close

मेटाको रे-बन स्मार्ट ग्लासबाटै अब ह्वाट्सएप र मेसेन्जरमा भिडिओ कल गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १३:३३

मेटाको रे-बन स्मार्ट ग्लासबाटै अब ह्वाट्सएप र मेसेन्जरमा भिडिओ कल गर्न सकिने

काठमाडौं । मेटाले एआईमा आधारित रे-बन स्मार्ट ग्लास (चस्मा) मा नयाँ अपडेट ल्याउने भएको छ । यसअन्तर्गत कम्पनीले चस्माबाटै ह्वाट्सएप र मेसेन्जरमा भिडिओ कल गर्न मिल्ने फिचर ल्याउन लागेको छ । 

यसपछि भिडिओ कलको दौरान प्रयोगकर्ताले देख्ने वास्तविक दृश्य नै शेयर हुनेछ । चस्मामा हुने भिडिओ कलको क्षमता ह्यान्ड्स फ्री (हातको प्रयोग नगरी चलाउने) हुनेछ । जसले गर्दा आफ्ना साथी तथा परिवारजनसँग प्रयोगकर्ताहरूले आफूले देख्ने सबै दृश्य सजिलै शेयर गर्न सक्नेछन् । विशेषगरी यो फिचर हाइकिङ अथवामा किनमेलका लागि पसलमा जाँदा उपयोगी हुने बताइएकाे छ । 

मेटाको यस चस्मामै अडिओ र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा पनि राखिएकाे छ । त्यस्तै अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि चस्मामा मेटा एआईको पनि प्रयोग हुनेछ । यसले गर्दा चस्मामा भएको एआईले विभिन्न काम सम्पन्न गर्न एसिस्ट गर्ने, कनेक्सन बनाउने, भोइस कमान्डका माध्यमबाट तुरुन्तै सूचना दिने, अनुवाद गर्ने, दैनिक कार्य सूची बनाउने लगायतका काम गर्नेछ ।

त्यस्तै नयाँ अपडेटपछि मेटाको यो स्मार्ट चस्मासँग प्रयोगकर्ताले भिजुअल र भर्बल दुवै माध्यमबाट सञ्चार गर्न सक्नेछन् । यसले चस्मासँग अन्तर्क्रिया गर्न प्रयोगकर्तालाई अझ सरल बनाउने बताइएको छ । 

विभिन्न रङ र आकारमा उपलब्ध हुने यो चस्माका लागि मेटाले ‘एस्सिलोर लुक्जोटिका’ (Essilor Luxottica) नामक कम्पनीसँग साझेदारी गरेको छ ।

उसैगरी मेटाले आफ्नो एआईबाट विभिन्न सुविधा दिन र सुरक्षित छन् भनी सुनिश्चित गर्न नासा, वालिस एनेनबर्ग सेन्टरसँग सहकार्य गरिरहेको छ । यद्यपि चस्माको यो प्रविधि विकासको चरणमा नै भएकाले सोचे जस्तै नतिजा प्राप्त नहुन सक्छ । प्रयोगकर्ताले दिने सुझावका आधारमा क्रमैसँग सुधार गर्दै जाने बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १६:१७