close

के नेटफ्लिक्समा कपिल शर्माको कमेडी शो बन्द हुन लागेको हो ?

टेकपाना टेकपाना

बैशाख २२, २०८१ १६:७

के नेटफ्लिक्समा कपिल शर्माको कमेडी शो बन्द हुन लागेको हो ?

काठमाडौं । नेटफिल्क्समा प्रसारण भइरहेको द ग्रेट इन्डियन कपिल शो बन्द हुने भएको छ । शोमा दर्शकको संख्या घटेकाले पहिलाे सिजन टुंगिन लागेकाे आशंका गरिएको छ ।

२६ अप्रिलमा इन्डियन एक्सप्रेसले द ग्रेट इन्डियन कपिल शोको दर्शकको संख्या अपेक्षित दरमा नबढेको उल्लेख गरेको थियो । उक्त मिडियाका अनुसार नेटफ्लिक्सकै डेटाबाट पनि शोका दर्शकहरू घटेका छन् ।

भारतमा स्ट्रिम गर्ने र नयाँ दर्शकहरूलाई आकर्षित गर्ने प्रयासको रूपमा शोको डिजाइन गरिएको थियो । महिनौंको प्रचारपछि प्रसारण भएको शोमा कमेडियनहरू कपिल शर्मा र सुनील ग्रोभरको सम्बन्धमा भएको पुनर्मिलनले दर्शकलाई उत्साहित गरेको थियो ।

अभिनेता रणवीर कपुर, उनकी आमा नीतु कपुर र बहिनी रिद्धिमा कपूरसहित डेब्यु एपिसोड आएपछि यो शो नेटफ्लिक्सको ग्लोबल शीर्ष १० सूचीमा परेको थियो । तर शोको भ्युज क्रमश: कम हुँदै गयो । ​गतहप्ता अभिनेता आमिर खान शोमा प्रवेश गरेपछि भ्युज बढ्ने आशा गरिएको थियो । तर उल्लेख्य भ्युज आएन ।

शोमा काम गरेकी कलाकार अर्चना पूरन सिंहले पहिलो सिजनको शुटिङ सकिएकोले शो बन्द हुन लागेको उल्लेख गरेकी छन् । भारतीय सञ्चारमाध्यम पिंकभिलासँग कुरा गर्दै उनले १ मेमा शोको अन्तिम एपिसाेडको शुट भएको बताएकी हुन् । “हो, हामीले द ग्रेट इन्डियन कपिल शोको सिजन १ को शुटिङ पूरा गरेका छौँ,” उनले भनिन्, “अहिलेसम्मको यात्रा अद्भुत रह्यो । हामीले सेटमा अद्भुत समय बितायौँ ।”

हास्य कलाकार किकु शारदाले पनि शो अस्थायी रुपमा बन्द भएको जानकारी दिएका छन् । उनका अनुसार शोको दोस्रो सिजन आउँछ । “भर्खरै पहिलो सिजन पूरा गरेका छाैं । पहिलो सिजनको लागि हामीले १३ एपिसोड शुट गरिसकेका छौँ,” उनले भारतीय मिडिया न्युज १८ सँग भने, “यसरी नै कन्ट्र्याक्ट भएको थियो । हामीले अर्को सिजनको योजना बनाएका छौं र र अब दोस्रो सिजन आउँछ ।”

शोका पाँच एपिसोड नेटफ्लिक्समा स्ट्रिम भइसकेका छन् । किकुका अनुसार थप आठ एपिसोड आउनेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८१ १६:२१