close

अध्ययन भन्छः एक्सटेन्सनले स्लो गराउँछ वेब ब्राउजिङ

टेकपाना टेकपाना

जेठ ८, २०८१ १६:४

अध्ययन भन्छः एक्सटेन्सनले स्लो गराउँछ वेब ब्राउजिङ

काठमाडौं । वेब ब्राउजरमा गरिने कामलाई अझ व्यवस्थित बनाउन एक्सटेन्सनको प्रयोग गर्ने प्रचलन लामो समयदेखि चल्दै आएको छ । त्यसरी प्रयोग गरिने एक्सटेन्सनले प्रयोगकर्ताको कार्यसम्पादनमा राम्रै सहयोग पुर्‍याउने भए पनि वेब ब्राउजरको क्षमतामा भने ह्रास आउने पाइएको छ । 

डिबगबियरको एक समूहले हालै गरेको अध्ययनका अनुसार एक्सटेन्सनले ब्राउजरको क्षमता कम गर्ने पाइएको हो । उक्त समूहले सीपीयू प्रोसेसिङ, वेबसाइट लोड हुने समय आदिलाई आधार बनाएर पाँच हजार बढी प्रख्यात क्रोम एक्सटेन्सन माथि परीक्षण गरेका थिए । 

ती मध्ये ८६ प्रतिशत एक्सटेन्सनले वेबसाइट खोल्ने समयलाई प्रभाव पार्ने उनीहरूको निष्कर्ष छ । यदि कुनै पनि एक्सटेन्सन वेब पेजसँगै लोड हुने गरी डिजाइन गरिएको छ भने त्यसले वेबसाइट लोड हुने समयलाई बढाउने बताइएको छ । जुन प्रभाव एक हजार मिलिसेकेन्ड (एक सेकेन्ड) सम्म हुन सक्ने उनीहरूको भनाइ छ । 

कतिपय अवस्थामा वेबसाइट लोडमा मात्र नभई अन्तरक्रियामा समेत प्रभाव पार्ने उनीहरूको निष्कर्ष छ । यद्यपि यो प्रभाव अत्यन्त कम समयमा हुने र धेरैले अनुभव नगर्ने उल्लेख छ । त्यस्तै कन्टेन्ट ब्लकरहरूले प्रयोगकर्ताको अनुभव बढाउने निष्कर्ष पनि उक्त अध्ययनले निकालेको छ । त्यस्ता एक्सटेन्सनले विशेष गरी धेरै विज्ञापन भएका पेज लोड हुने समय घटाउने उनीहरूको भनाइ छ । 

 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८१ १६:१४