close

जेठ मसान्तभित्र पोल भाडा नतिरे इन्टरनेटको तार काटिदिने नेपाल टेलिकमको चेतावनी

टेकपाना टेकपाना

जेठ ८, २०८१ १४:२

जेठ मसान्तभित्र पोल भाडा नतिरे इन्टरनेटको तार काटिदिने नेपाल टेलिकमको चेतावनी

काठमाडौं । नेपाल टेलिकमले जेठ मसान्तसम्म पोल भाडा नतिरे कोशी प्रदेशमा सञ्चालित इन्टरनेट सेवाप्रदायकको तार काटिदिने चेतावनी दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दै टेलिकमको प्रादेशिक निर्देशनालयले पोल भाडा भुक्तानी नगर्ने इन्टरनेट सेवाप्रदायकसहित केबल टिभी अपरेटरहरूकाे तार काट्ने चेतावनी दिएको हो ।

“यस कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गर्नुभएका सम्पूर्ण केबल टिभी अपरेटर र आईएसपीहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष ०८०/८१ सम्मका पोल भाडा बापतको रकम मिति २०८१ जेठ मसान्तभित्र यस कम्पनीको नजिकका कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध छ,”  सूचनामा भनिएको छ ।

कम्पनीले १ असारदेखि कुनै पनि समयमा टेलिकमका पोलबाट तार हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक स्वयम् नै जिम्मेवार हुने बताएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८१ १४:११