close

स्मार्टफोनमा फोटो खिच्न र एडिट गर्न डाउनलोड गरेको छुट्‍टै एप चलाउनु हुन्छ ? सावधान !

टेकपाना टेकपाना

जेठ ८, २०८१ १२:२६

स्मार्टफोनमा फोटो खिच्न र एडिट गर्न डाउनलोड गरेको छुट्‍टै एप चलाउनु हुन्छ ? सावधान !

काठमाडौं । स्मार्टफोनमा आउने विभिन्न इनबिल्ट एप (फोन निर्माता कम्पनीले पूर्ववत् रूपमा नै समावेश गरेका एप) मध्येको एक हो, क्यामेरा । सबै संयोजन मिलेको खण्डमा क्यामेराको डिफल्ट एपबाट राम्रै फोटो खिच्न सकिन्छ । अझ महँगा फोनहरूको क्यामेरा पनि उत्कृष्ट नै हुन्छ ।

यद्यपि कतिपयले थर्ड पार्टी क्यामेरा एप डाउनलोड गरिरहेका हुन्छन् र तिनै एपलाई प्राथमिकता दिएर चलाउने गर्छन् । यस्ता एप आईओएस तथा एन्ड्रोइड दुवैमा सहजै पाउन सकिन्छ । आखिर फोनमा पहिल्यै समावेश भएर आउने एप हुँदा पनि अन्य क्यामेरा एप किन प्रयोग गरिन्छ ? ती कत्ति उपयोगी हुन्छन् ? के त्यस्ता एप सुरक्षित हुन्छन् त ? आज हामी यिनै विषयमा चर्चा गर्दैछौं ।

किन प्रयोग गरिन्छ थर्ड पार्टी क्यामेरा एप ?

खोज्दै जाँदा यसका कारण अनेकौं हुन सक्छन् । विशेषत मुख्यतः डिफल्ट क्यामेरामा नभएका फिचर प्रयोग गर्न त्यस्ता एप रोज्नेहरूको सङ्ख्या धेरै छ ।  यसका साथै फोनको इनबिल्ट क्यामेराभन्दा थर्ड पार्टी एप राम्रो हो भन्ने भ्रमका कारण पनि त्यस्ता एप प्रयोग गरिएका हुन सक्छन् । 

  • सेटिङका लागि

थर्ड पार्टी क्यामेरा एप प्रयोग गर्नुको एउटा कारण, त्यसमा धेरै सेटिङ उपलब्ध हुनु हो । केही समय अघिका स्मार्टफोनमा हुने डिफल्ट क्यामेरामा टाइमल्याप्स, म्यानुअल फोकस, आस्पेक्ट रेसियो, इमेज स्टेबलाइजेसन, रअ (RAW) मोड लगायतका अन्य फिचर हुँदैनथे ।

यस्ता फिचर तिनै थर्ड पार्टी क्यामेरा एपमा पाउन सकिन्थ्यो । यस कारण फोटोग्राफीमा अलि रुचि भएकाहरूले थर्ड पार्टी क्यामेरा एप डाउनलोड गर्थे । यस किसिमको प्रवृत्ति अझै पनि कायम छ ।

  • फिल्टर र मोड

ब्युटी प्लस, क्यामेरा ३६० जस्ता थर्ड पार्टी क्यामेरा एपमा विभिन्न फिल्टर तथा मोडहरू हुन्छन् । आफ्नो फोटोलाई थप आकर्षक बनाउन मान्छेहरूले यस प्रकारका थर्ड पार्टी क्यामेरा प्रयोग गर्ने गर्छन् । 

थर्ड पार्टी क्यामेरा एप कति उपयोगी ?

थर्ड पार्टी क्यामेरा एप प्रयोग गर्नुका कारणबारे माथि चर्चा गरिएको छ । यदि प्रयोगकर्ताको फोनमा ती फिचर छैनन् भने थर्ड पार्टी क्यामेरा एप उपयोगी नै हुन सक्छ । आजभोलिका अधिकांश स्मार्टफोनमा पानोरमा, स्लो मोसन, म्याक्रो, हाइपरल्याप्स, नाइट लगायतका फिचर सहित विभिन्न फिल्टर/मोड पनि हुन्छन् ।

यदि फोनको इनबिल्ट एपमै यी सबै फिचर छन् भने थर्ड पार्टी क्यामेरा एप प्रयोग गर्नु खासै उपयोगी नहुन सक्छ । अहिलेको अवस्थामा थर्ड पार्टी एप प्रयोग गर्ने वा नगर्ने भन्ने प्रश्नको जवाफ खोज्न तपाईंले आफ्नो क्यामेरा एप खोलेर हेर्नु पर्ने हुन्छ ।

थर्ड पार्टी क्यामेरा एप कति सुरक्षित ?

यस विषयमा फरक फरक मत हुन सक्छ । केही कम्पनीहरूले थर्ड पार्टी एप चलाएको पनि शुल्क लिने गर्छन् । उनीहरूले प्राय: फिचर अनुसार शुल्क लिने गरेको देखिन्छ । तर नि:शुल्क रूपमा उपलब्ध हुने विभिन्न थर्ड पार्टी क्यामेरा एपहरूले प्रयोगकर्ताको डेटा चोरेको र मालवेयर फैलाएको आरोप बेलाबेलामा लाग्ने गरेको सुनिन्छ ।

त्यस्तै एन्ड्रोइड ११ देखि त्यस्ता एपलाई डिफल्ट क्यामेराको रूपमा प्रयोग गर्न नपाउने बनाइएको छ । यसको मुख्य कारण प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई मध्यनजर गर्नु नै थियो । यस अर्थमा थर्ड पार्टी क्यामेरा एप चलाउँदा तपाईं सतर्क भने हुनुपर्छ ।

किनभने प्रायजसो क्यामेरा एपले मोबाइलको क्यामेरासँगै ग्यालरी तथा स्टोरेज, लोकेसन लगायतका अनुमति पाएका हुन्छन् । जुन गलत मनसाय भएका व्यक्तिहरूको हातमा परेको खण्डमा तपाईंलाई अकल्पनीय जोखिम समेत आइपर्न सक्छ ‍।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८१ १५:५९