close

बाइनान्सबाट क्रिप्टो कारोबार गर्ने खेतानविरुद्ध १०.४१ करोड बिगोसहित अदालतमा मुद्दा दर्ता

टेकपाना टेकपाना

बैशाख १९, २०८१ १५:३७

बाइनान्सबाट क्रिप्टो कारोबार गर्ने खेतानविरुद्ध १०.४१ करोड बिगोसहित अदालतमा मुद्दा दर्ता

काठमाडौं । भारतीय नागरिकसँग मिलेर विगत एक वर्षदेखि क्रिप्टोकरेन्सी कारोबार गर्दै आइरहेका २४ वर्षका पियुष खेतानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा मङ्गलबार सरकारी वकिलको कार्यालयले खेतानविरुद्ध अदालतमा अभौतिक मुद्रा कारोबार सम्बन्धी मुद्दा दायर गरेको हो ।  

खेतानले १० करोड ४० लाख ७८ हजार ५४६ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये खेतानले मोबाइलमा बाइनान्स एप्लिकेसन प्रयोग गरी छ करोड १९ लाख ३५ हजार २६१ रुपैयाँ र ओकेएक्स नामक एप्लिकेसनबाट चार करोड २१ लाख ४३ हजार २८५ रुपैयाँ क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको छ । 

अवैध रूपमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत नगद आर्थिक कारोबार गर्दै आइरहेको सूचनाका आधारमा ३ बैशाखमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले खेतानलाई चाहचलस्थित उनको घरबाट पक्राउ गरेको थियो । 

त्यसपछि खेतानले रञ्जना कम्लेक्सको तेस्रो तलामा सञ्चालन गर्दै आएको ‘फेसन पेसन स्टोर’मा  नामक रेडिमेट कपडा पसलमा  प्रहरीले खानतलासी गरेको थियो । त्यस क्रममा प्रहरीले पसलमा नौ लाख रुपैयाँ भेटेको थियो । साथै खेतानको मोबाइलको ह्वाट्सएपबाट विभिन्न पैसा (नोटहरू) को फोटोहरू आदान प्रदान भएको प्रहरीले फेला पारेको थियो । सोही आधारमा खेतान विरुद्ध प्रहरीले तयार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा दर्ता भएको हो । 

खेतानले बयानका क्रममा विगत एक वर्षदेखि क्रिप्टोकरेन्सीमार्फत् कारोबार गर्दै आएको स्वीकार गरेका छन् । नेपाल र भारतमा रकम आवश्यक पर्ने मानिसहरूलाई रकम लिने र दिने समेतको कारोबार गरेको उनले स्वीकारेका छन् । बयानका क्रममा उनले एक वर्षअघि अध्ययनको लागि भारतमा रहँदा साथीभाइ र सामाजिक सञ्जालमार्फत् क्रिप्टोकरेन्सीको बारेमा थाहा पाएको बताएका थिए । 

क्रिप्टोकरेन्सीको काम गर्दा फाइदा हुने सोचेर खेतानले बाइनान्स एप्लिकेसन डाउनलोड गरी क्रिप्टोकरेन्सीको कारोबार गर्ने सोचेका थिए । सोही क्रममा उनले साथीहरूमार्फत् भारतको नयाँ दिल्लीमा बस्ने २६ वर्षीय बिक्की महतोलाई भेटे । त्यसपछि खेतानले बिक्की महतोसँग मिलेर काम गर्दै आइरहेका थिए । 

महतोले भने अनुसार नै उनले काम गर्दै आइरहेको थिए । बिक्की महतोले नै बाइनान्स आईडी र ईमेल मार्फत् विभिन्न मानिसहरूलाई क्रिप्टोकरेन्सी पठाइदिने र विभिन्न बाइनान्स आईडीमा जम्मा गर्न लगाउने गरेको बयानका क्रममा खेतानले स्वीकार गरेका छन् । उनले क्रिप्टोकरेन्सी कारोबारमा बिक्की बाहेक अन्यसँग कुनै सहकार्य नगरेको समेत बताएका छन् । 

“मैले हालसम्म के कति क्रिप्टोकरेन्सी खरिद बिक्री गरें, याद छैन । मसँग क्रिप्टोकरेन्सी कारोबार गर्ने कार्यमा अन्य कोही कसैको संलग्नता छैन । मैले नचिनेकै मानिसहरूसँग अनलाइनमा कारोबार गरेको हुँ,” खेतानले बयानका क्रममा भनेका छन्, “सोही काम गर्दै आइरहेकोमा मलाई ३ बैशाखमा प्रहरीले पक्राउ गरेको हो । मैले क्रिप्टोकरेन्सी कारोबारबाट हालसम्म आर्थिक लाभ लिएको छैन ।” 

खानतलासीका क्रममा प्रहरीले पसलबाट बरामद गरेको नौ लाख रुपैयाँ आफ्नै पसलको रहेको उनले बताएका छन् । खेतानविरुद्ध अदालतमा दर्ता भएको अभियोगपत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ ‘क’ को उपदफा (१) र उपदफा (३) बमोजिम जम्मा बिगो १० करोड ४० लाख ७८ हजार ५४६ रुपैयाँ कायम गरी सजाय माग गरिएको छ । साथै  खेतानले बयानका क्रममा उल्लेख गरेका भारतीय नागरिक बिक्की पक्राउ परेपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोगपत्र पेस गरिने समेत अभियोगपत्रमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १७:४