close

अझै पनि तपाईंको राष्ट्रिय परिचयपत्र बनेको छैन ? यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

जेठ ७, २०८१ १४:५७

अझै पनि तपाईंको राष्ट्रिय परिचयपत्र बनेको छैन ? यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । पछिल्लो समय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय वितरणको काम तीव्र पारेको छ । गएको वैशाखमा सम्पन्न व्यक्तिगत घटना दर्ता सप्ताहमा पनि विभागले राष्ट्रिय परिचयपत्रलाई व्यापक प्रचार गरेको थियो ।

सामान्य अर्थमा राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समावेश भएको विद्युतीय चिप र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो । राष्ट्रिय परिचयपत्र लागु भएपछि नेपालबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा पनि परिचयपत्र पेस गर्नुपर्ने हुन्छ । 

साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक हुने विभागको भनाई छ । 

सामान्य अर्थमा भन्नुपर्दा अहिले तपाईंसँग नागरिकताको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र, प्यान कार्ड लगायतका कागजात छुट्टाछुट्टै छन् । ती सबै एकै ठाउँमा हुने गरी जुन कार्ड जारी गरिएको छ, त्यो नै राष्ट्रिय परिचय पत्र हो । राष्ट्रिय परिचय पत्रका बारेमा थप जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

 

आज हामी राष्ट्रिय परिचयपत्रका लागि कसरी आवेदन दिने र आवेदन दिइसकेपछि त्यसको प्रगति के छ भन्ने कुरा कसरी थाहा पाउने भन्ने विषयमा जानकारी दिंदैछौं । 

अनलाइनबाट यसरी दिनुहोस् राष्ट्रिय परिचयपत्रका लागि आवेदन !

  • सबैभन्दा पहिला यहाँ क्लिक गरेर ‘राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन’ पेजमा जानुहोस् । 

  • यो पेजमा दुई ओटा खण्ड रहेका छन् । त्यस मध्येबाट ‘लगइन फर इन्डिभिजुअल’ (Login for Individual) को छेउमा रहेको लगइन (Login) को बटनमा क्लिक गर्नुहोस् । 

  • यति गरिसकेपछि त्यहाँ देखिएको मोबाइल नम्बरको बक्समा आफ्नो नम्बर राख्नुहोस् र, एसएमएसमा आएको ओटीपी कोड राखेर केही सेकेन्ड पर्खनुहोस् । अनि त्यहाँ ड्याशबोर्ड देखिन्छ । 

  • त्यसपछि माथि देखिएको ‘न्यु इनरोलमेन्ट’ (New Enrollment) को बटनमा क्लिक गर्नुहोस् ।

  •  यति गरेपछि तपाईंले आवेदन भर्नुअघि के के कुरामा ध्यान दिने भन्ने सूचना पप-अपको रूपमा देखिन्छ । त्यसलाई ध्यान दिएर पढ्नुहोस् । 

  •  अब मागिएका विवरण भर्नुहोस् । यहाँ नाम नेपालीमा लेख्नुपर्ने छ भने तपाईंले रोमनमा जुन अक्षर टाइप गर्नुहुन्छ त्यसरी नै टाइप गर्दा हुन्छ । उदाहरणका लागि तपाईंको नाम राम हो भने (Ram) टाइप गर्दा ‘राम’ टाइप हुन्छ । डिफल्ट रूपमा रोमनाइज्ड किबोर्ड छानिएको हुन्छ । यदि तपाईंले ट्रेडिसनल किबोर्डमा टाइप गर्न चाहनु भयो भने त्यसको विकल्प पनि छ । 

  •  त्यसपछि आफ्नो पहिलो नाम अङ्ग्रेजीमा टाइप गर्नुहोस् । नागरिकता नम्बर राख्दा भने तपाईंले सबै विवरण भरिसकेपछि बायोमेट्रिक दिन कुन मितिमा कुन कार्यालयमा जाने भन्ने छान्न र समय लिन सकिन्छ । 

  •  यसरी सबै प्रक्रिया पूरा गरिसकेपछि तपाईंको स्क्रिनमा पीडीएफ देखिन्छ । सो पीडीएफ प्रिन्ट गरेर तपाईंले तोकेको कार्यालयमा तोकेको समयमा बायोमेट्रिक्स दिन जानुहोस् । 

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेपछिको प्रगति कसरी हेर्ने ? 

यदि तपाईंले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइसक्नु भएको छ भने आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर तथा त्यसको छपाईको अवस्था  उल्लेख गरी निम्न प्रक्रिया अपनाउनुहोस् ।
- त्यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । र त्यहाँ भनिएका विवरण राख्नुहोस् । त्यस्तै आफ्नो परिचयपत्र नम्बर वा परिचयपत्रको अवस्था जानकारी पाउन ०१-४२०००१४, ०१-४२११५६३ र ०१-४२००८९४ मा सम्पर्क गर्न वा ९८४७३४६४१२, ९८५१३००५२० र ९८५१३१६०३४ नम्बरमा ह्वाट्सएपमा मेसेज पठाउन पनि सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ १५:४८