close

बेवारिस फेसबुक ग्रुपका कारण नेपाली प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने उच्च जोखिम

टेकपाना टेकपाना

बैशाख २२, २०८१ १३:४९

बेवारिस फेसबुक ग्रुपका कारण नेपाली प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने उच्च जोखिम

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्रयोगकर्तालाई सक्रिय बनाइराख्न त्यहाँ हुने ग्रुप (समूह) महत्त्वपूर्ण हुन्छन् । फेसबुक ग्रुप भनेको फेसबुक प्रयोगकर्ताको समूह हो । उही विचार, धारणा र सोचाइ भएका प्रयोगकर्ताहरू जोडिएर फेसबुक ग्रुप बन्छन् ।  

कुनै पनि प्रयोगकर्ताको अकाउन्टमा उसलाई चिन्ने व्यक्तिहरू मात्र जोडिएका हुन्छन् । जसले गर्दा उसले राखेको धारणा सीमित व्यक्तिसम्म मात्र पुग्छ । कतिपय अवस्थामा फेसबुक अकाउन्टमै राखेको पोस्ट पनि शेयर भइरहेको हुन्छ । तर, त्यो त्यति प्रभावकारी नहुन सक्छ । त्यसैले कुनै सामग्री वा विचार ठूलो अडियन्स वा उही विचार राख्ने व्यक्तिमाझ पुर्‍याउनका लागि ग्रुप महत्त्वपूर्ण हुन्छ । त्यस्तै कतिपय अवस्थामा आफूले चाहे अनुसारका पोस्ट आउन् भन्ने प्रयोगकर्ताको चाहना हुन्छ । त्यसैले पनि उनीहरू ग्रुपमा जोडिन्छन् । 

नेपालमा पनि लामाे समयदेखि फेसबुक ग्रुप खोल्ने लहर चलेको छ । कुनै व्यक्ति वा पार्टीको समर्थन गर्ने, कुनै व्यवसायका बारेमा चर्चा गर्ने, कुनै जातजातिबारे छलफल गर्ने, कुनै अभियान चलाउने उद्देश्यले फेसबुक ग्रुप सञ्चालनमा आइरहेका हुन्छन् । 

नेपाली भाषा शुद्धीकरण अभियान, आईटी स्टुडेन्ट्स अफ नेपाल, मेन्स रुम रिलोडेड, आईटी आन्टरप्रेनर्स फर नेपाल, आन्टरप्रेनर्स फर नेपाल, पेनटेस्टर नेपाल, आस्क बडिज, युथ अपर्च्युनिटिज, शेयरिङ अपर्च्युनिटिज, माइतीघर (म्यारिड नारी ग्रुप) आदि सही ढङ्गले सञ्चालन भएका फेसबुक ग्रुप हुन् । यसरी राम्रो सन्देश दिन वा राम्रो उद्देश्यले सञ्चालन भएका ग्रुपहरू हजाराैंको सङ्ख्यामा छन् । 

त्यससँगै ‘समर्थन’ गर्ने नाममा पनि फेसबुक ग्रुप सञ्चालन भइरहेका हुन्छन् । देशमा जसको बढी लोकप्रियता छ, उसैको नाममा फ्यान क्लब वा समर्थक समूह खोल्ने प्रवृत्ति छ । यस्ता समूह क्षणिक चर्चाका लागि सञ्चालन भइरहेका हुन्छन् । निरन्तर सञ्चालन हुन नसक्दा बेवारिस बन्छन् । अनि स्क्यामरले त्यसैको फाइदा उठाउँदै सर्वसाधारणलाई ठगी गर्न पुग्छन् । 

किन बेवारिस हुन्छन् केही फेसबुक ग्रुप ?

नेपालमा प्रायः फेसबुक ग्रुपहरू राजनीतिक व्यक्ति वा कलाकारितामा सक्रिय व्यक्तिको नामबाट सञ्चालन गरिएका हुन्छन् । राजनीतिज्ञ र कलाकार बढी विवादित हुने र उनीहरूको पक्ष-विपक्षमा आफ्ना धारणा राख्ने धेरै हुन्छन् । त्यसैले यस्ता फेसबुक ग्रुपहरू चाँडै मौलाउँछन् । छोटो समयमै यस्ता ग्रुपमा लाखौंको सङ्ख्यामा सर्वसाधारण जोडिन्छन् ।

विशेषगरी यस्ता ग्रुपबाट प्रत्यक्ष आम्दानी गर्न सकिंदैन । हुन त नेपालबाहेक केही देशमा फेसबुकले भिडिओ मोनिटाइजको सुविधा दिएको छ । त्यस्ता भिडिओ ग्रुपहरूमा शेयर गर्दा भ्युज बढ्छ । र, त्यसैको आधारमा आम्दानी गर्न सकिन्छ । तर, ग्रुपमै पोस्ट वा भिडिओ राखेर आम्दानी गर्ने भन्ने हुँदैन । त्यसैले प्रत्यक्ष आम्दानी नहुने भएपछि ग्रुपका सञ्चालकले त्यसलाई प्रयोग गर्न छोड्छन् ।

गतिला वा आफूलाई काम नलाग्ने किसिमका पोस्ट देखिन छोडेपछि प्रयोगकर्ताको रूचि पनि त्यस्ता ग्रुपतिर हुँदैन । प्रयोगकर्ताले चासै नदिने भएपछि राम्रा क्रियटरले ग्रुपमा पोस्ट गर्न छाड्छन् । जसले गर्दा फेसबुक ग्रुप बेवारिस हुन पुग्छन् । 

फेसबुक ग्रुपबाट कसरी हुन्छन् ठगीका घटना ?

यसरी बेवारिस भएका ग्रुपमा विभिन्न किसिमका स्क्याम पोस्ट भइरहेका हुन्छन् । अगरबत्ति बनाउने उद्योगमा काम लगाइदिने, नेपाल टेलिकममा जागिरको अवसर भएको, पोस्ट शेयर गरे लाखौं रकम दिने जस्ता पोस्टहरू यस्ता ग्रुपहरूमा शेयर भइरहेका हुन्छन् । 

केही समयअघि हामीले ‘लबिम मलको नाममा फेसबुक ग्रुपमा ठगी धन्धा मौलाए’को विषयमा समाचार प्रकाशित गरेका थियौं । त्यस्तै केही महिनाअघि बालेन, हर्क सामपाङ, रवि लामिछाने आदिको पुरानो लाइभ भिडिओ राख्दै त्यसबाट उपहार पाउन लिङ्कमा क्लिक गर्नुस् भनिएको थियो ।

यसरी स्क्याम लिङ्क फैलाउन राखिएका पोस्टमा विभिन्न ग्रुपमा शेयर गर्न भनिएको हुन्छ । जसलाई साँच्चिकै ठानेर फेसबुक प्रयोगकर्ताले शेयर गर्छन् । बेवारिस भएका फेसबुक ग्रुप वा एड्मिनले ख्याल नगरेका ग्रुपमा त्यस्ता पोस्ट शेयर हुन्छन् । जसले गर्दा अन्य प्रयोगकर्ताले पनि त्यस्ता पोस्टबारे थाहा पाउँछन् । र, त्यसरी नै अन्य ग्रुपमा शेयर गर्छन् । जसले गर्दा अन्य व्यक्तिहरू पनि ठगिन पुग्छन् । 

रोजगारीको प्रलोभन देखाएर पोस्ट राखेको छ भने त्यसमा दर्ता शुल्क मागिएको हुन्छ । ५०० वा एक हजार रुपैयाँ दिएर दर्ता गरिसकेपछि काम लगाइदिने प्रलोभन देखाइन्छ । यदि रकम बढी पाउन सकिंदैन भन्ने लाग्यो भने स्क्यामरले सो व्यक्तिलाई तत्कालै ब्लक गर्छ । नत्र तालिम दिने नाममा रकम मागिन्छ । यसमा बढी रकम नमाग्ने भएकाले प्रयोगकर्ता आफू ठगिएको भनेर उजुरी दिन पनि जाँदैनन् । जसले गर्दा यस्ता स्क्यामरको जालो फैलिंदै जान्छ ।

त्यस्तै कतिपय स्क्यामरले प्रयोगकर्तालाई कुनै वेबसाइटमा भिजिटर बढाइदिन यस्तो तरिका प्रयोग गर्छन् । विशेषगरी उनीहरूको लिङ्कबाट आएका भिजिटरवापत उनीहरूले कति रकम पाउने भन्ने तय गरिएको हुन्छ । त्यसैका लागि स्क्यामरले फेसबुकमा विभिन्न किसिमका लाइभ गर्दै प्रयोगकर्तालाई विभिन्न वेबसाइटमा पुर्‍याइरहेका हुन्छन् । 

कतिपय स्क्यामरले प्रयोगकर्ताको डेटा पाउन पनि यस्ता ग्रुपको सहायता लिन्छन् । फलानो कार्यक्रममा सहभागी हुनुहोस् भन्दै लिङ्क पठाएर त्यसैमा आफ्नो विवरण पठाउन भनिएको हुन्छ । त्यसरी विवरण राख्दा ती विवरण विभिन्न काममा दुरुपयोग भइरहेका हुन्छन् । 

जोगिन के गर्ने ? 

आफूलाई रूचि नभएका ग्रुपमा जोडिनु भएको छ भने त्यस्ता ग्रुप छाेड्नु (लिभ गर्नु) नै उपयुक्त हुन्छ । त्यसबाहेक रूचि भएका ग्रुपमा पनि एड्मिनले ग्रपसँग सम्बन्धित नहुने पोस्ट एप्रभ गरेका छन् वा त्यस्ता पोस्टबारे वास्ता गरेका छैनन् भने ग्रुपबाट तपाईं आफैं बाहिरिनुपर्ने हुन्छ । 

कतिपय ग्रुपका एड्मिन आफू सक्रिय हुन नसकेर ग्रुप बेवारिस भइरहेको हुन सक्छ । त्यस्तोमा अर्को कुनै सक्रिय प्रयोगकर्तालाई ग्रुपमा एड्मिन वा मोडेरेटर राख्न सकिन्छ । एड्मिन आफूले सम्बन्धित नहुने बढी पोस्ट आइरहेको देखे ‘पोस्ट एप्रुभल’ अन गर्नुपर्ने हुन्छ ।

त्यहाँबाट सम्बन्धित नभएका पोस्ट हटाइदिने र सम्बन्धित हुने पोस्टलाई मात्र एप्रुभ गर्नुपर्छ । कुनै व्यक्तिको अकाउन्टबाट असम्बन्धित पोस्ट बढी नै राख्ने काम भइरहेको छ भने त्यस्तो प्रयोगकर्तालाई हटाउनु नै उपयुक्त हुन्छ । कतिपय ग्रुप मेम्बरको अकाउन्ट ह्याक भएको हुन्छ, जसले गर्दा त्यही अकाउन्टबाट ठगी सम्बन्धी पोस्ट भइरहेका हुन सक्छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८१ १५:११