close

च्याटजीपीटीसँग मेटाको लडाइँ सुरु, धमाधम नयाँ एआई असिस्टेन्ट ल्याउँदै

टेकपाना टेकपाना

बैशाख १३, २०८१ १५:२१

च्याटजीपीटीसँग मेटाको लडाइँ सुरु, धमाधम नयाँ एआई असिस्टेन्ट ल्याउँदै

काठमाडौं । च्याटजीपीटीले सुरु गरेको च्याटबटको दौडमा मेटा पनि उत्रिएकाे छ । मेटाले गत सेप्टेम्बरदेखि नै इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप र मेसेन्जरमा मेटा एआई असिस्टेन्ट राखिसकेको छ । केही समयपछि यो सिधै फेसबुकको फिडमा पनि देखिन थाल्नेछ । 

तपाईं मेटा एप्सको मेसेज इन्बक्समा यससँग च्याट गर्न सक्नुहुन्छ । यसलाई अब तपाईले मेटा डट एआई (Meta.ai) को स्ट्यान्डअलोन वेबसाइटमार्फत पनि पाउन सक्नुहुन्छ ।

वास्तविक च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न मेटाको असिस्टेन्टको मुख्य मोडेल राम्रो हुनुपर्छ । यसैले मेटाले आफ्नो आधारभूत ओपन सोर्स मोडेलको रुपमा अर्को प्रमुख भर्सन 'ल्हामा ३' ल्याएकाे छ ।

मेटाका अनुसार ल्हामा ३ ले मुख्य बेन्चमार्कहरूमा आफ्नो वर्गका प्रतिस्पर्धी मोडेलहरूलाई पछाडि पार्नेछ । दुई साना ल्हामा ३ का मोडेलहरू १८ अप्रिलमा मेटा एआई असिस्टेन्ट र बाहिरका डेभलपर दुवैका लागि सार्वजनिक भएका छन् । यसको ठूलो मल्टी-मोडेल आगामी महिनामा आउने मेटाले जनाएको छ ।

मेटाका सीईओ मार्क जुकरबर्गले द भर्जसँग कुरा गर्दै भने, "मेटा एआईको लक्ष्य "सबैभन्दा बौद्धिक एआई असिस्टेन्ट" बन्नु हो, जुन मानिसहरूले संसारभर स्वतन्त्र रूपमा प्रयोग गर्न सकून् । ल्हामा ३ सँगै हामीले त्यो काम सुरु गरिसकेका छौं ।"

मेटा एआई असिस्टेन्ट एकमात्र च्याटबट हो, जसले बिङ र गुगल दुवै सर्च इन्जिनलाई आफ्नो एआई असिस्टेन्टमा एकीकृत गर्छ । मेटाले प्रश्नको आधारमा गुगल वा बिङबाट जवाफ छनौट गरी प्रयोगकर्तालाई व्यापक र विविध जानकारी उपलब्ध गराउँछ ।

यसको इमेज जेनेरेसनलाई पनि अपग्रेड गरिएको छ, जसले एनिमेसन समेत बनाउँछ । अहिले यो केबल अमेरिकामा उपलब्ध छ ।

साथै मेटा एआई अस्ट्रेलिया, क्यानडा, घाना, जमैका, मलावी, न्यूजील्याण्ड, नाइजेरिया, पाकिस्तान, सिंगापुर, दक्षिण अफ्रिका, युगाण्डा, जाम्बिया र जिम्बाबेमा पनि उपलब्ध गराउँदै छ । मेटा एआई विस्तार गर्दै कम्पनीले दैनिक तीन अर्ब प्रयोगकर्तासम्म पुग्ने लक्ष्य लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १५:२९