close

युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीले भनेः अब अन्याय सहेर बस्नु पर्दैन

टेकपाना टेकपाना

असार २२, २०८३ १८:३६

युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीले भनेः अब अन्याय सहेर बस्नु पर्दैन

काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीमाथि भएको अश्लील हर्कत र त्यसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री सुदन गुरुङले गम्भीर ध्यानाकर्षण जनाएका छन् । आइतबार साँझ इमाडोलको गल्लीमा हिँडिरहेकी ऋतु खनालमाथि एक पुरुषले आफ्नो गोप्य अङ्ग प्रदर्शन गरी दुर्व्यवहार गरेका थिए ।

पीडित युवतीले साहस देखाउँदै आफ्नो स्मार्टफोनको प्रयोग गरी उक्त घटनाको भिडिओ रेकर्ड गरेकी थिइन् । जुन टिकटकमा सार्वजनिक भएपछि छोटो समयमै लाखौँ पटक हेरिएको थियो । सोही भिडिओको आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ ।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत ऋतु खनालको साहसको प्रशंसा गर्दै पीडितको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लेखेका छन्, "ऋतु खनालज्यूले सार्वजनिक गर्नुभएको आफूमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ र उक्त व्यक्तिलाई पक्राउ समेत गरिसकेको जानकारी गराउँछु। ऋतु जीको साहसप्रति हाम्रो सम्मान छ ।"

गृहमन्त्रीले कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन् । "म सबै यौन हिंसाका पीडितहरूलाई ढुक्क भएर आवाज उठाउन आग्रह गर्दछु । अब अन्याय सहेर बस्नु पर्दैन," उनले भनेका छन् । साथै, उजुरी दर्ता गर्न कतै समस्या भएमा सिधै गृह मन्त्रालय वा जिल्ला प्रहरी परिसरमा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

पक्राउ पर्ने व्यक्ति सरकारी अधिकारी

यसैबिच, युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्ति सरकारी अधिकृत रहेको खुलासा भएको छ । प्रहरीले बाजुरा घर भई हाल ललितपुरको इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्टलाई सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भट्ट अधिकृत स्तरका कर्मचारी हुन् ।

भिडिओमा भट्टले आफ्नो कपडा खोलेर अश्लील व्यवहार गरेको दाबी युवतीले गरेकी छिन् । पीडित युवतीले प्रतिकार गर्दै उनलाई झापड समेत हानेको र मद्दतका लागि चिच्याएको भिडिओमा सुन्न सकिन्छ ।

यो घटनाले समाजमा प्रविधिको शक्ति र यसको सही सदुपयोगको विषयलाई पुनः चर्चामा ल्याएको छ । धेरैले यसलाई 'स्मार्टफोनको स्मार्ट सदुपयोग' भन्दै पीडित युवतीको प्रशंसा गरेका छन् ।

उनको यो साहसले बाल्यकालमा वा विद्यालय उमेरमा यस्तै दुर्व्यवहार भोगेर चुपचाप बसेका धेरै महिलाहरूलाई आफ्नो पीडा र अनुभव खुलेर बाहिर ल्याउन प्रेरित गरेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले ऋतुको कदमले भविष्यमा यस्ता अपराधीहरूलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रहरीले अहिले आरोपी भट्टमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । गृहमन्त्रीले दोषीलाई कानून बमोजिम कडा कारबाही गर्ने र महिला सुरक्षाका लागि राज्य दृढ रहेको दोहोर्‍याएका छन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ १८:३७