टेकपाना समाचार प्रभावः स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
बैशाख २२, २०८३ १०:३३
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई सोमबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको हो ।
अनुमतिपत्र रद्द भएपछि स्वतः नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहन पुगेको स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण कानुन विपरीत एनसेललाई विक्री गरिएको विषय टेकपानाले हालै मात्र खुलासा गरेको थियो । कम्तीमा सरकारको ७ अर्ब रुपैयाँ (लाइसेन्स दस्तुुर बाहेक) राजस्व बक्यौता उठाउन बाँकी रहेको उक्त कम्पनीको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले गत वर्षको असोजमै आफूखुसी लिलाम विक्री गरेको थियो । त्यसका लागि जोशीले नै २० भदौ २०८२ मा लिखित रूपमा कम्पनीको सम्पत्ति लिलाम बिक्री गर्न मन्जुरीनामासहित बैङ्कलाई अनुरोध गरेका थिए ।
सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा जोशीमाथि अनुसन्धान अगाडि बढाइने सीआईबीले जनाएको छ ।
२ वैशाख २०७० सालमा नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनका लागि स्मार्ट टेलिकमले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा ५ बमोजिम ३ वैशाख २०८० मा सो अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
त्यससँगै दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ बमोजिम कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार नेटवर्क प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ ११:२९
