close

घरमा एसी भित्र्याउने सोचमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी १० कुरा

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १५:५५

घरमा एसी भित्र्याउने सोचमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी १० कुरा

काठमाडौं । मुटु कमाउने ठण्डीमा न्यानो, अनि उखरमाउलो गर्मीमा शितलता । यस्तो चाहनालाई विलासिता मान्ने कि आवश्यकता ? व्यक्तिअनुसार राय फरक हुनसक्छ । तर प्रतिकूल मौसमलाई अनुकूल बनाउन विकास भएको प्रविधि हो, एसी अर्थात एयर कन्डिस्नर ।

वास्तवमा एसी प्रतिकूल मौसमलाई अनुकूल बनाइदिने गज्जबको प्रविधि हो, जसलाई स्वस्थकरसँगै शरीरलाई आनन्द दिने साधनको रुपमा पनि लिइन्छ । त्यसैले प्रायः सबै बैंक, कर्पोरेट अनि अस्पतालहरूमा एसी अनिवार्यजस्तै भइसकेको छ । होटल, रेष्टुरेन्ट, कार्यालयदेखि घरको कोठा-कोठासम्म पनि एसीले न्यानोपन र शितलता दिन थालिसकेको छ ।

आफूलाई आवश्यक पर्ने उपयुक्त एसी खरिद गर्नु भने एक प्रकारको चुनौती नै हो । आज हामी नयाँ एसी खरिद गर्नुअघि ध्यान दिनुपर्ने विषयबारे जानकारी दिने छौंः

१. कुलिङ क्षमता 

कोठाको कति क्षेत्रफलमा (कार्पेट एरिया) चिसो बनाउने भन्ने कुराका आधारमा तपाईंले आफूलाई चाहिने एसीको क्षमता निर्धारण गर्न सक्नुहुन्छ । एक टन क्षमता भएको एसीले १२० देखि १४० स्क्वायर फिट क्षेत्रफलमा चिसो बनाउन सक्छ ।

यसै गरी साढे एक टन क्षमता भएको एसीले १५० देखि १८० वर्ग फिट र दुई टन क्षमता भएको एसीले १८० देखि २४० वर्ग फिट क्षेत्रफललाई चिसो बनाउन सक्छ । 


२. ऊर्जा खपत 

यस प्रकारको एसी खरिद गर्दा पैसा र ऊर्जा दुवै बचत हुन्छ । यसकारण तपाईंले एसी खरिद गर्नुअघि इनर्जी इफिसियन्सी रेटिङ (ईईआर) प्राप्त छ/छैन हेर्नु जरुरी छ । यदि ऊर्जा खपतमा राम्रो एसी छ भने रेटिङका रुपमा ताराको चिन्हले जनाइएको हुन्छ ।

एसीमा जति धेरै यस्तो रेटिङ हुन्छ, त्यति नै त्यसले ऊर्जा खपत गर्छ । यदि तपाईं औसत दैनिक १० घण्टा एसी चलाउने सोचमा हुनुहुन्छ भने कम्तीमा पनि तीन तारा भएको एसी खरिद गर्नुपर्ने हुन्छ ।


३. स्प्लिट कि विन्डो एसी ?

यी दुवै एसीका प्रकार हुन् । अनि तपाईंले खरिद गर्ने क्रममा यी मध्ये कुनै एक छान्नुपर्ने हुन्छ । स्प्लिट एसी अलि सानो आकारको हुन्छ । यो राख्न पनि कम ठाउँ भए पुग्छ । यसले त्यस्तो धेरै आवाज पनि निकाल्दैन । छोटोमा बुझ्दा, यो अलि प्रिमियम हुन्छ ।

यता विन्डो एसी तुलनात्मक रुपमा खरिद गर्न, इन्स्टल गर्न र मेन्टेन गर्न अलि सस्तो हुन्छ । यदि तपाईं एसीलाई एक ठाउँबाट अर्कोमा सार्ने योजनामा हुनुहुन्छ भने विन्डो एसी लिएको राम्रो हुन्छ ।


४. इन्भर्टर कि नन् इन्भर्टर एसी ?

स्प्लिट एसी इन्भर्टर भए र नभएको गरी दुई प्रकारमा आउने गर्छ । इन्भर्टर भएको एसी नभएको तुलनामा अलि महँगो हुने गर्छ । तर चिसो बनाउने क्षमता र ऊर्जा बचत भने बढी हुन्छ ।

अर्को तर्फ इन्भर्टर नभएको एसी केही सस्तो भए पनि चिसो बनाउने क्षमता र ऊर्जा बचत कम हुन्छ । यी दुईमध्ये इन्भर्टर भएको एसी लिनु राम्राे हुन सक्छ ।


५. ब्रान्ड 

धेरै समयदेखि एसी बनाउँदै आएको कम्पनीको उत्पादन चयन गर्नु आफैंमा राम्रो विकल्प हो । किनकी उनीहरूले उत्पादनका क्रममा लामो समय परीक्षण गरेका हुन्छन् । यदि नयाँ ब्रान्ड किन्न खोजिरहनु भएको छ भने त्यसबारे केही अध्ययन गर्न जरुरी छ ।

त्यस्तै डिलरले सुझाएको कुनै ब्रान्ड पनि तपाईंले लिन सक्नुहुन्छ । किनकी डिलरले इन्स्टल गर्न पनि सहयोग गर्छ ।

तर चाहे अनलाइनबाट किन्नु भएको होस् या रिटेल स्टोरबाट, तपाईंले वारेन्टी कार्ड भने लिन भुल्नहुन्न । र, समय नसकिन्जेलसम्म त्यसलाई तपाईंले सुरक्षित राख्नुपर्छ ।


६. सर्भिस नेटवर्क 

कुनै पनि एसी लामो समय टिकाउन वर्षमा कम्तीमा पनि एक पटक सर्भिसिङ गर्न जरुरी छ । बजारमा चलेका ब्रान्डले यस्तो सेवा दिइरहेका हुन्छन् ।

अनि कुनै समस्या आए तुरुन्तै सेवा पनि दिने गर्छन् । यसकारण तपाईंले किन्न लागेको ब्रान्डको सर्भिस नेटवर्क के-कस्तो छ भनेर जाँच गर्नु पनि आवश्यक छ ।


७. कुलिङ स्पिड

विभिन्न ब्रान्ड र मोडेल अनुसार कुलिङ स्पिडको गति फरक-फरक हुने गर्छ । यसलाई स्थानले पनि प्रभाव पार्ने गर्छ ।

जस्तो: औसत तापक्रम ३५ डिग्रीभन्दा माथि भएको ठाउँमा तपाईंलाई फास्ट कुलिङ फिचर भएको एसी चाहिन सक्छ । एउटैमा फरक फरक कुलिङ स्पिड भएको एसी किन्नु सबैभन्दा उत्तम हुन्छ ।


८. वायु गुणस्तर

अहिलेका सबै जसो आधुनिक एसीमा एयर फिल्टर हालिएको हुन्छ । ब्रान्ड अनुसार भने तिनको क्षमता फरक-फरक हुन्छन् । यदि तपाईं काठमाडौं जस्तो वायु गुणस्तर अत्यन्त खराब हुने ठाउँमा बस्नुहुन्छ भने राम्रो फिल्टर भएको एसी लिनु उपयुक्त हुन्छ ।


९. मल्टी पर्पोज एसी 

अब एउटै उद्देश्य अर्थात् चिसो बनाउने कामका लागि मात्र एसी रहेन । जाडोमा न्यानाे बनाउन समेत एसी प्रयोग गरिन्छ । सबै एसीले चिसो पनि बनाउने र तातो पनि बनाउने काम गर्दैन ।

यसकारण तपाईंलाई कस्तो प्रकारको एसी चाहिन्छ, त्यो निर्धारण गर्नुपर्ने हुन्छ । यी दुवै फिचर भएको एसी चाहिन्छ भने पनि तपाईंले लिन सक्नुहुन्छ ।


१०. स्मार्ट एसी 

यदि तपाईं स्मार्ट डिभाइसप्रति रुचि राख्नुहुन्छ भने स्मार्ट एसी लिन सक्नुहुन्छ । यस प्रकारको एसीमा तपाईंले कुलिङ र ऊर्जा खपत सम्बन्धी विभिन्न इन्साइट हेर्न सक्नुहुन्छ । अझ आफ्नै आवाज र स्मार्टफोनबाट पनि एसीलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

त्यस्तै कतिपय स्मार्ट एसीमा आफैं समस्या पहिचान गर्ने क्षमता पनि हुने गर्छ । जसले गर्दा कहाँ कस्तो समस्या आउँछ भन्ने कुरा तपाईंले सजिलै थाहा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १६:१७