close

फेसबुकमा केपी ओलीका फलोअर एक मिलियन नजिक, २ दिनमै कसरी थपिए २,००,००० बढी ?

टेकपाना टेकपाना

माघ २१, २०८२ १८:३५

फेसबुकमा केपी ओलीका फलोअर एक मिलियन नजिक, २ दिनमै कसरी थपिए २,००,००० बढी ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पछिल्लो दुई दिनमा देखिएको अस्वाभाविक फलोअर वृद्धिले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । आइतबारसम्म सात लाख २९ हजार ३४४ फलोअर रहेको ओलीको पेजमा दुई दिनको छोटो अवधिमै दुई लाखभन्दा बढी फलोअर थपिएका छन् । 

फलोअर ट्रयाक गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म सोसल ब्लेडको तथ्याङ्क अनुसार सोमबार ओलीको पेजमा दुई हजार फलोअर बढेर सात लाख ३१ हजार ६१४ पुगेको थियो । तर, मङ्गलबार भने एकैपटक एक लाख ५३ हजारभन्दा बढी फलोअर थपिएर आठ लाख ८५ हजार ४७३ पुग्यो ।

यो वृद्धिको क्रम बुधबार पनि जारी रहँदै यो सामग्री तयार पार्दासम्म फलोअरको सङ्ख्या नौ लाख ५७ हजार नाघेको छ । 

ओलीको फेसबुक पेजमा भएको यो वृद्धिलाई टेकपानाले करिब दुई घण्टासम्म अनुगमन गर्दा अत्यन्तै शंकास्पद दृश्य देखिएको थियो । बुधबार दिउँसो २ बजेर २२ मिनेटमा उनको पेजमा नौ लाख २६ हजार फलोअर थिए । त्यसपछिको सात मिनेटमा हरेक मिनेट एक हजारका दरले फलोअर थपिँदै २ बजेर २९ मिनेटमा नौ लाख ३५ हजार पुगेको थियो । त्यसपछि हरेक दुई मिनेटमा एक हजार फलोअर बढ्ने क्रम २ बजेर ४१ मिनेटसम्म चल्यो, जहाँ सङ्ख्या नौ लाख ४६ हजार पुगेर रोकियो ।

करिब २५ मिनेटसम्म स्थिर रहेको यो सङ्ख्या ३ बजेर ६ मिनेटपछि पुनः ह्वात्तै बढ्न थाल्यो र १० मिनेटको अन्तरालमै नौ लाख ५७ हजार पुग्यो । निश्चित समयको अन्तरालमा तीव्र गतिमा बढ्ने र फेरि अचानक रोकिने यो प्रवृत्तिले फलोअर वृद्धि स्वाभाविक नभएको सङ्केत गरेको छ । हेर्नुहोस् भिडिओः

​यसअघि ओलीको फेसबुक फलोअरको अवस्था निकै उतारचढावपूर्ण रहेको थियो । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री ओलीबिचको विवादका क्रममा ओलीको पेजमा फलोअर ह्वात्तै घटेका थिए । बालेनले प्रदेश सांसद रेखा कुमारी शर्मामाथि कारबाहीको माग गर्दै गरेको पोस्ट फेसबुकबाट गायब भएपछि बालेन समर्थकहरूले ओलीको पेजलाई सामूहिक रूपमा ‘अनफलो’ गर्ने अभियान चलाएका थिए । आर्काइभ डट टुडेको विवरण अनुसार जुलाई २०२४ मा ६ लाख ८८ हजार फलोअर रहेकोमा बालेनसँगको विवाद र ‘अनफलो’ अभियानपछि ओलीको फलोअर घटेर पाँच लाख ९० हजारको हाराहारीमा पुगेको थियो ।

लामो समयसम्म दैनिक एक हजारको औसतमा फलोअर बढिरहेको अवस्थामा १ फेब्रुअरीपछि अचानक भएको यो वृद्धिले सञ्जालमा बहस सिर्जना गरेको छ । फेसबुकमा १० लाख फलोअर पुर्‍याउनुको पछाडि एउटा विशेष प्राविधिक रणनीति लुकेको हुनसक्ने विश्लेषण सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् । 

टेकपाना फ्याक्टचेक डेस्कले हालै एक तथ्यजाँच गर्दै १० लाखभन्दा बढी फलोअर भएका पेजमा आउने रियाक्सनलाई फेसबुकले डिफल्ट रूपमा एन्ड्रोइड, विन्डोज र म्याक ओएसमा लुकाइदिने गरेको तथ्य बाहिर ल्याएको थियो । यसो हुँदा कुन व्यक्तिले रियाक्सन गर्‍यो वा ती रियाक्सन वास्तविक हुन् कि बोट (फेक) अकाउन्टबाट गरिएका हुन् भन्ने कुरा सर्वसाधारणले स्पष्ट रूपमा देख्न पाउँदैनन् । यही प्राविधिक सुविधाको फाइदा उठाउन ओलीको टिमले ‘क्लिक फार्मिङ’ मार्फत फलोअर बढाएको हुनसक्ने आशङ्का सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् । 

नेपाल सोसल सबरेडिटमा ‘rastrabadi’ युजरनेमका एक प्रयोगकर्ताले ओलीको रणनीतिमाथि प्रश्न उठाउँदै लेखेका छन्, “ताकि उनले आफ्ना पोस्टमा पैसा तिरेर किनिएका ‘बोट’ लाइक लुकाउन सकून् । जब कसैको १० लाख फलोअर पुग्छन्, तब मानिसले पोस्टमा गरिएका रियाक्सन वास्तविक व्यक्तिले गरेका हुन् वा पैसा तिरिएका बोट अकाउन्टबाट गरिएका हुन् भन्ने कुरा देख्न सक्दैनन् ।” 

ओलीको फेसबुक पेजमा फलोअर जुन शैलीमा बढेका छन्, त्यसले सामाजिक सञ्जालमा चर्को आलोचना निम्त्याएको छ। फलोअर किनेको भन्दै आलोचना सुरु भएपछि अस्वाभाविक रूपमा बढिरहेको सङ्ख्या घण्टौंसम्मका लागि स्थिर हुनु र फेरि निश्चित अन्तरालमा बढ्नुले यो प्रक्रिया स्वभाविक नरहेको देखिन्छ । 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ २०:४२