close

सांसदका अश्लील भिडिओ झण्डै ३ हजार पेनड्राइभमा राखेर बजारभर छरिदिएपछि…

टेकपाना टेकपाना

बैशाख १९, २०८१ १४:३०

सांसदका अश्लील भिडिओ झण्डै ३ हजार पेनड्राइभमा राखेर बजारभर छरिदिएपछि…

काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकमा एक सांसदले महिलालाई यौन दुर्व्यवहार गरेका हजारौं भिडिओ फैलिएका छन् । २६ अप्रिलमा आम निर्वाचनमा मतदान हुनुभन्दा एक दिनअघि सांसद प्रज्ज्वल रेवन्नाका भिडिओ सार्वजनिक भएका हुन् ।  त्यसको भोलिपल्ट उनी आफ्नो निर्वाचन क्षेत्र ‘हसन’मा भएको आम निर्वाचनमा मतदानका लागि सहभागी भएका थिए ।  

भारतीय सञ्चार माध्यम द इन्डियन एक्सप्रेसका अनुसार चुनावअघि दुई हजार भन्दा बढी पेन ड्राइभमा सांसदका अश्लील भिडिओ राखेर हसनका विभिन्न स्थानमा फालिएका थिए । पछि विभिन्न व्यक्तिमार्फत ती भिडिओ सामाजिक सञ्चालका माध्यम विशेषगरी ह्वाट्सएपबाट फैलिएका थिए ।

“पेन ड्राइभहरू बसका सिटमा, बस स्ट्यान्डमा राखिएका थिए र पार्कजस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई दिइएका थिए,” एक अधिकारीले द इन्डियन एक्सप्रेसलाई भनेका छन्।

पेन ड्राइभमा भएका २,९७९ ओटा यौन दुर्व्यवहारका भिडिओ सांसद  रेवन्ना आफैंले खिचेको आरोप समेत लगाइएको छ । ती भिडिओ क्लिपमा यौन दुर्व्यवहारमा परेका महिलाहरूको अनुहार देखाइएको छ । भिडिओ बाहेक ती पेनड्राइभमा फोटोहरू पनि रहेको बताइएको छ । 

तिनै भिडिओले भारतमा आक्रोश निम्त्याएको छ। ती सांसदका पिता एचडी रेवन्ना पनि उक्त परिवारका एक पूर्वकर्मचारीले दर्ता गराएको उजुरीमा आरोपित बनाइएका छन् । उनी कर्नाटकको विधानसभा सदस्य पनि हुन् ।

तर, एचडी रेवन्नाले आरोप अस्वीकार गर्दै त्यसलाई राजनीतिक षड्यन्त्र भनेका छन् । गत सोमबार जनता दल (सेक्युलर)ले प्रज्ज्वल रेवन्नालाई निलम्बन समेत गरेको छ । उक्त दलको स्थापना रेवन्नाका हजुरबुवा एचडी देवेगौडाले गरेका थिए । उनी भारतका पूर्वप्रधानमन्त्री समेत हुन् ।

कर्नाटकका मुख्यमन्त्री के सिद्धरामैयाले राज्यको महिला आयोगको अनुरोधका आधारमा एउटा विशेष अनुसन्धान टोली (एसआईटी) ले यो मामिलाको जाँच गर्ने बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १४:३०