close

आफूले बनाएको फाइबर नेटवर्क प्रयोग गर्न अन्य प्रदायकलाई टेलिकमको आह्वान

टेकपाना टेकपाना

जेठ ७, २०८१ १७:१२

आफूले बनाएको फाइबर नेटवर्क प्रयोग गर्न अन्य प्रदायकलाई टेलिकमको आह्वान

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो अप्टिकल फाइबर नेटवर्क प्रयोग गर्न आह्वान गरेको छ । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रमको बीचबाट टेलिकमका प्रबन्धक विमल आचार्यले यस्तो आग्रह गरेका हुन् । 

टेलिकमले नियामक नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी देशव्यापी रूपमा सूचना महामार्ग निर्माण गरिरहेको छ । उच्च क्षमताको उक्त अप्टिकल फाइबर परियोजना मध्ये कोशी प्रदेशको काम सकिएर सेवा दिन सकिने अवस्था बनेको आचार्यले बताए । “यो अप्टिकल फाइबर नेटवर्क प्रयोग गर्न म सबै सेवा प्रदायकहरूलाई आह्वान गर्न चाहन्छु,” उनले भने, “कोशी प्रदेशभित्र कतै फाइबर अथवा ब्यान्डविथ चाहिएको छ भने नेपाल टेलिकमले प्राधिकरणको गाइडलाइन अनुसार दिन तयार छ ।”

मदेश प्रदेशमा समेत उक्त परियोजनाको काम सकिने प्रक्रियामा रहेको बताइएको छ । आचार्यका अनुसार मधेस प्रदेशमा पनि यसै आर्थिक वर्षमा परियोजनाको काम सम्पन्न हुनेछ । 

“यसको दररेटमा अन्योल मान्नु पर्दैन । प्राधिकरणको निर्देशिका अनुसार नै हामी यो अप्टिकल फाइबर नेटवर्क सञ्चालन गर्नेछौं,” आचार्यले अगाडि भने, “कर्णाली र सुदूरपश्चिम प्रदेशको सन्दर्भमा जुन उद्देश्यले हामीले जिम्मेवारी लिएका थियौं, यसमा एउटा राम्रो पक्ष के थियो भने अहिले भइरहेको नेपाल टेलिकमको पूर्वाधार पनि प्रयोग गर्न सक्ने थियो ।” 

त्यस हिसाबले अहिले काम भइरहेको र त्यसमध्ये डीडब्लूडीएम र राउटर जडानको अधिकांश काम सकिएको उनले बताए । पहिले भएका फाइबरसहित एक हजार किलोमिटरको फाइबर तयार भइसकेको उल्लेख गर्दै प्रबन्धक आचार्यले यसै आर्थिक वर्षदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो अप्टिकल फाइबर प्रयोग गर्न इन्टरनेट सेवा प्रदायकलाई आमन्त्रण गरे । 

“इन्फरमेसन सुपर हाइवेका हिसाबले हेर्‍यौं भने नेपालको अप्टिकल फाइबर सबै जिल्ला सदरमुकाममा पुगिसकेको छ । तर हुम्ला, मुगु र डोल्पा पुग्न सकेको छैन,” उनले भने, “डोल्पामा यही आर्थिक वर्षमा पुग्छ ।  बाँकी रहेको मुगु र हुम्लामा अझैं केही समय लाग्छ ।”

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ १७:१४