close

हार्मोनी ओएस विश्वभर उपलब्ध गराउँदै ह्वावे

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १८:३२

हार्मोनी ओएस विश्वभर उपलब्ध गराउँदै ह्वावे

काठमाडौं । ह्वावेले आफ्नो अपरेटिङ सिस्टम हार्मोनी ओएस विश्वभर उपलब्ध हुने भएकाे छ । 'ह्वावे एनालिस्ट समिट २०२४' मा बोल्दै कम्पनीका अध्यक्ष जू झिजुनले विश्वभर हार्मोनी ओएस विस्तार गर्ने योजना रहेको बताएका हुन् ।

यसअघि नै विश्वबजारमा उपलब्ध हुने बताइएको हार्मोनी ओएस विविध कारणले आउन सकिरहेको थिएन । हाल हार्मोनी ओएस चिनियाँ बजारमा मात्र उपलब्ध छ । अब भने सिस्टममा केही परिमार्जन गरेर विश्वव्यापी रूपमा विस्तार गर्ने कम्पनीको भनाइ छ ।

सन् २०१९ मा रिलिज गरिएको यो अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइड र एप्पलको आईओएसलाई टक्कर दिने बताइन्छ । तर अमेरिकाले सोही वर्ष राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै ह्वावेको उत्पादनमाथि प्रतिबन्ध लगायो । जुन अझैसम्म पनि कायम नै छ । यसो हुँदा अन्य देशका प्रयोगकर्तालाई हार्मोनी ओएस तेस्रो विकल्प हुन सक्छ । 

अहिले ह्वावेले एप डेभलपरहरूसँग नजिकबाट काम गर्नुका साथै आवश्यक विभिन्न सरसहयोग पनि उपलब्ध गराइरहेको छ । नतिजा स्वरूप कम्पनीले अहिले यस अपरेटिङ सिस्टममा चल्ने गरी चार हजार बढी एन्ड्रोइड एप सारिसकेको छ । त्यस्तै एक हजार एपका डेभलपरसँग कुरा भइरहेको पनि ह्वावेले जनाएको छ

 त्यसरी कम्तीमा पाँच हजार एप हार्मोनी ओएसमा चल्ने भएपछि ह्वावे विश्वबजारमा जान सक्नेछ । यस विषयमा ह्वावेले थप केही जानकारी भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १८:४४