द्र मोदीले शुभकामना दिंदा कस्को नाम लियो ? सेनालाई मतपेटिका सुम्पनु हुँदैन ! दलका प्रतिनिधि अनिवार्य हुनै पर्छ नत्र दलहरुले मान्नु हुँदैन ! हाम्रा पूर्खाले आर्ज्या देश हो यो ! तेरो बाऊको बिर्ता होइन !” भन्दै उत्तेजक स्ट्याटस लेखे ।

यसका साथै साम्पाङले मौन अवधिको समयमा आचारसंहिता विपरीतका कयौँ पोस्टहरू शेयर गरेका छन् । उनले मङ्गलबार बिहान १२ः५९ बजे चुनावी दाउपेचको विषयमा पोस्ट गरे ।

त्यसैगरी मङ्गलबार बिहान २ः०३ बजे ‘मोहिनी सुब्बा’ नामक प्रयोगकर्ताले रवि लामिछाने र बालेन शाहलाई जोडेर एमसीसीको विषयमा बनाएको भिडिओ शेयर गरेका थिए । अर्थात् साम्पाङले शेयर गरेको उक्त पोस्ट बालेन र रविको विपक्षमा हुने किसिमको थियो ।

त्यस्तै बिहान ३ मार्च २०२६ को बिहान १ः३३ बजेको समयमा नेपाली कम्युनिस्ट पार्टीको विरोधमा ‘अन्यायको विरोधी शिव नाना’ नाम गरेको फेसबुक पेजमा गरिएको पोस्ट पनि साम्पाङले शेयर गरेका छन् ।

आफ्नो प्रचारका क्रममा उनले मङ्गलबार बिहान ७ बजे ‘राई’ नामक अकाउन्टबाट आफ्नो प्रशंसा गरिएको पोस्ट शेयर गरेका छन् भने बिहान १०ः३६ बजे आफूले श्रमदान गरेर पानी ल्याएको भिडिओ ‘एक्सन एन्ड रिजल्ट’ क्याप्सनसहित राखेका छन् ।

यसैगरी राई नामबाट उनको प्रशंसामा लेखिएको सन्देशमूलक कवितासहित पोस्ट पनि साम्पाङले शेयर गरेका छन् ।

यसरी साम्पाङले निर्वाचन आचारसंहिता र मौन अवधिको नीति विपरीत आफ्नो पक्षमा हुने र अन्यको विपक्षमा हुने सामग्री शेयर गरिरहेका छन् । जब कि सोमबार रातिदेखि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले प्रचार प्रसारमा रोक लगाइसकेको छ । आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा के के गर्न पाइँदैन भन्ने स्पष्ट पारेको छ ।
आयोगका अनुसार कसैले पनि सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ २०:३०
