डेटा नचलाउँदा पनि ब्यालेन्स काटेको एनसेलद्वारा स्वीकार, पैसा फिर्ता गरिसकेको भन्दै झुटो दाबी
साउन ११, २०८३ २०:०
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले मोबाइल डेटा प्रयोग नगरेको र वाइफाईमा कनेक्ट भएको अवस्थामा पनि ग्राहकको ब्यालेन्स काटिरहेको गम्भीर तथ्य स्वीकार गरेको छ । टेकपानाले गरेको लामो अनुसन्धान र प्रमाणसहितको प्रश्नपछि कम्पनीले आफ्नो बिलिङ प्रणालीमा 'प्राविधिक त्रुटि' भएको स्वीकार गरेको हो ।
यद्यपि, सञ्चारमाध्यमले उठाएका सार्वजनिक सरोकारका प्रश्नको सोझो जवाफ दिनुको सट्टा कम्पनीले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै घटनालाई सामान्यीकरण गर्ने र ढाकछोप गर्ने प्रयास गरेको देखिएको छ ।
एनसेलका ग्राहकको मेन ब्यालेन्सबाट 'पे एज यू गो' (PAYG) अन्तर्गत भइरहेको शङ्कास्पद कटौतीबारे टेकपानाले सोमबार दिउँसो २:२६ बजे एनसेलको कर्पोरेट कम्युनिकेसन्स टिमलाई विस्तृत प्रश्नसहितको ईमेल पठाएको थियो । टेकपानाले सोधेको प्रश्नमा डेटा अफ हुँदा पनि किन पटक पटक १.२७ रुपैयाँ काटिन्छ र यसको प्राविधिक कारण के हो भन्ने स्पष्ट पार्न भनिएको थियो ।
तर, उक्त ईमेलको आधिकारिक जवाफ दिनुको सट्टा कम्पनीले आन्तरिक रूपमा अर्कै रणनीति बनाइरहेको थियो । अपरान्ह करिब ४:१५ बजे एनसेलको कर्पोरेट कम्युनिकेसन्सका युनिट हेड रमेश श्रेष्ठले मेसेज गरेर कम्पनीको प्रतिक्रिया दिने क्रममै रहेको जानकारी गराउँदै अलमल्याएका थिए । तर, ईमेलको जवाफ आउनुअघि नै अचम्म लाग्दो ढङ्गले ५:१८ बजे एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजमा एक 'सार्वजनिक सूचना' जारी गर्यो ।
उक्त सूचना फेसबुकमा सार्वजनिक भएको ८ मिनेटपछि श्रेष्ठले यो 'सूचना' पहिलेदेखि नै योजनामा रहेको दाबी गरे । प्रतिक्रियाको प्रतीक्षामा रहेको टेकपानालाई उनले मेसेजमा भने, "तपाईंको प्रतिक्रियाका लागि म अझै अप्रुभलको पर्खाईमा छु । सूचना बाहिर आइसक्यो ।" यसले के प्रस्ट भएको छ भने, सञ्चारमाध्यममा समाचार आउनुअघि नै फेसबुकमार्फत एउटा 'सफ्ट' सूचना जारी गरेर कम्पनीले आफ्नो गल्तीमा पर्दा हाल्न खोजेको थियो । अन्ततः समाचारको दबाबपछि मात्रै करिब ६ बजे (५:५७ बजे) कम्पनीले टेकपानाको ईमेलको जवाफ पठाएको थियो ।
रिफन्ड गरिसकेको भन्दै कम्पनीको झुटो दाबी
एनसेलले आफ्नो फेसबुक पोस्ट र ईमेल दुवैमा 'प्राविधिक कारणले समस्या देखिएको र प्रभावित ग्राहकलाई रकम फिर्ता (रिफन्ड) गरिसकिएको' दाबी गरेको छ । कम्पनीले एसएमएसमार्फत ग्राहकलाई सूचित गरिएको समेत बताएको छ ।
तर, एनसेलको यो दाबीमा सत्यता नरहेको पाइएको छ । टेकपानाले जुन-जुन नम्बरहरूमाथि लामो अनुसन्धान गरिरहेको थियो र जसको अकाट्य प्रमाण फेला पारेको थियो, तीमध्ये कुनै पनि ग्राहकले समाचार तयार पार्दासम्म रिफन्ड पाएका छैनन् । न त उनीहरूलाई रकम फिर्ता भएको कुनै एसएमएस नै आएको छ । यसले एनसेलले सार्वजनिक रूपमा 'रिफन्ड गरिसक्यौँ' भनेर झुटो विवरण पेस गरी जनआक्रोश साम्य पार्न खोजेको आशङ्का उब्जाएको छ ।
के थियो मुख्य बदमासी ?
टेकपानाको प्राविधिक परीक्षण र कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषणले एनसेलले १७ अक्टोबर २०२५ देखि नै ग्राहकको खाताबाट अवैध रूपमा पैसा काटिरहेको फेला पारेको थियो । मोबाइलमा डेटा पूर्ण रूपमा 'अफ' भएको र शून्य एमबी डेटा खपत भएको अवस्थामा समेत दिनमा ८ पटकसम्म १.२७ रुपैयाँका दरले पैसा काटिएको प्रमाण भेटिएको छ ।
कुनै डेटा प्याकेज सक्रिय नहुँदा लाग्ने 'पे एज यू गो' शुल्कलाई एनसेलले डेटा प्रयोग नै नगर्दा पनि काट्ने 'लुप' बनाएको छ । मोरङका मिलन कार्की र विवेक गुप्ता जस्ता कयौँ ग्राहकले यस्तो ठगीको प्रमाण सार्वजनिक गरेका छन् । एनसेलले 'सधैँ अन' र 'ब्यालेन्स सुरक्षा' जस्ता योजना ल्याएको दाबी गरे पनि भित्रभित्रै ग्राहकको ब्यालेन्स रित्याउने काम भइरहेको तथ्य टेकपानाले उजागर गरेको हो ।
नियामकको भूमिकामाथि प्रश्न
यस विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि मुख खोलेको छ । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले यो गम्भीर विषय भएको र ग्राहक ठगिएको महसुस भएमा उजुरी दिन आग्रह गरेका छन् । प्राधिकरणले आवश्यक अनुसन्धान गरी दोषी पाइएमा कम्पनीमाथि कारबाही र ग्राहकलाई क्षतिपूर्ति भराउने प्रतिबद्धता जनाएको छ ।
एनसेलका १ करोड २४ लाखभन्दा बढी ग्राहक रहेको अवस्थामा, यदि सानो हिस्साबाट मात्रै पनि यसरी दैनिक पैसा काटिँदै आएको भए यो अर्बौँको ठगी हुन सक्ने देखिन्छ । कम्पनीले फेसबुकमा सूचना राखेर पन्छिन खोजेको देखिएको छ । अहिलेसम्म कुन-कुन ग्राहकको कति रकम काटियो र त्यसको वास्तविक फिर्ता कसरी हुन्छ भन्ने पारदर्शी विवरण सार्वजनिक आएको छैन । लाखौं ग्राहक ठगिएको विषयमा स्वतःस्फूर्त सक्रियता देखाउनु पर्नेमा उजुरी पर्खेको नियामकमाथि समेत प्रश्न सोझिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ २०:४७
