महिनौंदेखि ग्राहकलाई थाहै नदिई भित्रभित्रै डेटा-इन्टरनेट शीर्षकमा धमाधम ब्यालेन्स काट्दै एनसेल
साउन ११, २०८३ १७:४३
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल डेटा पूर्ण रूपमा बन्द गरी वाई-फाई प्रयोग गरिरहेको अवस्थामा समेत ग्राहकको मेन ब्यालेन्सबाट धमाधम पैसा काटिरहेको फेला परेको छ । कम्पनीले डेटा-इन्टरनेट शीर्षकमा ग्राहकलाई थाहै नदिई विगत ९ महिनाभन्दा लामो समयदेखि निरन्तर रूपमा ब्यालेन्स काट्ने ‘लुप’ चलाइरहेको तथ्य टेकपानाको अनुसन्धानबाट उजागर भएको हो ।
ब्यालेन्स कटौती गर्दा प्रत्येक पटक १.२७ रुपैयाँ जस्तो सानो परिमाणमा रकम काटिने भएकाले धेरैजसो ग्राहकले यसको भेउ पाउन सकेका छैनन् । एनसेलको सिस्टममा देखिएको यो गम्भीर प्राविधिक कैफियत र उपभोक्तामाथिको ठगीबारे टेकपानाका पाठक विवेक गुप्ताले प्रमाणसहित ईमेलमार्फत जानकारी गराएका थिए ।
कम्पनीको नियमअनुसार एनसेल सिम खरिद गर्दा स्वतः सक्रिय रहने ‘पे एज यू गो’ सेवाअन्तर्गत कुनै डेटा प्याक सक्रिय नहुँदा उपभोक्ताले डेटा चलाएमा प्रति एमबी १.२७ रुपैयाँका दरले शुल्क काटिने व्यवस्था छ । तर, मोबाइलको डेटा सेवा पूर्ण रूपमा बन्द गरी वाईफाई वा अन्य नेटवर्क प्रयोग गरिरहेको अवस्थामा समेत एनसेलले ग्राहकको खाताबाट १.२७ रुपैयाँका दरले निरन्तर पैसा काटिरहेको फेला परेको हो ।
टेकपानाको प्राविधिक परीक्षण र अकाट्य प्रमाण
प्राप्त गुनासोपछि टेकपानाले यस विषयमा विस्तृत प्राविधिक परीक्षण र कल डिटेल रेकर्ड (सीडीआर) को मिहिन विश्लेषण गरेको थियो । परीक्षणका क्रममा जुलाईको पछिल्लो एक हप्तामा मात्रै एउटै नम्बरबाट ८ पटकसम्म बिना कारण रकम काटिएको भेटियो । रोचक कुरा त के छ भने, २४ जुलाईका दिन मात्रै उक्त नम्बरबाट ५ पटक ब्यालेन्स कटौती गरिएको छ ।
पछिल्लो एक वर्षको कल डिटेल रेकर्ड चेक गर्दा एनसेलले कम्तीमा १७ अक्टोबर २०२५ देखि नै ग्राहकको खाताबाट यसरी रकम काट्न थालेको बलियो प्रमाण फेला परेको छ । टेकपानाले परीक्षण गरेको एउटा नम्बरमा हालसम्म ४० पटक यसरी ब्यालेन्स काटिएको देखिन्छ । जसमा मार्च २०२६ मा मात्रै १२ पटक रकम काटिएको छ ।

कल डिटेल्सको डेटा-इन्टरनेट शीर्षक हेर्दा २९ मार्च २०२६ का दिन मात्रै विभिन्न समयमा (०१:०५, ०३:२१, ०४:५०, ०६:२६, ०७:५५, ०९:५१, ११:२२ र १४:५९ बजे) ०.०० एमबी डेटा खपत भएको देखाएर आठ पटक १.२७ रुपैयाँका दरले रकम काटिएको स्पष्ट प्रमाण भेटिएको छ । मोबाइल सेटमा डेटा नै अन नगरिएको र ०.०० एमबी (अर्थात् शून्य डेटा) खपत हुँदा पनि पैसा काटिनुले एनसेलको बिलिङ प्रणालीमा ठुलो बदमासी वा गम्भीर प्राविधिक त्रुटि रहेको पुष्टि गर्छ ।
पीडित ग्राहक भन्छन्: सिम किनेको दिनदेखि नै काटिएको रहेछ
यस्तो अदृश्य कटौतीको सिकार हुनेमा मोरङका मिलन कार्की पनि छन् । डेटा प्रयोग नगरे पनि आफ्नो एनसेल नम्बरबाट ब्यालेन्स काटिने समस्या देखिएको उनले बताए । अप्रिल महिनायता मात्रै उनको नम्बरबाट २९ पटकमा गरी कूल ३६.८३ रुपैयाँ काटिएको छ । जसमा सबैभन्दा धेरै मे महिनामा १७ पटक यसरी रकम काटिएको फेला परेको छ ।

अर्का पीडित ग्राहक विवेक गुप्ताका अनुसार उनले यस विषयमा एनसेलको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्दा सुरुमा कम्पनीले गल्ती स्वीकार गर्नुको साटो ग्राहककै कमजोरी भएको दाबी गरेको थियो । तर, प्रमाणसहित निरन्तर गुनासो गरेपछि कम्पनीले करिब तीन महिनाको अवधिमा काटिएको रकम उनको खातामा फिर्ता (रिफन्ड) गरिदिएको थियो ।

"यो ब्यालेन्स कटौती मैले सिम किनेको दिनदेखि नै भइरहेको छ," गुप्ताले दाबीका साथ भने, "अहिले मोबाइल एपमा केवल १ वर्षको मात्र स्टेटमेन्ट हेर्न मिल्ने भएकाले कम्पनीले मेरो १० वर्षदेखि काटिएको सम्पूर्ण ब्यालेन्स फिर्ता देला ?"
कुनै डेटा प्याकेज सक्रिय नभएको, अर्कै सिम (नेपाल टेलिकम) मा मात्रै डेटा चलाउने गरेको र वाई-फाई प्रयोग गरिरहेको बेलामा एनसेलका धेरैजसो ग्राहक यस्तो कटौतीको सिकार भइरहेका छन् । ग्राहकहरूले आफ्नो एनसेल एप खोलेर कल डिटेल्समा गई कम्तीमा एक महिनाको स्टेटमेन्ट डाउनलोड गरी इन्टरनेट सेक्सन हेरेमा यो कटौती सहजै पत्ता लगाउन सक्छन् ।
यसैबिच, एनसेलको आधिकारिक फेसबुक पेजमा नारायण अधिकारी नामका एक प्रयोगकर्ताले आफूले मोबाइल डेटा कहिल्यै अन नगरेको, डेटा अफ राखेर मोबाइललाई वाईफाईमा कनेक्ट गरी ल्यापटप प्रयोग गरिरहेको अवस्थामा पनि डेटा खपत भएको दाबी गरेका छन् । उनले यस्तो समस्या एकपटक मात्र नभई पटक-पटक भएको उल्लेख गर्दै कम्पनीसँग स्पष्ट जवाफ माग गरेका छन् । समस्या समाधान नभए कानुनी कारबाहीसम्म जाने चेतावनी पनि उनले दिएका छन् ।
नारायण अधिकारीको टिप्पणीमा प्रतिक्रिया जनाउँदै विजयकुमार नेपालले पनि आफूले एनसेलको सिम विरलै प्रयोग गर्ने र मोबाइल डेटा नचलाउने दाबी गरेका छन् । उनले करिब एक साताअघि आफ्नो ब्यालेन्स क्रमशः घट्दै गएको देखेपछि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्दा डेटा प्रयोग भएकै कारण रकम काटिएको जानकारी पाएको बताएका छन् ।
आफूले डेटा प्रयोग नगरेको बताउँदै विरोध गरेपछि केही दिनमा काटिएको रकम फिर्ता आएको उनको भनाई छ । नेपालले यस्ता घटनाबाट जानकारी नपाएका अन्य ग्राहकहरू पनि प्रभावित हुन सक्ने आशङ्का व्यक्त गर्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।
फेसबुक प्रयोगकर्ता आरबी यादवले पनि एनसेल डेटा अन नगरेपनि दिनहुँ इन्टरनेट चार्जको नाममा पैसा काटिएको विषयमा एनसेललाई प्रश्न गरेका छन् ।

यी त प्रतिनिधिमूलक गुनासो मात्र हुन् । किन कि एनसेलको फेसबुक पेजमा सयौं ग्राहकले एउटै किसिमको गुनासो दोहोर्याएको प्रस्ट देखिन्छ ।
एनसेलको पुरानो दाबी र वर्तमान विरोधाभास
विगतमा ब्यालेन्स काटिने समस्या समाधानका लागि भन्दै एनसेलले विभिन्न योजना र सुविधाहरू ल्याएको घोषणा गरेको थियो । २ जेठ २०८१ मा एनसेलले ब्यालेन्स सकिने ग्राहकको डर अन्त्य गर्न र डिजिटल भविष्यतर्फ डोर्याउन भन्दै ‘सधैं अन’ योजना सार्वजनिक गरेको थियो । जसमा बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा ८ वटा बन्डल योजनाहरू ल्याइएका थिए ।
त्यस्तै, २६ चैत २०८२ मा एनसेलले ग्राहकको मेन ब्यालेन्स सुरक्षाका लागि 'पे एज यू गो' नियन्त्रण गर्न मिल्ने सुविधा विगत दुई वर्षदेखि नै उपलब्ध गराउँदै आएको पुनः स्मरण गराएको थियो । ग्राहकले आफ्नो मोबाइलबाट *९००५*५# डायल गरी पे एज यू गो सेवा निष्क्रिय गर्न सक्ने र त्यसो गर्दा डेटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट स्वतः पैसा नकाटिने एनसेलको भनाइ थियो । तर, ब्यालेन्स सुरक्षाका यस्ता सुविधा र यूएसएसडी कोड हुँदाहुँदै पनि मोबाइल डेटा पूर्ण रूपमा बन्द गर्दा समेत ब्यालेन्स काटिनुले एनसेलको प्रविधि र नियतमाथि नै गम्भीर प्रश्न उठाएको छ ।
एनसेलको आधिकारिक धारणा आउन बाँकी
यस विषयमा आधिकारिक धारणा लिन टेकपानाले एनसेललाई ईमेलमार्फत विस्तृत प्रश्नहरू पठाएको छ । ईमेलमा प्रयोगकर्ताहरूको मुख्य ब्यालेन्सबाट Pay As You Go (PAYG) अन्तर्गत रु. १.२७ किन कटिरहेको हो, मोबाइल डेटा बन्द भएर वाईफाई वा अर्को नेटवर्कमा कनेक्ट भएको अवस्थामा पनि यस्तो शुल्क कसरी लाग्न सक्छ, यसबारे कम्पनीलाई जानकारी छ वा छैन, यस्ता गुनासो कति प्राप्त भएका छन्, गल्ती भएको पुष्टि भएमा रकम फिर्ताको नीति के छ तथा समस्या समाधानका लागि कम्पनीले के कदम चालिरहेको छ भन्ने विषयमा जवाफ मागिएको छ । समाचार तयार पार्दासम्म एनसेलबाट यस सम्बन्धमा कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन ।
नियामक दूरसञ्चार प्राधिकरण भन्छ: दोषी पाइए कारबाही र क्षतिपूर्ति गराउँछौँ
यस गम्भीर लापरबाहीका विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ध्यानाकर्षण जनाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले यस विषयमा गुनासो आएको खण्डमा आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउने बताए ।
"ईमेलबाट पनि गुनासो टिपाउन सकिने व्यवस्था छ," उनले भने, "हामी दुवै पक्षलाई बोलाएर कारबाही र क्षतिपूर्ति के गर्नुपर्ने हो, गर्छौं । यो सैद्धान्तिक विषय समेत भएकाले रकम सानो भए पनि आफू ठगिएको महसुस भए उजुरी दिन अनुरोध गर्छौं ।"
यसबाट एनसेलले विगत दुई वर्षदेखि नै ब्यालेन्स सुरक्षाको विकल्प दिएको दाबी गरिरहँदा लाखौँ ग्राहकहरू भने थाहै नपाई दैनिक रूपमा ठगिइरहेको देखिएको छ । सानो-सानो रकम धेरै ग्राहकबाट काटिँदा एनसेलले यसबाट ठुलो परिमाणमा अवैध रूपमा रकम सङ्कलन गरिरहेको हुनसक्ने आशङ्का छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एनसेलको थ्रिजी तथा फोरजी सेवामा १ करोड २४ लाख ११ हजार भन्दा धेरै ग्राहक छन् । यदि यसको १० प्रतिशत ग्राहकबाट मात्रै औसतमा महिनाको पाँच पटक १.२७ रुपैयाँ काटिन्छ भने १० महिनामा त्यो रकम एक अर्ब जति हुन सक्छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १७:५७
