close

फेसबुक र टिकटकमा विदेश पठाउने विज्ञापन गर्दै ४२२ जनाबाट ३ करोड बढी ठगी

टेकपाना टेकपाना

बैशाख १८, २०८१ १८:१४

फेसबुक र टिकटकमा विदेश पठाउने विज्ञापन गर्दै ४२२ जनाबाट ३ करोड बढी ठगी

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत विज्ञापन गरेर विदेश पठाइदिने भन्दै ४२२ जनालाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका रमेश बयलकोटी र कालिकोट घर भएका दर्शन नेपाली रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा उनीहरूलाई मङ्गलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार आरोपित बयलकोटीले एक युवालाई प्रलोभनमा पारेर उनको नाममा कन्सल्टेन्सी कम्पनी खोल्न लगाएका थिए । र, उनैको नामबाट निकालिएको सिम प्रयोग गरेर फेसबुक, ह्वाट्सएप र टिकटक अकाउन्ट खोलेर विदेश पठाउने विज्ञापन राख्थे ।

त्यसरी त्यस कन्सल्टेन्सीबाट ४२२ जनाबाट विदेश पठाउने नाममा प्रति व्यक्ति १२ देखि १४ लाख रुपैयाँ उठाइएको थियो । यसरी ठगी गर्ने गरेको पाएपछि सो कम्पनी खोल्ने व्यक्तिले उजुरी दिएका थिए । त्यसैका आधारमा बयलकोटी र नेपाली पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ४२२ जनाबाट तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको छ । 

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १८:१४