close

नियम आफैँ बनाउने, आफैँ तोड्ने ! सरकारी ईमेल छाडेर जिमेल प्रयोग गर्दै सञ्चार मन्त्रालय

टेकपाना टेकपाना

बैशाख २६, २०८३ १७:२

नियम आफैँ बनाउने, आफैँ तोड्ने ! सरकारी ईमेल छाडेर जिमेल प्रयोग गर्दै सञ्चार मन्त्रालय

काठमाडौँ । सरकारी निकायहरूले आधिकारिक ईमेल प्रणालीको सट्टा व्यक्तिगत जिमेल प्रयोग गर्ने प्रवृत्तिबारे पटक-पटक आलोचना हुँदै आए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्वयंले नै यस्तो अभ्यास दोहोर्‍याएको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गर्दा मन्त्रालयले सरकारी ईमेलको सट्टा जिमेल प्रयोग गरेपछि यस विषयमा पुनः प्रश्न उठेको हो ।

मन्त्रालयले २६ वैशाखमा प्रकाशित सूचनामार्फत प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि आवेदन खुला गर्दै जिज्ञासा वा थप जानकारीका लागि ‘[email protected]’ मा सम्पर्क गर्न उल्लेख गरेको छ ।

सूचना प्रविधि क्षेत्रको नीति निर्माण तथा नियमन गर्ने मुख्य सरकारी निकायले नै सरकारी ईमेल प्रणालीभन्दा बाहिरको निःशुल्क सार्वजनिक ईमेल सेवा प्रयोग गरेको भन्दै यसको औचित्यमाथि प्रश्न उठाइएको छ ।

मन्त्रालय मातहतकै सूचना प्रविधि विभागले सरकारी निकायका लागि केन्द्रीकृत ईमेल व्यवस्थापन प्रणाली (@nepal.gov.np) सञ्चालन गर्दै आएको छ । सरकारी कार्यालयहरूले सोही प्रणालीमार्फत आधिकारिक ईमेल प्रयोग गर्नुपर्ने व्यवस्था रहे पनि मन्त्रालयले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको देखिएको हो ।

सरकारी कामकाजमा जिमेलको प्रयोग सुरक्षाका दृष्टिले जोखिमपूर्ण मानिन्छ । पहिलो व्यक्तिगत जिमेलको डेटा विदेशी सर्भरमा भण्डारण हुने भएकाले राष्ट्रिय सुरक्षा र संवेदनशील सरकारी सूचना चुहावटको जोखिम रहन्छ र यसमा सरकारको पूर्ण स्वामित्व हुँदैन । दोस्रो, ‘@gmail.com’ डोमेनबाट पठाइएका ईमेल आधिकारिक र व्यावसायिक नहुने हुँदा नक्कली ईमेलमार्फत साइबर ठगीको सम्भावना बढ्छ । तेस्रो, कर्मचारीको सरुवा वा अवकाशपछि व्यक्तिगत जिमेलमा रहेका महत्त्वपूर्ण कागजात र पत्राचारमा कार्यालयको नियन्त्रण रहँदैन । यसले गर्दा संस्थागत अभिलेख नै गुम्ने खतरा रहन्छ ।

आधिकारिक डोमेन प्रयोग गर्दा ईमेलको प्रमाणीकरण, ट्र्याकिङ, अडिटिङ र साइबर सुरक्षा व्यवस्थापन प्रभावकारी हुने भएकाले सार्वजनिक ईमेल सेवाको प्रयोगलाई निरुत्साहित गरिनुपर्ने जानकारहरूको धारणा छ ।

यस विषयमा आधिकारिक धारणा बुझ्नका लागि मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगर र सूचना अधिकारी रबिन्द्रप्रसाद पौड्याललाई सम्पर्क गर्दा उनीहरूको फोन उठेन ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ १९:१९