टङ्क दाहालको सनसनिपूर्ण त्यो पोस्ट, जहाँबाट यसरी फैलियो संसद् भवनमा ३२ युवा मारिएको झुटो खबर
भदौ ३०, २०८२ २१:४४
काठमाडौँ । जेन-जी आन्दोलनको पहिलो दिन ८ सेप्टेम्बरमा संसद् भवन अघि राज्य पक्षबाट कम्तीमा १९ जना युवाको हत्या भयो । युट्युबर टंक दाहालले सोही दिन सामाजिक सञ्जाल एक्समा राति ८ः४७ बजेको समयमा एउटा पोस्ट राखे ।
उक्त पोस्टमा लेखिएको थियो, “संसद भवन भित्र ३२ जना जति बच्चाहरु लाई नियन्त्रण गरेर राखिएको छ भन्ने सुन्नमा आयो । तिनको स्थति पत्ता लगाएर तिनको सुरक्षाको व्यवस्था गरिदिनु हुन अनुरोध छ । ती बच्चा गायब नहुन भन्ने कामना ।”
यो पोस्टमा प्रयोग गरिएको भाषा-शैली याद गर्नुहोला ! र, यहाँ उल्लेख भएको ‘गायब’ भन्ने शब्द नबिर्सिनुहोला ! यसको प्रसंग यसपछिको विश्लेषणमा आउनेछ ।
उक्त पोस्ट एक्समा राखेको ४ मिनेटपछि अर्थात् बेलुका ८ः५१ बजे दाहालले फेसबुकमा सोही पोस्ट राखे । र, अन्तिममा ‘श्रोतः त्यही भित्रका प्रतक्षदर्शी’ भन्ने वाक्य थपे ।
त्यतिबेलासम्म यता एक्समा भने ‘श्रोतः त्यही भित्रका प्रतक्षदर्शी’ भन्ने वाक्य उल्लेख थिएन ।
त्यसपछि पहिले राखेको एक्स पोस्टमा त्यसको एक मिनेटपछि अर्थात् ८ः५२ बजे ‘श्रोतः त्यही भित्रका प्रतक्षदर्शी’ थपे । उक्त पोस्टमा उनले कसले नियन्त्रणमा राख्यो, कतिबेला राख्यो लगायतका विवरण खुलाएका थिएनन् ।
त्यही पोस्टको कमेन्टमा पनि केहीले ‘भ्रम नछर्नु’ भन्दै कमेन्ट गरेका थिए । खासगरी टंक दाहालले पोस्टमा राखेको ‘गायब’ शब्दलाई लिएर केहीले आपत्ति नै जनाएका थिए । “कसले गायब गर्छ हो हजुर ?” एक जना एक्स प्रयोकर्ताले उक्त पोस्टमा रिप्लाई गर्दै लेखेका थिए ।
त्यही पोस्टलाई रिपोस्ट गर्दै सन्तोष नाम गरेका प्रयोगकर्ताले १० सेप्टेम्बरमा ‘ओई मु** राख्या रैछन् त ? यस्तै भ्रमको खेती गरेर मान्छे उचालिस् हैन ?” लेखेका थिए ।
पारस ढकाल नामका अर्का प्रयोगकर्ताले १० सेप्टेम्बरमा सोही पोस्ट कोट गर्दै लेखे, “ओई मु** तैं हैनस् भ्रम फैलाउने अझै हटाएको छैनस पोस्ट ? हल्ला सुने पछि भेरिफाई गर्नु पर्दैन ?”
अर्का एक एक्स प्रयोगकर्ताले लेखेका छन्, “ओए टंके मु** ठगको झोले त पनि त्याँ बसेर यो सुन्नमा आयो त्यो सुन्नमा आयो भनेर आफ्नो वाह वाही हुन्छ भन्ने नसोच जाँ… हिम्मत भए देशमै आइज नत्र..”
त्यसपछि भने दाहालले एक्स र फेसबुकमा ३२ जना ‘बच्चाबच्ची’को विषयमा कुनै पनि पोस्ट राखेनन् । ‘त्यही भित्रका प्रतक्षदर्शी’ स्रोत भएका दाहालले ३२ जना ‘बच्चाहरू’को विषयमा पोस्ट त राखे, तर त्यसपछि कुनै पनि फलोअप पोस्ट नै गरेनन् । उनको यो पोस्ट पनि अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले कपी पेस्ट गर्दै फैलाए । त्यसैलाई आधार बनाएर टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा अनेकौँ भिडिओ पनि बने । प्रदर्शनको पहिलो दिनमै संसद भवनभित्र ३२ जनालाई बन्धक बनाएर राखिएको भन्ने सूचना व्यापक रूपमा फैलिसकेको थियो ।
९ सेप्टेम्बर अर्थात् प्रदर्शनको दोस्रो दिन युट्युबर भाग्य न्यौपाने, सुजन ढकाल लगायतले ३२ जना संसद् भवनभित्र मृत फेला परेको भन्दै अपुष्ट भिडिओ बनाएर पोस्ट गरे । उनीहरूको बोलीको शैली निकै सनसनीपूर्ण सुनिन्थ्यो । यस्तो भनेका थिए भाग्य न्यौपानेले, “हिजो बेपत्ता भएको ३२ जनाको शव संसद भवनभित्र चाहिं मृत अवस्थामा फेला परेको कुरा आएको छ । यो कोल्ले मार्यो, कसले मारेर त्याँ त्यसरी लुकायो, योभन्दा दुःखद् कुरा केही पनि छैन । आम्मामामा…।” हेर्नुहोस् टिकटक भिडिओ ।
त्यस्तै अर्का युट्युबर सुजन ढकालले पनि ३२ जनाको शव भेटिएको भन्दै भिडिओ बनाए । उक्त भिडिओमा ढकालले भनेका थिए, “एकदम दुःखद् खबर आएको छ । हिजो ३२ जना, जो भाइबहिनीहरू संसद भवनभित्र थुना गरेर राखेको भनेर भनेको थियो आज भनेको आगो लाउने क्रममा ३२ जनै भित्र संसद भवनभित्र मृत अवस्थामा फेला भनेर न्युज आएको छ । आम्मामा हेर्नु त, ३२ जना, डाँकाहरूले गर्न त हिजो पनि त्यत्रो जनालाई मारे । आज पनि ३२ जनाभित्र मृत्यु भन्ने कुरा आएको छ । एकदमै दुःखद् । हो, जे गरिरहेका छन् जेनजीले एकदम ठिक गरिरहेका छन् । के भन्नुहुन्छ तपाईंहरू लाइक गरेर जतिसक्दो शेयर गर्नुहोला, सबैजनाले हेर्नुस् है ।” हेर्नहोस्, उनले बनाएको भिडिओ बाट तयार पारिएको टिकटक भिडिओ ।
अर्थात् अघिल्लो दिन संसद भवनभित्र नियन्त्रणमा परे भनिएकाहरू त्यस दिन मृत भेटिएको भन्ने आशय ढकालको थियो ।
त्यसरी सामाजिक सञ्जालमा ३२ जना मृत फेला परेको भन्ने पोस्ट भाइरल भएपछि टेकपाना फ्याक्टचेक डेस्कले मङ्गलबार राति १०ः४४ बजे तथ्यजाँच प्रकाशन गरेको थियो । हेर्नुहोस् फ्याक्टचेक ।
त्यस क्रममा ३२ जनाको शव भेटिएको भन्ने दाबी अपुष्ट रहेको टेकपानाको निष्कर्ष थियो । १० सेप्टेम्बरमा नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संसद भवनभित्र ३२ जनाको शव भेटिएको’ भन्ने दाबी मिथ्या रहेको प्रस्ट पार्यो ।
दाहालको ३२ जना बच्चाहरू गायब पारिनसक्ने सनसनिखेज ‘मसला’ उनीहरू मारिएको खबरमा परिणत भइसकेको थियो । तर त्यति हुँदा पनि टंक दाहालले ‘३२ जना बेपत्ता’ भन्ने पोस्टसँग सम्बन्धित कुनै पनि फलोअप पोस्ट राखेनन् ।
कान्तिपुर दैनिक र ईकान्तिपुर डटकममा आइतबार, १४ सेप्टेम्बरमा ‘‘संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला’ भन्दै अपुष्ट समाचार फैलाउने यी अनुहार’ शीर्षकको समाचार प्रकाशित भयो । उक्त समाचारको फिचर फोटोमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाल र सुजन ढकालको फोटो राखिएको छ ।
समाचारभित्र टंक दाहालले स्टाटसमा जे लेखेका थिए, त्यसैलाई जस्ताको तस्तै राखिएको छ । उक्त समाचारमा टंक दाहालले पोस्ट ‘३२ जना बच्चाहरू नियन्त्रण’ भन्ने पोस्ट राखेपछि उक्त पोस्ट तोडमोड हुँदै ‘३२ जना’ मृत भेटिए भन्ने पोस्टसम्म पुगेको आशय उल्लेख गरिएको छ । कान्तिपुरले कतै पनि दाहाललाई ‘संसद भवनभित्र ३२ जना मृत भेटिएको’ कुरामा कोट गरेको छैन ।
कान्तिपुरमा समाचार आएपछि बल्ल दाहालले आफ्नो बचाउमा सोमबार बिहान युट्युबमा कान्तिपुरको सोही समाचारलाई लिएर ‘भ्रमको खेति कसले गरेको हो ? सत्य हेर्नुस, आफै बुझ्नुस !’ शीर्षकको भिडिओ राखे ।
भिडिओमा उनले आफ्नो बचाउमा प्रस्तुत गरेका भनाइः
- संसद भवनभित्र ३२ जना बच्चाहरूलाई नियन्त्रण गरेर राखेको सत्य हो ।
- मैले कतै पनि ती ३२ जनालाई मारियो भनेको छैन । तिनलाई समातेर राखेको छ । तिनको अवस्था सार्वजनिक होस् । र, उनलाई केही पनि तलमाथि नहोस् भन्नु के गल्ती हो र ?
- त्यही संसद भवनभित्रै काम गर्ने एक जना कर्मचारीबाट मैले त्यही दिन यो खबर पाएको हुँ । त्यही दिन राति, जतिबेला यी मानिसहरू, यी युवाहरू हिरासतमा थिए । त्यहाँभित्र थुनेको कुरा सत्य हो । त्यहाँ ड्युटीमा खटिएका प्रहरी र कर्मचारीसँग सोध्दाखेरि अहिले पनि थाहा हुने कुरा हो यो ।
- मैले त्यो स्टाटस लेखेकै कारण छोडिएको हो भन्नेतर्फ उहाँ (स्रोत) को इसारा इङ्कित छ ।
- मलाई उल्टै ३०-३२ जनाको ज्यान जोगाइस् अथवा तिनीहरूलाई रिहा गराउनमा मद्दत गरिस् भनेर स्याबास् दिनुपर्ने ठाउँमा कान्तिपुरले मलाई हल्ला फैलायो भन्ने भ्रम फैलायो भन्ने लिस्टमा राखेको छ ।
- ‘खबर अनुसार त्यही राति आधा जति र बाँकीलाई भोलि पटक त्यहाँभित्रका मानिसहरू छोडिएको कुरा छ । मारिएको कुरा सत्य होइन । मैले बोलेको पनि छैन मारियो भनेर ।
उनले ‘संसद भवनभित्र थुनिएका’ भन्दै फेसबुक भिडिओको क्लिप आफ्नो भिडिओमा प्रयोग गरेका छन् । र, त्यसको लिङ्क डिस्क्रिप्सनमा राखेका छन् । “...त्यो दिन त्यहाँ (संसद् भवन) भित्र दुई तीन जनाले बोलेको क्लिप म यसपछाडि देखाउँदैछु । उहाँहरूकै मुखबाट एकपटक सुन्नुस् । फुल क्लिपको लिङ्क मैले तल राखिदिएको छु । त्यो फुल लिङ्क पनि हेर्नुहोला उहाँहरूको कुरा । यो पहिलो क्लिप उहाँका बुबाले बोल्दै हुनुहुन्छ । सुन्नुस्,” उनले भनेका छन् । त्यसपछि ‘पूर्वमहासेनानी समेत रहेका माधवसुन्दर खड्का’ले रिपोर्ट्स क्लबमा बोलेको सानो क्लिप राखिन्छ । “...मेरो छोरा बन्दी बनेको छ संसद भवनभित्र…” माधवसुन्दर खड्काले बोलेको सुनिन्छ । दाहालले यस भिडिओको लिङ्क डिस्क्रिप्सनमा राखेका छन् ।
त्यसपछि दाहाल भन्छन्, “यो दोस्रो क्लिप त्यहाँभित्र थुनिएकैमध्येको एक…।” दोस्रो क्लिपमा एक युवकले राष्ट्रिय झण्डा काँधमा बोकेर बोलिरहेका देखिन्छन् । उनी भन्छन्, “...पाँच घण्टा संसद भवनमा सिमेन्टमा यसरी बस्न लगाएर टाउको तल गर्न लगाएर बन्दुक हाम्रो टाउकोमा राखेर तँहरू हल्लिस भने तलाई मारदिन्छु भनेर त्यसपछि हाम्रो नागरिकता, हाम्रो जे जे आईडीकार्ड थियो त्यो सब च्यातेर अबदेखि तेरो केही आइडेन्टिफिकेसन छैन । अब तँ टेरोरिस्ट हो भनेर हामी सबलाई…”
त्यसपछि दाहाल तेस्रो क्लिप देखाउनुअघि भन्छन्, “यो तेस्रो क्लिप पनि त्यहाँ थुनिएकै मध्ये एकले बोल्दै हुनुहुन्छ । हेर्नुहोला ।”
त्यसपछि भिडिओमा कालो श्यान्डो, सेतो ट्राउजर लगाएका युवक देखिन्छन् । र, दोस्रो क्लिपमा देखिएका युवकले जसरी भूईंमा घुँडा टेकेर भनेका थिए त्यसरी नै भन्छन्, “त्यहाँ हामीलाई नील गरेर पाँच घण्टा यसरी, टाउको तल राखेर नील गर्न लगाएर माथि हेरिस् भने तलाई जानेछु, मारदिन्छु भनेर गन कक गरेर हामीलाई पुरै घेरेको थियो हामीलाई । ३० जना जति थियौं…”
त्यस लगत्तै दाहाल भन्छन्, “यसका अरू पनि क्लिप छन्…”
अब उक्त क्लिपमा देखिएका युवकको चर्चा गरौँ । उनैले राखेको भिडिओको डिस्क्रिप्सनमा पुरा भिडिओ हेर्दा ती युवक आफ्नो नाम ‘साम्राज्य खड्का’ बताउँछन् । ‘क्राइम टिभी नेपाल’ नामक फेसबुक पेजका प्रस्तोताले ती युवकको परिचय दिँदा साम्राज्य खड्का पूर्व कर्णेल माधवसुन्दर खड्काका छोरा हुन् भनेर चिनाउँछन् ।
अर्थात् दाहालले थुनिएका एक युवकका बुबा भनिएका व्यक्ति साम्राज्य खड्काका बुबा पूर्व कर्णेल माधवसुन्दर खड्का हुन् । अब तेस्रो क्लिपको चर्चा गरौँ । तेर्सो क्लिपमा देखिएका युवक पनि साम्राज्य खड्का नै हुन् । त्यस भिडिओमा भने उनले राष्ट्रिय झण्डासँगै ह्याट लगाएका छैनन् । तर, त्यही कालो श्यान्डो लगाएका देखिन्छन् । दाहालले फरक फरक भनेका व्यक्ति दुई नभई एकै हुन् भने अर्का व्यक्ति तिनै युवकका बुबा हुन् ।
माधवसुन्दर खड्काको फेसबुक अकाउन्टबाट पनि साम्राज्य खड्का उनकै छोरा हुन् भन्ने पुष्टि हुन्छ ।
माधवसुन्दर खड्काले ९ सेप्टेम्बर बिहान १ बजेर ५४ मिनेट जाँदा अपलोड गरेको एक भिडिओमा टंक दाहालकै स्टाटस राखिएको छ । हेर्नुहोस् भिडिओ ।
उनले सो भिडिओ सबनम राई नामक टिकटकरको आईडीबाट डाउनलोड गरेका थिए । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २० हजार बढी लाइक र चार लाख बढी भ्युज आएको छ । (हेर्नुहोस् टिकटक भिडिओ)
त्यसैको बिहान आठ बजे उनी संसद भवन अगाडि पुग्छन् ९ सेप्टेम्बरको बिहान केटीएम दैनिक नामक फेसबुक पेजले अपलोड गरेको भिडिओमा उनी आफ्नो छोरा संसद भवनभित्र बन्दी बनेको दाबी गर्छन् । हेर्नुहोस् भिडिओ ।
अर्थात् राति झन्डै दुई बजे उनले टंक दाहालको पोस्टलाई आधार बनाएर एक महिलाले टिकटकमा राखेको भिडिओ अपलोड गरेका थिए भने बिहान ८ बजे आफ्नो छोरा त्यही भएको भन्दै संसद भवन क्षेत्रमा छोरा खोज्न पुगिसकेका थिए ।
टिकटकमा ‘बलदेव सिवाकोटी’ले अपलोड गरेको एक भिडिओमा माधवसुन्दर खड्काले संसद भवन अगाडि गई मेरो छोराको लास चाहियो भनिरहेका छन् । “...सबै हस्पिटलमा छैन । अहिले बिहान आएर सिभिल हस्पिटलमा हेरेँ, बेपत्ता छ,” संसद भवन देखाउँदै उनी अगाडि भन्छन्, “मेरो छोरासहित ३० जनाको लास भित्र छ भन्ने मैले अपुष्ट खबर प्राप्त गरेको छु । मेरो छोराको तुरुन्तै लास चाहियो ।”
भिडबाट अर्का एक जना भन्छन्, “संसद भवनभित्रै छ ?”
त्यसपछि खड्का भन्छन्, “त्यही सुनेको छु । ३० जनालाई थुनेर राखेको छ भने मारेको छ कि के छ … ३० जना सहित उनीहरूले धेरै मान्छे मरे भनेर …”
अर्थात् राति १ बजेकै पोस्टको आधारमा उनले आफ्नो छोरा संसद् भवनभित्र मारिएको हुनसक्ने आशङ्का गरेको देखिन्छ ।
९ सेप्टेम्बरदेखि नै संसद भवनभित्र ३२ जनाको शव भेटिएको भन्ने सूचना सामाजिक सञ्जालमा फैलिन थालिसकेको थियो । रातोपाटीले ८ सेप्टम्बर बेलुका साढे छ बजे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोरालाई उद्धृत गर्दै राजधानीबाट कूल ५४ जना पक्राउ परेको समाचार राखेको थियो । त्यस्तै, अनलाइन खबरको बेलुका ७ः०४ बजेको समाचारमा ४० जना पक्राउ परेको उल्लेख थियो । त्यसमा भने परिसरका डीएसपी मोहनमणि अधिकारीको भनाइ राखिएको थियो । हेर्नुहोस्, समाचार । हामीले यस बारे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक बोहोरालाई सम्पर्क गर्दा उनले स्पष्ट जवाफ दिएनन् । आन्दोलनका क्रममा प्रदर्शनकारी पक्राउ पर्नु सामान्य कुरा हो । पक्राउ पर्नुलाई गायब पारिन सक्ने भन्दै सनसनिपूर्ण बनाउनु उत्तेजना फैलाउने कुरा हो । जेन-जी आन्दोलनको पहिलो दिन ४०/५४ (सञ्चार माध्यम र स्रोत अनुसार सङ्ख्या फरक) जना पक्राउ परेको कुरा प्रहरीले नै सञ्चार माध्यमलाई जानकारी गराएको थियो ।
पूर्व कर्णेल माधवसुन्दर खड्काका छोरा साम्राज्य खड्काले भने क्राइम टिभी नेपाललाई दिएको अन्तर्वार्तामा ‘स्पेसल टास्क फोर्स’का प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको दाबी गरेका छन् । “हामी ३० जनालाई संसद भवनभित्र पिट्दै पिट्दै लगेर…” उनी आफ्नो शरीरमा भएका नील डाम देखाउँदै भन्छन्, “...त्यसपछि हामीलाई हिजो (सोमबार) पाँच घण्टा संसद भवनमा सिमेन्टमा यसरी बस्न लगाएर टाउको तल गर्न लगाएर…”
त्यस क्रममा उनले पाँच घण्टापछि प्रहरीले भद्रकाली लगेको बताएका छन् । तर, यसरी संसद भवनभित्र पाँच घण्टा बन्दी बनाएर राखेको भन्ने दाबी गर्ने अरू कसैको भिडिओ हामीले भेट्न सकेनौँ । कुनै प्रदर्शनकारीलाई संसद भवनभित्र बन्धक बनाइएको भन्ने भिडिओ, पोस्ट वा समाचार अन्यत्र आएको पनि देखिएन ।
सोही भिडिओका साम्राज्य खड्काले २४ घण्टा भित्र राखेर मङ्गलबार दिउसो सबैलाई छोडिएको दाबी गरेका छन् । “...त्यहाँ बाहिर आन्दोलन भइरहेको भएर पुलिसले तर्सेर हामीलाई निकालेको हो,” साम्राज्य खड्का भन्छन्, “१६० जनालाई पक्रेर राखेको थियो त्यहाँ संसद् भवनभित्र ।”
अगाडि ३० जना भन्ने साम्राज्य खड्का पछि बढाएर १६० जना पुर्याउँछन् । उनको आफ्नै भनाइमा स्पष्ट छैन । त्यसपछि अन्तर्वार्ताकार जोड्छन्, “ए, तपाईंको ग्रुप चाहिं ३० जनाको थियो जतिखेर संसद भवनमा तपाईंहरूलाई भित्र लग्यो । भित्र लगेर पाँच घण्टासम्म टर्चर दियो…” साम्राज्य प्रस्तोताको भनाइमा होमा हो मिलाउँछन् । र, आफूलाई गोली ताक्ने प्रहरी इन्स्पेक्टर एके शर्मा भएको दाबी गर्छन् ।
अब टंक दाहालले आफ्नो भिडिओमा गरेको दाबी तर्फ फर्कौँ । उनले ‘३२ जना संसद भवनभित्र थुनिएको सत्य हो’ भनेका छन् । तर, कतैबाट पनि ३२ जना थुनिएको पुष्टि हुँदैन । दोस्रोमा उनले आफूले कतै पनि ३२ जनालाई मारिएको भन्ने भनेको छैन भनेका छन् । टंक दाहालले संसद भवनभित्र ३२ जना मारिए भनेर पोस्ट राखे भन्दै कसैले समाचार बनाएको पनि छैन । उनले आफ्नो पोस्टको अन्तिम लाइनमा राखेको विचार ‘गायब नहुन भन्ने कामना’ सनसनीपूर्ण छ । यसैलाई आधार मानेर धेरैले पोस्ट बनाएर र भोलिपल्ट ९ सेप्टेम्बर बिहानसम्म ३२ जना मारिएको भन्ने भ्रामक सूचना बनेर फैलियो । सबैभन्दा पहिले ‘संसद भवनभित्र ३२ जना बच्चाहरू नियन्त्रणमा’ भन्ने पोस्ट उनै टङ्क दाहालले राखेका थिए । यो विषय दाहालभन्दा अघि अरू कसैले पनि पोस्ट गरेको थिएन । आफ्नो ‘३२ जना बच्चा’सँग सम्बन्धी पोस्ट भाइरल बने पनि उनले त्यसपछि अर्को कुनै फलोअप दिएनन् ।
दाहालले आफ्नो स्टाटसकै कारण राति नै ३२ जनालाई छोडिएको भन्ने आशय उनको स्रोतले दिएको दाबी गरेका छन् । तर, उनैले प्रमाण भन्दै प्रस्तुत गरेका साम्राज्य खड्काले कतै पनि राति छोडेको कुरा गरेका छैनन् । पाँच घण्टा संसद भवनभित्र राखेको र त्यसपछि भद्रकाली लगेर २४ घण्टा राखेको उनको भनाई छ । त्यसोभए टंक दाहालले पोस्ट राख्नासाथ संसद भवनभित्र नियन्त्रणमा परेका ३२ जनामध्ये को छुटे ? अहिले ३२ जना छुटाउन आफ्नै पोस्टले भूमिका खेलेको दाबी गर्ने दाहालले ती बच्चाबच्ची छुटेकै बेला किन फलोअप पोस्ट राखेनन् ? पोस्टका कारण ९ सेप्टेम्बरको राति नै ३२ जना छोडिएको सूचना संसद्भित्र रहेको भनिएको उनको स्रोतले दिएको थियो भने सो विषय किन खुलाएनन् ?
फेरि उनले आधा जति त्यही रात छुटेका र बाँकीलाई भोलिपल्ट छोडिएको दाबी गरेका छन् । त्यसोभए उनले आधार बनाएका साम्राज्य खड्काले कसरी आफू पाँच घण्टा संसद भवनभित्र नियन्त्रणमा भएको र २४ घण्टासम्म भद्रकालीमा प्रहरीको नियन्त्रणमा भएको दाबी गरे ?
यी सबै तथ्यबाट के थाहा हुन्छ भने टंक दाहालले प्रमाण भन्दै राखेका तीन ओटा क्लिप एउटै परिवारका सदस्यसँग सम्बन्धित छन् । जसमध्ये दुई ओटा एउटै व्यक्तिका हुन् । र, अभिभावक भनिएका व्यक्ति पनि तिनै युवकका बुबा हुन् । उनले कान्तिपुरले आफ्नो नाम जोडेको भनेर भिडिओमा आक्रोश पोखेका छन् । तर, ‘संसद भवनभित्र ३२ जना नियन्त्रणमा परेको’ भन्ने सूचनाको उद्गम आफै हो भन्ने बिर्सिएका छन् । र, अडियन्सलाई बहकाउन खोजेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ २१:४६
