close

पूर्वमन्त्रीले लुकाउन खोजेको श्रीमतीको हत्या सीसीटिभी फुटेजमा देखिएपछि...

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १७:३१

पूर्वमन्त्रीले लुकाउन खोजेको श्रीमतीको हत्या सीसीटिभी फुटेजमा देखिएपछि...

काठमाडौं । आफ्नो श्रीमतीको हत्या लुकाउन खोजेका कजाकिस्तानका पूर्वमन्त्री सीसीटिभी फुटेजका आधारमा दोषी ठहरिएका छन् । आफूलाई निर्दोष साबित गर्न अनेकन् उपाय लगाउँदै आएका पूर्वअर्थमन्त्री एवं व्यापारी कुआन्डिक बिशिमबायेभलाई सीसीटिभी फुटेजका आधारमा त्यहाँको अदालतले दोषी ठहर गरेको हो । 

बिशिमबायेभले नोभेम्बर २०२३ मा अस्ताना सहरमा रहेको आफन्तको एक रेस्टुरेन्टमा आफ्नी ३१ वर्षीया श्रीमती साल्टनात नुकेनोभालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । पतिको पिटाइका कारण नुकेनोभाको मृत्यु नै भएको थियो । उनको मृत शरीर सोही रेस्टुरेन्टमा ९ नोभेम्बरका दिन भेटिएको थियो । 

त्यसपछि चार सन्तानका बाबु बिशिमबायेभलाई श्रीमती हत्या गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । तर बिशिमबायेभले आफू निर्दोष भएको बताउँदै आएका थिए । अदालतमा उनले श्रीमतीले रक्सी खाएर शौचालयमा लड्दा टाउकोमा चोट लागी मृत्यु भएको बयान दिएका थिए । तर चिकित्सा परीक्षणले उनको शरीरमा ठूलो मात्रामा मदिरा नभएको देखाएको थियो । 

नुकेनोभाकी आमाले भने बिशिमबायेभले आफ्नी छोरीलाई सीसीटिभी क्यामेरा नभएको भिआईपी बुथमा आठ घण्टासम्म यातना दिएर हत्या गरेको दाबी गर्दै आएकी थिइन् । यसपछि यस घटनामा प्रहरीले अनुसन्धान जारी राख्यो । त्यसक्रममा पूर्ण नभए पनि बिशिमबायेभले आफ्नी श्रीमतीलाई कुटेको र घटनाकाे दिन उनको मोबाइलमा रेकर्ड गरिएका १२ ओटा भिडिओसमेत फेला परेका थिए । 

सीसीटिभीका ती फुटेज हालै अदालतमा उनको मुद्दालाई लिएर गरिएको बहसमा देखाइएको थियो । उक्त भिडिओमा बिशिमबायेभले आफ्नी श्रीमतीलाई कपाल तानेर मुक्का र लात हानेको देखिन्छ । त्यस्तै उनको मोबाइलमा रेकर्ड भएको भिडिओमा श्रीमतीलाई गाली गरेको सुन्न सकिन्छ । 

अदालतमा पेस गरिएका यिनै प्रमाणपछि बिशिमबायेभले अन्तत: १ अप्रिलका दिनमा भएको बहसमा श्रीमतीलाई आफूले कुटपिट गरेको र अञ्जानमा मृत्यु भएको स्वीकारे । बिशियबायेभको मुद्दा हाई प्रोफाइल भएकाले कजाकिस्तानमै पहिलो पटक उनको बहसलाई अनलाइनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । 

उक्त बहसको प्रत्यक्ष प्रसारणले घरेलु हिंसाबारे कडा सजाय बनाउन विशेष भूमिका खेल्यो । किनकी त्यही बहसपछि घरेलु हिंसाका लागि हजाराैं व्यक्तिले कडा सजायको माग गरे ।

प्रदर्शनकारीको मागलाई सम्बोधन गर्दै ११ अप्रिलमा संसदले समेत कानूनलाई कडा बनाउने विधेयक अनुमोदन गर्‍याे । त्यसको चार दिनपछि राष्ट्रपति कासिम जोमार्ट तोकायेभले त्यसमा हस्ताक्षर गरिदिए ।

अहिले नुकेनोभाको सम्मानमा उक्त कानूनलाई ‘साल्टनात कानून’ नामले समेत चिन्न थालिएको छ ।

यता बिशिमबायेभ भने जेल चलान भइसकेका छन् । यसअघि घूसखोरी मुद्दामा उनी २०१८ मै जेल परिसकेका थिए । तर राजनीतिक शक्तिका कारण दुई वर्ष नबित्दै जेलमुक्त भएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १८:१८