close

इन्टरनेट बन्द हुँदा टेलिकम कम्पनीले उठाए मौकाको फाइदा

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १३:१६

इन्टरनेट बन्द हुँदा टेलिकम कम्पनीले उठाए मौकाको फाइदा

काठमाडौं । बिहिवार भारतीय अपस्ट्रिम सेवाप्रदायक कम्पनीहरूले नेपालतर्फको  ब्यान्डविथ रोकिदिएपछि नेपालका अधिकांश इन्टरनेट सेवाप्रदायकको सेवा अवरुद्ध भयो । इन्टरनेट नचल्ने, चले पनि सुस्त हुने समस्या भएपछि यही मौकामा टेलिकम कम्पनीहरूले फाइदा उठाउन खोजे । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले त्यस्तो समस्या आएलगत्तै सामाजिक सञ्जालमा आफ्नो एनटी फाइबरबारे पोस्ट राख्यो । त्यस पोस्टमा एनटी फाइबर इन्टरनेट सेवाबारे जानकारी लिन, जडान तथा मर्मत सम्भारका लागि कार्यालयसम्म नपुग्नु पर्ने तथा शुल्क नलाग्ने नम्बर १९८ डायल गरी सेवा लिन सकिने उल्लेख थियो । 

यसअघिका टेलिकमका सामाजिक सञ्जाल पोस्ट हेर्ने हो भने एनटी फाइबरबारे खासै पोस्ट देखिन्न । तर निजी नेटवर्क तथा इन्टरनेट सेवाप्रदायकहरूलाई समस्या परेपछि एक महिनासम्म बिना कुनै शुल्क ५० एमबीपीएसको गतिमा एनटी फाइबरको इन्टरनेट चलाउन सकिने विज्ञापन राख्नुलाई मौकाको फाइदा उठाउन खोजेको बुझ्न सकिन्छ । 

त्यस्तै टेलिकमको अर्को पोस्टमा इन्टरनेट अवरुद्ध भएर समस्यामा परे त्यसलाई सम्बोधन गरी सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न आफू हरदम तत्पर रहेकोबारे पोस्ट आयो । त्यसमा पनि टेलिकमले आफ्नो एनटी फाइबर इन्टरनेटबारे राम्रै प्रचार गरेको छ ।

टेलिकमले आफ्ना मोबाइल ग्राहकलाई एसएमएस नै पठाएर फाइबर इन्टरनेटको प्रचार गर्‍यो । त्यतिमात्रै होइन, आजका विभिन्न दैनिक पत्रिकाहरूमा नेपाल टेलिकमले एनटी फाइबरको विज्ञापन छपाएको छ ।

यता निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेल पनि टेलिकमकै पङ्क्तिमा उभियो । एनसेलले पनि आईएसपीको इन्टरनेटमा समस्या आए लगत्तै सामाजिक सञ्जालमा आफ्नो डेटा प्याकेजको प्रचार गर्न भ्यायो ।

एनसेलले इन्टरनेटमा समस्या आएता पनि निरन्तर आफ्नो ‍डेटा चलाउन मिल्ने बताएको छ । “एनसेल डेटा भए कनेक्सनको के टेन्सन ! सर्वसुलभ डेटाको साथ रहनुहोस सधैं अन” भन्दै कम्पनीले सामाजिक सञ्जालमा पोस्ट राखेकाे छ ।

मोबाइल सेवाप्रदायकले सामाजिक सञ्जालमा ती पोस्ट गरिरहँदा अन्य आईएसपी आफ्नो सेवाग्राहीलाई समस्याबारे जानकारी दिइरहेका थिए । टेलिकम कम्पनीका ती पोस्टमा तुलनात्मक रूपमा बढी ‘इंगेजमेन्ट’ पनि देखिन्छ ।

जस्तै: फेसबुकमा टेलिकमको विगतका पाँच/छ वटा पोस्ट हेर्दा लाइक गर्ने संख्या ५०० भन्दा कम देखिन्छ । तर ती दुई पोस्टमा छोटो समयमै लाइक गर्ने संख्या एक हजार कटेको छ । यस अर्थमा आईएसपीको इन्टरनेट नचल्दा टेलिकम कम्पनीहरूले मौकामा फाइदा उठाउन खोजेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १३:३६