close

आउँदो साउनदेखि पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह नि:शुल्क प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १९, २०८१ २०:५३

आउँदो साउनदेखि पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह नि:शुल्क प्रयोग गर्न सकिने

काठमाडौंं । आउँदो १ साउनदेखि पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृह नि:शुल्क हुने भएको छ । आज डा. मिलनकुमार थापाले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह गृह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

अब यो निर्णयलाई कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयनमा लगिनेछ । यसका लागि प्रक्रिया अघि बढिसकेको कोषका प्रवक्ता रेवतिरमण अधिकारीले जानकारी दिए । उनका अनुसार हाल तीन ओटा विद्युतीय शवदाह गृह सञ्चालनमा छन् । त्यसै गरी दुई ओटा निर्माणाधीन अवस्थामा रहेका छन् । 

पहिले भएका दुई मध्ये एउटा बिग्रिएपछि त्यसैको ठाउँमा नयाँ बनाइएको हो । थप चार ओटा विद्युतीय शवदाह गृह थप्ने निर्णय गत वर्ष नै भएको प्रवक्ता अधिकारीले बताए । जसमध्ये दुई ओटाको निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् भने बाँकी दुई ओटा निर्माणाधीन अवस्थामा छन् । 

अब ती सबैलाई नि:शुल्क गरिने उनको भनाइ छ । यसले गर्दा आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । हाल विद्युतीय शवदाह गृहमा शव दाह गरेबापत चार हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ २०:५३