close

सामसङको नयाँ स्मार्टफोन एम १५ फाइभजी नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ ७, २०८१ १६:५३

सामसङको नयाँ स्मार्टफोन एम १५ फाइभजी नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो नयाँ फोन सामसङ एम १५ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङ नेपालले सोमबार एक कार्यक्रम गर्दै नेपाली बजारमा स्तरीय ब्याट्री लाइफ र प्रोसेर भएको एम १५ फाइभजी फोन सार्वजनिक गरेको हो । 

विश्व बजारमा सार्वजनिक भएको दुई महिनामै एम सिरिजको यो फोन नेपाली बजारमा उपलब्ध भएको छ । ९० हर्ज रिफ्रेश रेट भएको यो फोनमा ६.५ इन्चको सुपर एमोलेड एफएचडी प्लस डिस्प्ले छ । ८०० निट्स ब्राइटनेस भएको यो डिस्प्लेको रेजोलुसन १०८०*२३४० पिक्सेल रहेको छ । 

यो फोन एन्ड्रोइड १४ र वन यूआई ६ मा चल्ने गर्छ । यसमा मिडियाटेक डाइमेन्सिटी ६१०० फ्लस (६एनएम) चिपसेट राखिएको छ । ग्यालेक्सी सिग्नेचर डिजाइनमा रहेको यो फोन ब्लु टोपेज र स्टोन ग्रे गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । 

यसमा ५० मेगापिक्सेलको मुख्य, ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर राखिएको छ । सेल्फी क्यामेराका लागि भने यसमा १३ मेगापिक्सेलको सेन्सर राखिएको छ । यसमा कल गर्दा आउने न्वाइज घटाउन भ्वाइस फोकस फिचर समेत राखिएको कम्पनीले जनाएको छ । 

सुरक्षाको कुरा गर्नु पर्दा यसमा नक्स सेक्युरिटी समावेश छ । निःशुल्क उपलब्ध हुने यो फिचरले प्रयोगकर्ताको गोपनीयता र सेक्युरिटी सम्बन्धी चिन्ता कम गराउने बताइएको छ । त्यस्तै यो डिभाइसमा सामसङको पछिल्लो सेक्युरिटी फिचर ‘सामसङ नक्स भल्ट’ पनि समावेश छ । हार्डवेयरमा आधारित यो सेक्युरिटी सिस्टमले हार्डवेयर र सफ्टवेयरमा हुने आक्रमणबाट फोनलाई जोगाउने कम्पनीको दाबी छ । 

सेन्सरका सन्दर्भमा यो डिभाइसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, जाइरो, कम्पास र भर्चुअल प्रोक्सिमिटी सेन्सर रहेका छन् । यसमा ६,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । फोनको साथमा कम्पनीले २५ वाटको चार्जर निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसमा चार वर्षको ओएस अपप्रेड र पाँच वर्षको सेक्युरिटी अपडेट दिइनेछ । 

नेपाली बजारमा यो फोन ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसका लागि ग्राहकले २५ हजार ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । किस्तामा खरिद गर्न चाहने ग्राहकलाई पनि कम्पनीले ईएमआईको सुविधा ल्याएको छ । नेपालभरका दुई हजार बढी सामसङ स्टोरहरूमा गएर शून्य प्रतिशत ब्याजदरमै ईएमआईको रूपमा भुक्तानी दिने गरी खरिद गर्न सकिन्छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता लिएर जानुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ १६:५३