close

दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन सुरु, अध्यक्ष र ४ सदस्यका लागि दरखास्त आह्वान

टेकपाना टेकपाना

बैशाख २६, २०८३ ११:९

दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन सुरु, अध्यक्ष र ४ सदस्यका लागि दरखास्त आह्वान

काठमाडाैँ । सरकारले रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणको अध्यक्ष र चार जना सदस्य पदका लागि इच्छुक योग्य नागरिकहरूबाट आवेदन माग गरेको हो ।

हालैको अध्यादेशमार्फत प्राधिकरणको सिङ्गो बोर्ड रिक्त भएपछि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक/प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा कम्तीमा स्नातकोत्तर तह वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव अनिवार्य गरिएको छ ।

त्यस्तै, सदस्य पदका लागि प्राविधिक वा प्रशासनिक क्षेत्रबाट एक जना, बजार व्यवस्थापनबाट एक जना, लेखा तथा लेखा परीक्षणबाट एक जना र कानुनी क्षेत्रबाट एक जना गरी चार जना सदस्यको छनोट गरिनेछ । सदस्यका लागि स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ ।

दरखास्त दिने उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायो-डेटा) सँगै प्राधिकरण सुधारका लागि तीनदेखि पाँच हजार शब्दसम्मको शिलबन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्नेछ । नेपाली वा अङ्ग्रेजी भाषामा तयार पार्न सकिने कार्ययोजना छनोटको मुख्य आधार हुने सूचनामा उल्लेख छ ।

आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले कुनै पनि विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको र प्रचलित कानुन बमोजिम नियुक्ति हुन अयोग्य नभएको स्वघोषणा समेत गर्नुपर्नेछ ।

साथै, उम्मेदवारले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, भ्रष्टाचार वा फौजदारी कसुरमा सजाय नपाएको र कुनै पनि गैरसरकारी संस्थामा आबद्ध नरहेको लिखित प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक आवेदकले मन्त्रालयको संस्थान समन्वय शाखा, सिंहदरबारमा तोकिएको ढाँचामा दरखास्त पेस गर्नुपर्नेछ । रीत नपुगेका वा समय नाघेर आएका दरखास्तउपर कुनै कारबाही नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ ११:३३