close

प्रमाणपत्र पाउन सकिने कम्प्युटर सम्बन्धी ७ निःशुल्क अनलाइन कोर्स

टेकपाना टेकपाना

बैशाख ११, २०८१ ९:४५

प्रमाणपत्र पाउन सकिने कम्प्युटर सम्बन्धी ७ निःशुल्क अनलाइन कोर्स

काठमाडौं । २१औं शताब्दीमा डिजिटल सीप हुनु अनिवार्य बन्दै गइरहेको छ । तपाईंसँग जति त्यस्ता सीप छन्, त्यति नै तपाईंको उत्पादकत्व बढ्दै जान्छ । यसको राम्रो उदाहरण, तपाईंले सजिलै जागिर पाउन सक्नु पनि हो । यसबाहेक दैनिक कामलाई सजिलो बनाउने, अरूलाई सिकाउन पाउने लगायतका फाइदा त‍ छँदै छन् ।

त्यस्ता सीप सिकाउन अहिले अनलाइनमा थुप्रै भिडिओ ट्युटोरियल्स, लेख पाइन्छन् । तर ती मध्ये कतिपय व्यवस्थित छैनन् । अनि ती अध्ययनको पछि प्रमाणपत्र पनि मिल्दैन । त्यसो हुँदा तपाईंसँग ती सीप भए पनि व्यक्तिगत विवरण (सीभी)मा राख्न सक्नुहुन्न । 


आज हामी प्रमाणपत्र लिन मिल्ने नि:शुल्क कोर्सबारे जानकारी दिँदै छौं । तर सम्झनु पर्ने कुरा प्रमाणपत्रका लागि केही शुल्क तिर्नुपर्ने हुन्छ ।

विन्डोज १० (२०२० संस्करण) 

व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न अपरेटिङ सिस्टमहरू छन् । ती मध्ये धेरैले रुचाएको एक हो, माइक्रोसफ्ट विन्डोज । कतिपय कामका लागि विन्डोजमा आधारितमा सफ्टवेयर तथा टुलमा जानकार हुनु अति आवश्यक छ ।  एलिसनले त्यसैका लागि विन्डोज १० बारे विभिन्न विषयमा समेटेर नि: शुल्क अनलाइन कोर्स बनाएको छ ।

यो कोर्स अध्ययन गर्न करिब पाँच/छ घण्टा समय लाग्छ । यस कोर्समा विन्डोज १० बारे सम्पूर्ण जानकारी दिइएको छ । कोर्समा युजर अकाउन्ट, डिस्प्ले, पावर सेटिङ, डेस्कटप एप्लिकेसन, फाइल शेयरिङ एन्ड म्यानेजमेन्ट, पर्सनलाइजेसन जस्ता विषय समेटिएका छन् । 

कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 


इसेन्सियल अफ म्याकओएस

विन्डोज बाहेक अर्को प्रख्यात अपरेटिङ सिस्टम हो, म्याकओएस । यो एप्पलका कम्प्युटरमा प्रयोग हुने गर्छ । यदि तपाईंलाई यस अपरेटिङ सिस्टमबारे पूरा जानकारी चाहिएको छ यो अनलाइन कोर्स उपयुक्त हुन सक्छ । यो कोर्सको अध्ययन पछि तपाईंले म्याकओएसका विभिन्न फिचर र फङ्सनबारे थाहा पाउन सक्नुहुन्छ ।

तीन घण्टा भित्रमा अध्ययन गर्न सकिने यो कोर्समा दुई ओटा मोड्युल छन् । जस अन्तर्गत बेसिक अपरेसन, किबोर्ड/माउस शर्टकट, सिस्टम प्रिफ्रेन्स, ट्रबलसुटिङ समाधानका विधि जस्ता विषय राखिएका छन् ।

कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 

माइक्रोसफ्ट वर्ड २०१९/३६५ माइक्रोसफ्ट

माइक्रोसफ्टका विभिन्न उत्पादन छन् । ती मध्ये सायद धेरैले प्रयोग गर्ने टुल हो माइक्रोसफ्ट वर्ल्ड । यो एउटा वर्ड प्रोसेसिङ सफ्टवेयर हो । यसबाट डकुमेन्ट बनाउने, सम्पादन गर्ने, प्रतिवेदन तयार पार्ने लगायतका धेरै काम गर्न सकिन्छ ।

यस टुलबारे जति धेरै जानकार भइयो, त्यति नै उपयोगी हुन्छ । यिनै विषयमा जानकारी दिन यो अनलाइन कोर्स उपयुक्त हुन सक्छ । कोर्समा कुनै पनि डकुमेन्ट कसरी बनाउने देखि तिनलाई कसरी राम्रो बनाउनेसम्मका विभिन्न जानकारी यस कोर्समा दिइएको छ ।

यो कोर्स तीन/चार घण्टामा अध्ययन गर्न सकिन्छ । कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 

पावर पोइन्ट फर बिगिनर्स 

अहिलेको समयमा प्रस्तुतिलाई विशेष महत्त्वका साथ हेरिन्छ । यसका लागि विभिन्न प्रेजेन्टेसन बनाउने गरिन्छ । जुन काम पावर पोइन्स्ट जस्ता सफ्टवेयरमा हुने गर्छ । कुनै सेमिनार, गोष्ठी अथवा सभामा प्रस्तुति दिन परे तपाईंसँग आकर्षक प्रेजेन्टेसन हुन जरुरी छ । यदि तपाईं यसबारे राम्रो कोर्स खोजिरहनु भएको छ भने यो उचित हुन सक्छ ।

यसमा स्लाइड मास्टर, स्मार्ट आर्ट्स, बेसिक एनिमेसन, चार्ट्स, एक्सेल डेटा डम्स, लाइभ स्टार्ट जस्ता पावर पोइन्ट सम्बन्धीका विषय समेटिएका छन् । कोर्स अध्ययनपछि तपाईँले पावर पोइन्टबाट आकर्षक प्रेजेन्टेसन बनाउन, त्यसलाई प्रस्तुत गर्न र समीक्षा गर्न सक्नुहुन्छ । 


कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 

एक्सेल फर बिगिनर्स

विभिन्न तथ्याङ्क, तालिका सम्बन्धी व्यक्तिगत अथवा व्यावसायिक काम गर्न निकै उपयोगी सफ्टवेयर हो, माइक्रोसफ्ट एक्सेल । तथ्याङ्कलाई सरलीकृत गर्ने, त्यसको आधारमा विभिन्न चार्ट बनाउने लगायतका काम यसबाट गर्न सकिन्छ । यदि तपाईंलाई एक्सेलमा रुचि छ भने यो कोर्स अध्ययन गर्न सक्नुहुन्छ ।

साढे चार घण्टाको कोर्समा तपाईंले यसमा प्रयोग हुने विभिन्न सुत्र, फङ्सन, तरिका/विधि सिक्न सक्नुहुन्छ । त्यस्तै डेटा फिल्टर गर्ने, टेबल/ब्रोडर बनाउने, डेटा विश्लेषण गर्ने जस्ता सीप सिक्न सक्नुहुन्छ ।

कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 


लर्न एचटीएमएल 

वेब डेभलपमेन्टको आधारभूत विषय हो, एचटीएमएल । फ्रन्ट एन्ड तथा ब्याक एन्ड डेभलपरका लागि यो विषयमा सीप हुनु अनिवार्य छ । तर डेभलपरबाहेक कन्टेन्ट राइटर अथवा रुचि भएकाले यसबारे ज्ञान लिँदा उपयोगी नै हुन्छ । यदि तपाईं सिकारु हुनुहुन्छ भने यो कोर्स उपयोगी हुन्छ ।

यसमा पाठसँगै विभिन्न क्विज र परियोजना दिइएको हुन्छ । त्यसले गर्दा तपाईंको सिकाइ अझ प्रभावकारी हुन्छ  । कोर्समा एचटीएमएलका इलिमेन्ट, स्ट्रक्चर, सिन्ट्याक्स जस्ता विषय सिक्न सकिन्छ ।


कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 


कम्प्युटर साइन्स एन्ड प्रोग्रामिङ ल्याङ्ग्वेज युजिङ पाइथन

नाम जस्तै यो कोर्समा पाइथन ३.५ बाट कम्प्युटर साइन्स र प्रोग्रामिङबारे जानकारी दिइएको छ । ‍नौ हप्ताको यो कोर्समा तपाईंले एल्गोरिदम, डेटा स्ट्रक्चर, टेस्टिङ एन्ड डिबगिङ जस्ता विषय सिक्न सक्नुहुन्छ । यसका लागि लेक्चर भिडिओ, अभ्यास, प्रोब्लम सेट जस्ता विधि प्रयोग गरिएको छ । 

कोर्स अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १०:०