काठमाडौं । टिकटकको अभिभावक कम्पनी बाइटडान्सले टिकटकको स्वामित्व बेच्ने योजना नरहेको बताएको छ । टौटिओ प्लेटफर्ममा विज्ञप्ति जारी गर्दै बाइटडान्सले टिकटक बेच्ने कुनै योजना नभएको उल्लेख गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकले स्वामित्व नबेचे प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि बाइटडान्सले पहिलोपटक प्रतिक्रिया जनाउँदै टिकटक नबेच्ने घोषणा गरेको सीएनएनले जनाएको छ ।
"बाइटडान्सले टिकटकको बिक्री गर्न खोजी गरिरहेको भनेर विदेशी मिडियामा छापिएका रिपोर्टहरू असत्य छन्," बाइटडान्सले टौटिओ प्लेटफर्ममा लेखेको छ, "बाइटडान्ससँग टिकटक बेच्ने कुनै योजना छैन ।"
अमेरिकाको 'द इन्फरमेसन'ले एक समाचारमार्फत् बाइटडान्सले अल्गोरिदम बिना नै टिकटकको स्वामित्व बेच्न खोजिरहेको समाचार प्रकाशन गरेको थियो । सोही समाचारलाई खण्डन गर्दै टिकटक बेच्ने योजना नभएको बाइटडान्सले स्पष्ट पारेकाे छ ।
अमेरिकाको प्रतिनिधि सभाले पारित गरेर पठाएको विधेयकमा सिनेट र राष्ट्रपति दुवैले हस्ताक्षर गरिसकेका छन् ।
अमेरिकामा विधेयकमा हस्ताक्षर भइसकेपछि टिकटकका सीईओ सो चिउले अमेरिकाको अदालत जाने उल्लेख गरेका थिए । तर यस विषयमा चिनियाँ पदाधिकारीहरू भने मौन छन् ।