close

अब क्रोम शर्टकटबाटै जेमिनाईसँग कुरा गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १४:१०

अब क्रोम शर्टकटबाटै जेमिनाईसँग कुरा गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई टुल जेमिनाई प्रयोग गर्न थप सजिलो बनाउने भएको छ । जेमिनाईकहाँ पुग्न क्रोम ब्राउजरमा शर्टकट थप्ने गरी गुगलले काम गरिरहेको हो ।

विन्डोज रिपोर्टका अनुसार उक्त शर्टकट आएपछि मुख्य वेबसाइट नखोलिकनै जेमिनाईमा कुराकानी गर्न सकिन्छ । अहिले जेमिनाईसँग कुराकानी गर्न वेबसाइट अथवा एप खोल्नुपर्ने बाध्यता छ । सोही कुरालाई सरल बनाउन गुगलले नयाँ फिचर ल्याउने भएको हो ।

हाल गुगलले यो फिचर क्रोम क्यानेरीमा परीक्षण गरिरहेको छ । कुनै फिचर क्रोमको स्ट्यान्डर्ड ब्राउजरमा सार्वजनिक गर्नुअघि उक्त फिचर यस साइटमा उपलब्ध हुने गर्छ । यद्यपि अहिलेसम्म उक्त फिचरले काम गर्न भने थालिसकेको छैन । त्यसाे हुँदा क्रोममा  यो फिचर आउन अझै केही समय लाग्ने अनुमान छ ।  

यदि तपाईं पनि यो फिचर परीक्षण गर्न चाहनुहुन्छ भने क्रोम क्यानेरी इन्स्टल गर्नुहाेस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् । तर सम्झनु पर्ने कुरा यसमा परीक्षणका लागि फिचर थपिने भएकाले तिनले राम्ररी काम नगर्न सक्छन् । 

अहिले गुगलको प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टले कोपाइलटलाई एज ब्राउजरमा एकीकृत गर्ने कार्यलाई आक्रामक तरिकाले बढाइरहेको छ । यस अवस्थामा गुगलको यो कदमलाई महत्त्वका साथ हेरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १४:१०