close

दुबईको बाढीमा ‘डुङ्गा’ बनेर तैरियो टेस्लाको मोडेल वाई कार

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १४:२८

दुबईको बाढीमा ‘डुङ्गा’ बनेर तैरियो टेस्लाको मोडेल वाई कार

काठमाडौं । सात दशकयताकै ठूलो वर्षा भएपछि अहिले खाडी मुलुकहरू डुबानमा परेका छन् । गत १६ अप्रिलमा परेको भारी वर्षाका कारण यी देशको दिनचर्या अस्तव्यस्त बनेको छ ।

सामाजिक सञ्जालमा यूएई, बहराइन र ओमानका विभिन्न ठाउँ डुबानमा परेका दृश्य छाइरहेका छन् । त्यहीमध्ये दुबईको सडकमा टेस्लाको विद्युतीय गाडी मोडेल वाई तैरिएको दृश्यसहितको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

बाढीमा परेको मोडेल वाई तैरिएको दृश्यलाई धेरैले ‘टेस्ला बोट मोड’ मा भएको भन्दै टिप्पणी गरेका छन् । हुन त टेस्लाले अहिलेसम्म कार यतिको गहिराइसम्मका चलाउन सकिन्छ भन्ने कुनै किसिमको प्रचार गरेको छैन । यद्यपि यसरी टेस्लाका विभिन्न मोडेलहरू तैरिएका दृश्य समय समयमा सामाजिक सञ्जालमा आइरहेका हुन्छन् । 

अधिकांश विद्युतीय सवारी धनीलाई पानी भएको बाटोमा गाडी चलाउने काम निकै जोखिमपूर्ण लाग्छ । किनभने ब्याट्री वा त्यहाँ भएका कम्पोनेन्टमा पानी पस्यो भने ती सामग्रीमा क्षति पुग्न सक्छ ।

ब्याट्री र अन्य कम्पोनेन्ट पूर्ण रूपमा शिल्ड गरिएकाले त्यसमा क्षति नपुग्ने ईभी निर्माताहरूको दाबी हुन्छ । तर पनि जोखिम मोलेर ईभी पानीमा हाल्ने काम त्यति भएको देखिंदैन । दुबईको बाढीमा तैरिएको टेस्ला मोडेल वाईका चालकले भने जोखिम लिएरै भए पनि गाडी अगाडि बढाए । 

सो भिडिओ एलेक्स क्रुगर नामका एक्स प्रयोगकर्ताले अपलोड गरेका थिए । सोही पोस्टमा रिप्लाई गर्दै टेस्ला मोडेल वाईका यात्रु मिस्टर स्प्रिड उक्त कार आफूले चलाएको दाबी गरेका छन् ।

एक्सको कम्युनिटी नोट्सले पनि यसलाई पुष्टि गरेको छ । उनले आफू उबरमा रहेको र सो गाडी टेस्ला भएको उल्लेख गरेका छन् । उनले अन्य रिप्लाईमा प्रतिक्रिया दिंदै गाडीको क्याबिनमा कत्ति पनि पानी नपरेको दाबी गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १६:२३