close

स्मार्टफोनमा टाइपिङका लागि जिबोर्ड प्रयोग गर्ने स्मार्ट तरिका

टेकपाना टेकपाना

बैशाख १९, २०८१ १३:३४

स्मार्टफोनमा टाइपिङका लागि जिबोर्ड प्रयोग गर्ने स्मार्ट तरिका

काठमाडौं । मोबाइल डिभाइसका लागि गुगलले तयार पारेको भर्चुअल किबोर्ड हो, जिबोर्ड अर्थात् गुगल किबोर्ड । यो एप आईओएस तथा एन्ड्रोइड दुवै प्रयोगकर्ता माझ लोकप्रिय छ । विभिन्न फिचरका कारण जिबोर्डले यो प्रख्याति कमाएको हो । आज हामी यसलाई चलाउने पाँच स्मार्ट तरिकाले बारे चर्चा गर्दै छौं:

वन ह्यान्डेड मोड

कतिपय अवस्थामा स्मार्टफोनमा एक हातले टाइप गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा जिबोर्डमा रहेको वन ह्यान्डेड मोड काम लाग्न सक्छ । यो मोडको काम किबोर्डको आकारलाई सानो बनाएर एक हातले टाइप गर्न सजिलो बनाउनु हो ।

यसका लागि किबोर्डमा भएको कमा (,) मा केही बेर क्लिक गरेर आउने विकल्पहरू मध्ये वन ह्यान्डेड मोड छान्नुहोस् । त्यस क्रममा तपाईंले दायाँ तर्फ स्वाइप गर्नुपर्ने हुन्छ । यति गरेपछि किबोर्डको आकार आफैं सानो हुन्छ । यदि उक्त आकारमा तलमाथि गर्नुपरे स्क्रिनको दायाँ भागमा रहेको एक्सपान्ड बटनमा क्लिक गर्न सक्नुहुन्छ । 

यो मोड अफ गर्न भने सेटिङ भित्रको प्रिफरेन्सेसमा जानुहोस् । त्यहाँ लेआउट सेक्सन भित्र वन-ह्यानडेड मोड देखिन्छ । त्यहाँ क्लिक गर्दा किबोर्डलाई दायाँबायाँ कता राख्ने भन्ने विकल्प देखिन्छ । साथै 'अफ' पनि विकल्पको रूपमा आउँछ । त्यसैमा क्लिक गरेर यो मोड बन्द गर्न सकिन्छ ।

आफैं ईमोजी बनाउने 

आफ्नो मेसेज अनुसारको ईमोजी भेट्नु भएन ? यदि त्यसो हो भने जिबोर्डको इमोजी किचन फिचर सहयोगी हुन सक्छ । यो फिचरको काम भनेको दुई ओटा ईमोजीका आधारमा नयाँ ईमोजी बनाउनु हो । डिफल्ट रूपमा नै यो फिचर अन भएको हुन्छ ।

यदि तपाईंको जिबोर्ड एपमा यो फिचर देखिएको छैन भने तपाईंले 'इमोजिज्, स्टिकर्स एन्ड गिफ' भित्र गएर 'ईमोजी स्टिकर्स' विकल्प अन गर्नुपर्ने हुन्छ । यति गरेपछि जब तपाईंले दुई ओटा ईमोजी छान्नुहुन्छ, लगत्तै नयाँ ईमोजी देखिन्छ । त्यसमा क्लिक गरेर नयाँ ईमोजी पठाउन सक्नुहुन्छ । तर यसले सबै ईमोजीमा भने काम नगर्न सक्छ ।

कर्सरका रूपमा स्पेसबार 

कतिपय अवस्थामा लामालामा मेसेज लेखिन्छ । तर बिचमा कतै व्याकारण बिग्रिएको हुन्छ । त्यस्तोमा ठ्याक्कै बिग्रेकै ठाउँमा पुग्न अलि झन्झटिलो हुन्छ । यस्तो समस्या समाधान गर्न जिबोर्डमा स्पेसबारलाई कर्सरको रूपमा प्रयोग गर्न सकिन्छ । यसका लागि स्पेसबारमा केही बेर प्रेस गरेर औंलालाई दायाँ अथवा बायाँ तर्फ सार्नुहोस् । यसो गर्दा कर्सर पनि सर्न थाल्छ । छोटो मेसेजका क्रममा यो फिचर त्यति जरुरी नलागे पनि लामा मेसेजमा उपयोगी हुन सक्छ ।

फ्लोटिङ किबोर्ड 

स्मार्टफोनमा स्क्रिन स्लिप्ट गरेर अर्थात् दुई भागमा बाँडेर टाइप गर्दा निकै अप्ठ्यारो हुने गर्छ । यो कुराको समाधान फ्लोटिङ किबोर्ड फिचरले दिन्छ । यो फिचरको काम किबोर्डको स्थानलाई एक ठाउँबाट अर्कोमा सार्न मिल्ने हो । सामान्यतया स्क्रिनको तल्लो भागमा किबोर्ड हुने गर्छ । 

तर यो फिचरको सहयोगमा तपाईंले स्क्रिनमा जता पनि किबोर्डलाई लगेर राख्न सक्नुहुन्छ । यसका लागि किबोर्डको माथिल्लो बायाँ भागमा रहेका चार ओटा ससाना कोठा भएको बटन क्लिक गरेर 'फ्लोटिङ' विकल्प छान्नुहोस् । त्यसपछि किबोर्डको लेआउटमा केही बेर दबाएर यताउता सार्न सक्नुहुन्छ ।

टाइप गर्दागर्दै अनुवाद

जिबोर्डमा टाइप गर्दागर्दै एक भाषालाई अर्को भाषामा अनुवाद गर्न पनि सकिन्छ । यसो गर्नाले तपाईंले जुनसुकै भाषामा टाइप गरेर अङ्ग्रेजी लगायतका अन्य भाषा अनुवाद गर्न सक्नुहुन्छ ।  अङ्ग्रेजी बाहेक अन्य भाषामा अनुवाद गर्दा पूर्ण रूपमा सही नतिजा नआएपनि काम भने चल्नसक्छ । 

यसका लागि किबोर्डको माथिल्लो बायाँ भागमा रहेको चार ओटा ससाना कोठा भएको बटन क्लिक गर्दा ‘ट्रान्सलेट’ भन्ने विकल्प आउँछ । त्यहाँ तपाईंले कुनबाट कुन भाषा अनुवाद गर्ने विकल्प छान्नु पर्ने हुन्छ । यति गरिसकेपछि ‘टाइप हियर टु ट्रान्सलेट’ भन्ने बक्समा टाइप गर्ने बित्तिकै भाषा पनि अनुवाद हुन्छ । तर यसका लागि इन्टरनेट भने आवश्यक पर्ने हुन्छ ।

यीबाहेक पनि किबोर्डमा अर्को भाषा थप्ने, ह्यान्ड राइटिङ इन्पुट गर्ने, भोइस टाइपिङ गर्ने लगायत अन्य उपयोगी फिचर पनि रहेका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १३:३९