सरकारी हक टुटाएर स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरेको आरोपमा थप २ जना पक्राउ
बैशाख २५, २०८३ २२:५३
काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२२, पाको न्युरोड स्थायी ठेगाना भई हाल ललितपुरको झम्सीखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका-१२ घर भई हाल ललितपुरको धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन् ।
उनीहरूलाई सोमबार क्रमशः काठमाडौँको जमल र ललितपुरको बखुन्डोलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि उक्त लाइसेन्स स्वतः रद्द भएको थियो । दूरसञ्चार ऐन २०५३ र 'अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९' को नियम १८ बमोजिम लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र नेटवर्क दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा पुगेको थियो ।
यसरी सरकारी नियन्त्रणमा आइसकेको सम्पत्तिलाई नेपाल सरकारको हक टुटाउने र बेइमानीपूर्वक फाइदा लिने उद्देश्यले गैरकानुनी रूपमा लिलामी गर्ने प्रक्रियामा संलग्न भएको भन्दै प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई हिरासतमा राखिएको छ । यसअघि यही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
राज्यलाई करिब सात अर्ब रुपैयाँ राजस्व तिर्न बाँकी रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी एनसेललाई विक्री गरिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार:
आफ्नो नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति ४ अर्ब ६० करोडमा एनसेलले लिँदा प्राधिकरण मूकदर्शक
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ २३:५
