close

मानवीय संवेदना बिर्सिएर भ्युज र फलोअरको लोभमा सामाजिक सञ्जालमा विपिन जोशीबारे भ्रमको खेती

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक ४, २०८२ १४:४७

मानवीय संवेदना बिर्सिएर भ्युज र फलोअरको लोभमा सामाजिक सञ्जालमा विपिन जोशीबारे भ्रमको खेती

काठमाडौँ । हमासले बन्धक बनाएकै अवस्थामा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको चिता महाकाली नदीको बगरमा जलिरहँदा यता सामाजिक सञ्जालमा उनीबारे भ्रमको डढेलो सल्किरहेको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सुन्दर भविष्यको सपना बोकेर दुई वर्षअघि इजरायल पुगेका विपिनसहित कैयौँ नेपाली विद्यार्थी इजरायल-हमास विद्रोहको क्रूर चपेटामा परे । 

आक्रमणको पहिलो दिनमै १० नेपाली विद्यार्थीले ज्यान गुमाए भने कञ्चनपुरका विपिन हमासको अपहरणमा परे । महिनौँसम्म उनको अवस्था अज्ञात रह्यो । हालै उनको मृत्युको खबर पुष्टि भयो र उनको शव नेपाल ल्याएर महाकालीमा अन्त्येष्टि गरिरहँदा सिङ्गो देश नै शोकमा डुबेको छ । तर, भ्युज र फलोअरको भोकमा डुबेका केही सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि यो शोक पनि व्यापार गर्ने माध्यम बन्यो ।

विपिनको अवस्था अज्ञात रहेका ती कहालीलाग्दा दिनमा उनको परिवारले निकै पीडा भोग्नु पर्‍यो । उनकी बहिनी पुष्पा जोशी र आमाले उनलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गरे । पुष्पाले सामाजिक सञ्जाल टिकटकलाई नै आफ्नो दाजुको रिहाइको आवाज उठाउने मञ्च बनाइन् । अङ्ग्रेजीमा भिडिओ बनाएर अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिन्, नेपालीमा बोलेर दाजुको अवस्थाबारे जानकारी दिइरहिन् । दाजुको अवस्थाबारे आइरहेका विभिन्न अपुष्ट सूचना खण्डन गरिरहिन् । 

उनका हरेक भिडिओमा एउटा बहिनीको छटपटी र दाजु फर्किएला भन्ने आशाको त्यान्द्रो झल्किन्थ्यो । विपिनको मृत्यु पुष्टि भएको समाचार आएदेखि अन्त्येष्टि भइसक्दासम्म पुष्पाका सामाजिक सञ्जालका अकाउन्ट निष्क्रिय छन् । तर, यही संवेदनशील घडीमा केही मानिसले उनको परिवारको पीडालाई आफ्नो ‘रिच’ र ‘भ्युज’ बढाउने हतियार बनाए । हमासले बन्धक बनाएका कुनै अपरिचित युवाको भिडिओ बाहिरिँदा ‘विपिन यस्तो अवस्थामा भेटिए’ भन्दै हल्ला फैलाइयो । स्वयम् पुष्पाले बारम्बार त्यस्ता भ्रामक सामग्रीमा विश्वास नगर्न अपिल गरिरहिन्, तर संवेदनाको बजारमा हल्ला नै बिकिरह्‍यो ।



संवेदनहीनताको पराकाष्ठा यतिमै रोकिएन । विपिनको शव इजरायलबाट ल्याइरहँदा एआई दुरुपयोग गरेर विपिन र उनको परिवारको भावनामाथि निर्मम प्रहार गरियो । ‘गगन बहादुर शाही’ नामको एक फेसबुक प्रयोगकर्ताले विपिन र बहिनी पुष्पा अङ्गालोमा बाँधिएको र लगत्तै एकआपसमा लडिरहेको एआई-सिर्जित भिडिओ पोस्ट गर्दै त्यसलाई चार वर्ष पुरानो घटनाको रूपमा प्रस्तुत गरे । 

एउटा शोकाकुल परिवारको यादलाई यसरी कुरूप बनाएर प्रस्तुत गरिँदा सामाजिक सञ्जालमा आक्रोश पनि देखियो । देवी खड्का नामकी एक प्रयोगकर्ताले आफ्नो धारणा राख्दै लेखिन्, “सिङ्गो देश नै शोकमा डुबेको बेला यस्तो भ्रम फैलाउने मूर्खलाई कारबाही होस् ।” त्यस्तै सरोज निरौलाको टिप्पणी थियो, “कस्ता कस्ता मानवीय सोच भएको हुन्छन् यो संसारमा हे भगवान ! सिङ्गो देश निराशामा परेको बेला जे पायो त्यही बनाउँछ भिडिओ ।” 

ती प्रयोगकर्ताको प्रोफाइल हेर्दा उनले भ्युजका लागि जे पनि गरेको देखिन्छ; कहिले विपिन जीवित भएको र ७२ घण्टामै रिहा हुने दाबी, कहिले श्रद्धाञ्जली, त कहिले असम्बन्धित भिडिओलाई विपिनकै घटना भनेर भ्रमको खेती गरिरहेको पाइन्छ ।

यो क्रूर सिलसिला यतिमै रोकिएन । ‘भ्लग प्रतीक’ नामक अर्का प्रयोगकर्ताले त एआईबाटै विपिनले आफ्नी आमा र बहिनीलाई भेटेर अङ्गालो मारेको भिडिओ बनाएर पोस्ट गरे । त्यो भ्रामक भिडिओको क्याप्सनमा लेखिएको थियो, “यसरी अँगालो मार्ने दिन आएन, के गर्नु आमा बहिनीको ! भगवान पनि कति निठुरी रहेछन् हे प्रभु ।” यो भिडिओले परिवारको घाउमा नुनचुक छर्किने काम मात्र गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ । एक प्रयोगकर्ता सुष्माले कमेन्टमा लेखिन्, “परिवार, समाज र देश समग्र शोकमा डुबेको बेला मानवीय संवेदना बिर्सिएर यस्तो भिडिओ पोस्ट नगर्नुस् न ।”

अधिकांश टिप्पणीले यस्ता एआई-सिर्जित भिडिओले शोकाकुल परिवारलाई झनै अप्ठ्यारोमा पार्ने तर्क गरेका छन् । कसैको मृत्यु र परिवारको वियोगलाई आफ्नो डिजिटल सामग्रीको मसला बनाउने यो प्रवृत्तिले हाम्रो सामाजिक चेतना खस्किंदै गएको धारणा सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका छन् ।

अझ कहालीलाग्दो त के छ भने विपिनकी बहिनी पुष्पा जोशीकै नाममा नक्कली टिकटक अकाउन्ट बनाएर भ्रमको जालो बुनिएको छ । यसअघि टेकपानाले विपिनकी बहिनी पुष्पाको नामबाट खोलिएका नक्कली अकाउन्टबारे सामग्री प्रस्तुत गरेको थियो ।


त्यसहीमध्येको ‘pushpajoshi550’ नामको एक अकाउन्टले अझै पनि आफूलाई पुष्पाकै आधिकारिक अकाउन्टका रूपमा प्रस्तुत गरेको देखिन्छ । उक्र अकाउन्टले एकातर्फ विपिनको मृत्यु भइसकेको विषयमा भिडिओ नबनाउन आग्रह गरेको छ भने अर्कोतर्फ ‘विपिन अझै जीवित छन्’ र ‘उनी फर्कने आशा छ’ भन्दै विरोधाभासपूर्ण सामग्री पोस्ट गरिरहेको छ । एउटा पोस्टमा अंग्रेजीमा लेखिएको छ, “कृपया गलत समाचार नफैलाउनुहोस्, यसले परिवारलाई थप पीडा दिन्छ... आधिकारिक खबर नआएसम्म हल्लाको पछि नलागौँ ।” यो लेखिरहँदा उता महाकालीमा विपिनको शव जलिसकेको छ । 

एउटा नक्कली अकाउन्टले आफै भ्रम फैलाउँदै अरूलाई भ्रम नफैलाउन उपदेश दिइरहेको देखिन्छ ! यस्ता अकाउन्ट तिनै हुन्, जो माहोलअनुसार आफ्नो नाम र कन्टेन्ट बदल्छन् र मानवीय संवेदनाको बजारमा आफ्नो भर्चुअल पसल चलाउँछन् ।

यी केही प्रतिनिधि सामाजिक सञ्जालका प्रयोगकर्ता मात्र हुन् । कुनै परिवारको शोकलाई आम्दानी र फलोअर बढाउने माध्यम बनाउनेहरू इन्टरनेटमा जताततै छरिएका छन् । 

महाकालीको किनारमा जलिरहेको विपिनको चिताको आगो यतिबेलासम्म निभिसक्यो तर सामाजिक सञ्जालमा भ्युजको लोभमा सल्काइएको यो संवेदनहीनताको आगो कहिले निभ्ने हो, भन्न सकिंदैन ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८२ १६:९