ई-जीपी ह्याक प्रकरणमा मुख्य अभियुक्त देउजा कारागार चलान, पूर्वमन्त्री पाण्डेसहित अन्य धरौटीमा रिहा
जेठ १, २०८३ १३:३
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) ह्याक गरेको प्रकरणमा मुख्य अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले यसै प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा ठेकेदारसहित अन्य प्रतिवादीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश चुनाराम खड्काको इजलासले घटनाका मुख्य अभियुक्त मानिएका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । ‘सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा’ शाखामा कार्यरत देउजाले नै सरकारी सिस्टम ह्याक गरेको प्रहरीको अनुसन्धानको दाबी छ । यद्यपि, उनले अदालतसमक्ष इन्कारी बयान दिएका थिए । उनी २०७७ तिर नेपाल टेलिकमको टपअप प्रणाली ह्याक गरी दुरुपयोग गरेको आरोपमा समेत पक्राउ परेका थिए ।
यसै प्रकरणमा तानिएका पूर्व वन तथा वातावरणमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेसँग अदालतले चार लाख रुपैयाँ धरौटी माग गरेको छ । कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक रहेका पाण्डेसहित पक्राउ परेका अन्य ठेकेदार र बिचौलियालाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतको आदेश अनुसार वित्तीय सहजकर्ताको भूमिका निभाएको आरोपमा पक्राउ परेका भाष्करराज अर्याल र सोलि थुम्का निर्माण सेवा प्रालिका सञ्चालक सञ्जय भट्टसँग सबैभन्दा बढी जनही १० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
त्यस्तै, गीताञ्जली कन्स्ट्रक्सन दुहबी प्रालिका सञ्चालक जीवनकुमार दास र कटुवाल कन्स्ट्रक्सन तथा शिवओम सप्लायर्सका सञ्चालक सागर कटुवाललाई जनही पाँच लाख रुपैयाँ धरौटी बुझाउन आदेश भएको छ ।
यसैगरी, जनही चार लाख रुपैयाँ धरौटी माग गरिएका ठेकेदारमा कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना, चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहोरा, शिभांश निर्माण सेवा प्रालिका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठ, आइकन प्रालिका स्वदेश पोखरेल र आशिष निर्माण सेवा प्रालिका सञ्चालक ७० वर्षीय ऋषिकेश गौली रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २५ वैशाखमा अदालतमा मुद्दा दायर गरेको थियो । यस प्रकरणमा जम्मा २२ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये १२ जना पक्राउ परेका थिए भने अन्य १० जना अझै फरार रहेका छन् । फरार प्रतिवादीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८३ १३:२१
