close

ट्रम्प फोनको अत्तोपत्तो छैन, कम्पनीले बेच्न थाल्यो महँगोमा रिफर्बिस्ड सामसङ र आईफोन

टेकपाना टेकपाना

मंसिर २१, २०८२ १६:५४

ट्रम्प फोनको अत्तोपत्तो छैन, कम्पनीले बेच्न थाल्यो महँगोमा रिफर्बिस्ड सामसङ र आईफोन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कम्पनी ट्रम्प मोबाइलले ल्याउने भनेको ‘ट्रम्प फोन’ (टी वन) हालसम्म अस्तित्वमै नभएको पुष्टि भइसकेको छ । तर, यस कम्पनीले आफ्नो अनलाइन स्टोरमार्फत अन्य फोन भने बिक्री गर्न थालेको छ । कम्पनीले हाल एप्पल र सामसङका ‘रिफर्बिस्ड’ अर्थात् पुराना तर मर्मत गरिएका ह्यान्डसेट बिक्रीमा राखेको छ ।

द भर्जका पत्रकार डोमिनिक प्रेस्टनले गरेको विश्लेषण अनुसार ती फोनको मूल्य बजार भाउभन्दा निकै महँगो रहेको छ । हालै गरिएको एक परीक्षणमा ट्रम्प मोबाइलको सिम कार्डले टी-मोबाइलको नेटवर्क प्रयोग गरेर राम्ररी काम गर्ने पुष्टि भए पनि कम्पनीको वेबसाइटबाट फोन किन्नु भने घाटाको सौदा हुने देखिएको छ ।

ट्रम्प मोबाइलको अनलाइन स्टोरमा हाल चार ओटा पुराना मोडेलका फोन सामसङ ग्यालेक्सी एस २३ र एस २४ तथा आईफोन १४ र १५ बिक्रीमा राखिएका छन् । यी फोन सम्बन्धित कम्पनीका नयाँ वा ‘फल्यागसिप’ मोडेल होइनन् भने ग्राहकले यी फोनका ‘प्रो’, ‘अल्ट्रा’ वा ‘प्लस’ भर्सन समेत किन्न पाउँदैनन् । केवल १२८ जीबी स्टोरेज र प्रायः एउटै अर्थात् कालो कलरमा मात्र यी बेस मोडेल उपलब्छ छन् ।

मूल्यका हिसाबले तुलना गर्दा ट्रम्प मोबाइलका फोनहरू अन्य बजारको तुलनामा कत्ति पनि किफायती छैनन् । कम्पनीले रिफर्बिस्ड आईफोन १४ लाई ४८९ डलर (करिब ७० हजार रुपैयाँ) र आईफोन १५ लाई ६२९ डलर (करिब ९० हजार रुपैयाँ) तोकेको छ । यता एप्पल आफैँले रिफर्बिस्ड आईफोन १५ लाई ५२९ डलर (करिब ७६ हजार रुपैयाँ) मा बेच्छ । यो भनेको ट्रम्प मोबाइलभन्दा १०० डलर (१४ हजार रुपैयाँभन्दा बढी) सस्तो हो । अमेजन र बेस्ट बाइ जस्ता साइटमा त यी फोन ३०० देखि ४०० डलरको हाराहारीमै पाइन्छन् । 

त्यसैगरी सामसङका फोनमा पनि ट्रम्प मोबाइलको मूल्य अमेजन र अन्य बजारमा पाइने २५० डलर (झन्डै ३६ हजार रुपैयाँ)को हाराहारीको मूल्यभन्दा निकै महँगो छ ।

महँगो मूल्य तिरे पनि ग्राहकले राम्रो सेवा पाउने कुनै सुनिश्चितता छैन । एप्पल वा अन्य विश्वसनीय बिक्रेताले रिफर्बिस्ड फोनमा एक वर्षको वारेन्टी दिने गरे पनि ट्रम्प मोबाइलले वारेन्टीबारे कतै उल्लेख गरेको छैन र मर्मतमा आधिकारिक पार्टपुर्जा प्रयोग भएको बारे पनि स्पष्ट पारेको छैन । वेबसाइटमा तीन वर्ष पुरानो आईफोन १४ लाई ‘आईफोन १४ रिन्युन्ड किन्ने पहिलो व्यक्ति बन्नुस्’ जस्ता भ्रामक विज्ञापन राखिएका छन् । 

ट्रम्प मोबाइलले विभिन्न किसिमका भ्रामक विज्ञापन प्रयोग गरी प्रचारबाजी गर्दै आएको छ । यसअघि कम्पनीले सामसङको एडिटेड फोटोलाई आफ्नो कम्पनीको नयाँ मोबाइल भन्दै प्रचार गरेको थियो ।




 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १६:५४