सरकारी साइट ह्याक गर्ने समूहका प्रमुखको ‘ज्यान जोखिममा’, ईमेलमार्फत प्रम समक्ष जीवनरक्षाको माग
माघ २, २०८२ १९:२८
काठमाडौँ । सरकारी वेबसाइटमा शृङ्खलाबद्ध साइबर आक्रमण गर्दै आएको समूह ‘नेपाली फर नेपाल’ का प्रमुख सन्देश अर्यालले आफ्नो ज्यान जोगाइदिन आग्रह गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ईमेल पठाएका छन् । शुक्रबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अर्यालले राज्यले सुरक्षाको ग्यारेन्टी गरे आफू कानुनी प्रक्रियामा आउन र आत्मसमर्पण गर्न तयार रहेको बताएका हुन् ।
‘जेन-जी’ विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको विरोध र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा उत्रिएको यो समूहले विभिन्न सरकारी निकायका वेबसाइटमाथि साइबर हमला गर्दै आएको थियो । यस समूहले निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, महान्यायाधिवक्ताको कार्यालय र नेपाल विद्युत् प्राधिकरण लगायतका वेबसाइटको ‘एक्सेस’ पाएको दाबी गर्दै आएको थियो ।
दुर्गा प्रसाईंकै उक्साहटमा ती ह्याकिङका घटना गराइएको उनले टेकपानासँगको कुराकानीमा स्वीकार गरेका छन् । दुर्गा प्रसाईंको पोल खोलेपछि अर्यालले अहिले भने आफ्नै ज्यान खतरामा रहेको भन्दै सुरक्षाको माग गरेका हुन् ।
प्रधानमन्त्रीलाई पठाइएको ईमेलमा अर्यालले आफू प्रचलित कानुन अनुसार स्वेच्छिक रूपमा भौतिक आत्मसमर्पण गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । “म राज्यका सम्बन्धित निकायसँग सहकार्य गर्न र कानुनी दायित्व वहन गर्न तयार छु,” उनले पत्रमा लेखेका छन्, “तर हाल मलाई केही अज्ञात समूहले शारीरिक क्षति पुऱ्याई प्रमाण नष्ट गर्ने वा सत्य दबाउने प्रयास गरिरहेकाले मेरो ज्यान गम्भीर जोखिममा छ ।”
अर्यालले राज्यबाट औपचारिक र लिखित सुरक्षाको सुनिश्चितता नपाएसम्म आफ्नो आत्मसमर्पण सुरक्षित नहुने जिकिर गरेका छन् । उनले ईमेलमार्फत सरकारसँग मुख्य चार बुँदे माग राखेका छन् । जसमा जीवन र शारीरिक अखण्डताको प्रभावकारी संरक्षण, कुनै पनि गैरकानुनी वा प्रतिशोधात्मक कार्यबाट सुरक्षा, राज्यको सुरक्षा संयन्त्रमार्फत सुरक्षित रूपमा उपस्थित हुने व्यवस्था र निष्पक्ष र पारदर्शी न्यायिक प्रक्रियाको सुनिश्चितता रहेका छन् ।
उनले यो अनुरोध कानुनी सजायबाट उम्कन नभई सुरक्षित रूपमा न्यायिक प्रक्रियामा सहभागी हुनका लागि गरिएको स्पष्ट पारेका छन् । “नेपाल सरकारबाट आवश्यक सुरक्षा सुनिश्चितता प्राप्त हुने बित्तिकै म तुरुन्तै सम्बन्धित निकाय समक्ष उपस्थित हुनेछु,” पत्रमा भनिएको छ ।
यसअघि अर्यालले विभिन्न सरकारी वेबसाइट ह्याक हुनुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको संलग्नता रहेको दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेका थिए । सोही प्रकरण र पछिल्लो राजनीतिक घटनाक्रमका बीच उनले अचानक प्रधानमन्त्रीलाई गुहार्दै आत्मसमर्पणको प्रस्ताव अघि सारेका हुन् ।
बुधबार टेकपानासँग कुरा गर्दै अर्यालले १२ देखि २४ घण्टाभित्र साइबर ब्युरोमा आफै उपस्थित हुने बताएका थिए । तर अहिलेसम्म उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका छैनन ।
टेकपानासँगको सम्पर्कमा आएका अर्यालले आफू साइबर ब्युरो गएको खण्डमा भौतिक आक्रमण गर्ने धम्की आएको बताए । 'साइबर ब्युरो गइस् भने तेरो आमा-बाउ, तेरो परिवार सुरक्षित रहँदैन' भन्दै अज्ञात व्यक्तिबाट आफूलाई भौतिक आक्रमणको चेतावनी आएको उनले सुनाए ।
पछिल्लो अध्यावधिक: माघ २, २०८२ १९:२८
