close

१० महिनामा १५ लाख स्मार्टफोन भित्रिंदा त्यसबाट सरकारले उठायो ४ अर्ब बढी राजस्व

टेकपाना टेकपाना

जेठ ८, २०८१ ११:१५

१० महिनामा १५ लाख स्मार्टफोन भित्रिंदा त्यसबाट सरकारले उठायो ४ अर्ब बढी राजस्व

काठमाडौं । नेपालले पछिल्लो १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा साउनदेखि वैशाख मसान्तसम्म कूल २४ अर्ब एक करोड २४ लाख २२ हजार रुपैयाँ बराबरका स्मार्टफोन भित्रिएका हुन् । 

राज्यले स्मार्टफोनबाट मात्र चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक लाख ९६ हजार १३९ थान स्मार्टवाच भित्रिएका छन् । कूल २७ करोड ६७ लाख २२ हजार रुपैयाँ बराबरका ती स्मार्टवाच भित्रिंदा राज्यले आठ करोड ६१ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

त्यस्तै साउनदेखि वैशाख मसान्तसम्म एक अर्ब ९३ करोड ५० लाख ३६ हजार रुपैयाँ बराबरका राउटर भित्रिएको तथ्याङ्कले देखाएको छ । पाँच लाख ९० हजार ४३५ थान राउटर भित्रिंदा सरकारले त्यसबाट ३६ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । 

सोही अवधिमा नेपालमा २४ लाख ९० हजार २१२ थान इयरफोन तथा हेडफोन भित्रिएको तथ्याङ्कले देखाएको छ । कूल ५४ करोड ३० लाख २६ हजार रुपैयाँको इयरफोन तथा हेडफोन भित्रिंदा राज्यले त्यसबाट १७ करोड ५१ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

सिम कार्डको आयात पनि उल्लेखनीय देखिएको छ । तथ्याङ्क अनुसार १० महिनामा ५९ लाख तीन हजार ६१९ थान सिमकार्ड भित्रिएका छन् । कूल २६ करोड ६२ लाख २२ हजार रुपैयाँका सिमकार्ड आयात हुँदा राज्यले छ करोड ४६ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ​

विभागको तथ्याङ्क अनुसार सोही अवधिमा नेपालले तीन लाख ५५ हजार ६१४ थान मेमोरी कार्ड आयात गरेको छ । कूल तीन करोड १३ लाख ८९ हजार रुपैयाँ बराबरको मेमोरी कार्ड आयात हुँदा राज्यले त्यसबाट ७७ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८१ ११:२६